होमपेज / समाज
तनहुँ । तनहुँमा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । जिल्लाको ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले एक घर परिँदा पाँच जना बेपत्ता भएका छन् भने एक जनाको जिवितै उद्दार गरिएको छ ।
गएराति करिब २ बजेतिर गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए । स्थानीय आनबहादुर सुनारीको घर पहिरोले पुरिँदा सुनारीका दुई छोरा र दुई बुहारी र एक नातिनी बेपत्ता भएको तनहुँ प्रहरीले जनाएको छ ।
सुनारीकी श्रीमती घाइते भएकोमा उनलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी पुगेको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको तनहुँ प्रहरीले जनाएको छ । यस्तै पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।
म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।