होमपेज / समाज
दाङ। भारतबाट दाङ हुँदै फेरी ठुलो मात्रामा सहलको हुल नेपाल प्रवेश गरेको छ । आइतबार दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको हुल प्रवेश गरेको हो । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ ।
सलहको अर्को सानो समूह गढवा गाउँपालिकाका वडा नं २ महदेवा र वडा नं ३ धैरेनीमा पनि देखिएको थियो ।गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ मानिसहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् ।
किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको राप्ती गाउँपालिकाको लालमटियाका बासुदेव न्यौपानेले बताए ।
‘दिउँसो एक बजेदेखि प्यूठानतिरबाट सलह किरा आयो,’ न्यौपानेले भने, ‘किसानहरु पानीको पर्वाह नगरी आफ्ना बालीनाली जोगाउने प्रयास गरिरहेका छन् ।’
यसअघि १६ असारमा पनि देउखुरी क्षेत्रमा सलह किराले मकैबाली सखाप पारेको थियो ।