होमपेज / समाज
जुम्ला । जुम्ला जिल्लाको गुठिचौर गाउँपालिकाबाट सुरक्षित गुठिचौर गाउँपालिका अभियान शुरु भएको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख भीम ढकालले एक कार्यक्रमका बीच सुरक्षित गुठिचौर गाउँपालिका अभियानको शुरुवात गर्नुभयो । सुरक्षित अभियान शुरु भएसँगै गुठिचौर गाउँपालिका मदिरा नियन्त्रित क्षेत्र घोषणा भएको छ ।
कार्यक्रमको शुरुवात गर्दै प्रहरी प्रमुख ढकालले यो अभियानले कर्णाली प्रदेशमा हुने कुनै पनि दुर्घटनाहरु न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । सुरक्षित गाउँपालिका अभियान एउटा नमूना कार्य भएको बताउँदै प्रहरी प्रमुख ढकालले नेपालको अन्य ठाउँहरूको लागि पनि यो कार्य अनुसरणयोग्य भएको र समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले सुरक्षाका आधारभूत विषयहरु व्यवस्थापन गरी सुरक्षित गाउँपलिका अभियान शुरु गरिएको जानकारी दिनुभयो । यो असल कार्यमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिँदै अध्यक्ष बुढाले आगामी दिनहरुमा पनि यस्ता सुरक्षासँग सम्बन्धित नागरिक सेवामूलक कार्ययोजना निर्माण गरी लागु गर्ने बताउनुभयो ।
सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा तथा हित कायम राख्दै, समुदायलाई सभ्य, सुसंस्कृत, शान्त तथा सकारात्मक बाटोमा अग्रसर गराउन मदिराको नियन्त्रण तथा व्यवस्थापन गर्न नेपालको संविधान २०७२ को धारा २२६ तथा अन्य प्रचलित कानूनको अधिनमा रही गुठीचौर गाउँपालिकाको १५ औं गाउँसभाको अन्तिम बैठकले “मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि, २०८०” बनाएर पारित गरिसकेको छ ।
मदिराको नियन्त्रण तथा व्यवस्थापन गरी भाद्र १ गतेबाट पालिकालाई मदिरा नियन्त्रित क्षेत्र घोषणा गरी कार्यान्यनमा ल्याईएको छ । कर्णाली प्रदेशमै पहिलो पटक निर्माण भएको यस कार्यविधिमा इजाजत पत्रमा तोकिए बमोजिम बाहेक मदिराको उत्पादन र बिक्रि वितरण गर्न नपाईने, अठार वर्षको उमेर पूरा नगरेको व्यक्तिले मदिरा सेवन र बिक्री वितरण गर्न नपाईने, मदिरा सेवन तथा बिक्रि वितरण तोकिएको शर्तबमोजिम बाहेक गर्न नपाउने गरी कार्डको व्यवस्था, सेवनकर्ताले तोकिएको ढाँचामा गाउँपालिका वा सम्बन्धित निकायमा निवेदन दिइ सो निकायबाट प्रदान गरिएको प्रमाणपत्रको आधारमा मात्र बिक्री वितरण, ओसार पसार र सेवन गर्न पाइने व्यवस्था गरिएको छ ।
यसैगरी मदिरा सेवन गरेर होहल्ला गर्न नपाईने, सेवनकर्ताले दैनिक रुपमा १८० मि.लि. र वियर परिकारमा एक बोत्तल मात्र सेवन गर्न पाइने व्यवस्था गरिएको छ । मदिरा सेवन गर्नको लागि अतिथिहरूले पनि अनुमति लिनुपर्ने व्यवस्थाका लागि अतिथि अनुमति पत्रको व्यवस्था, कुनै व्यक्तिले आफ्नो धर्म परम्परा कायम राख्न र निजि उपयोगका लागि एक पटकमा बढीमा ५(पाँच) लिटरसम्म रक्सी वा १० (दश) लिटरसम्म जाँड बनाउन पाउने र रक्सी वा जाँड वर्षको ६(छ) पटक भन्दा बढी बनाउन पाउनका लागि ईजाजतपत्र लिनुपर्ने, सोही सूचना अन्तःशुल्क कार्यालयका अधिकृत र गाउँपालिकालाई दिनुपर्ने व्यस्था गरिएको छ ।

गाउँपालिकामा गाउँपालिका अध्यक्ष संयोजक र वडामा वडा अध्यक्ष संयोजक वा अध्यक्षले तोकेको व्यक्ति रहने गरी मदिरा नियन्त्रण तथा व्यवस्थापन समिति गठन गर्नुका साथै गाउँपालिकाले कानून विपरित मदिरा उत्पादन, बिक्री वितरण गर्ने तथा सेवन गरी होहल्ला, गाली बेइज्जती गर्नेलाई कानून बमोजिम सजाय गर्न सक्ने लगायतका व्यवस्थाहरू उल्लेख गरिएको छ ।
त्यसै गरी स्कुल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल भन्दा ५०० मिटर बाहिर मात्र मदिरा बिक्रि गर्न पाउने, मदिरा सेवनकर्ता र बिक्रिकर्ताले अनिवार्य रुपमा अनुमति कार्ड लिनुपर्ने र यसबाट उठेको रकमले पालिकामा एक कोष खडा गरिने त्यसमा जम्मा भएको रकम मध्ये २५ प्रतिशत सुरक्षामा, २ प्रतिशत शिक्षा र स्वास्थ्यमा, २० प्रतिशत जनचेतनामा र ३० प्रतिशत पालिका कोषमा जम्मा हुनेछ ।
गाउँपालिकाका अध्यक्षका अनुसार गएको १५ दिन मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि बारे सबै नागरिकलाई प्रचार गरिएको र अब आगामी दिनमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८० कडाईका साथ लागु हुने बताउनु भयो ।