होमपेज / समाज
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर निरन्तर पानी पर्ने क्रम जारी छ । मौसममा आइतबारबाट मात्र सुधार आउन थाल्नेछ । मौसमविदहरुले बिहीबारबाट शनिबारसम्म निरन्तर पानी पर्ने घोषणा पहिले नै गरेका थिए । यसबाट धेरैलाई लागेको थियो, पानी निरन्तर परिरहेपछि चिसो अत्यधिक बढ्ने छ र जनजीवन नै प्रभावित हुनेछ । तर जति सोचिएको थियो, त्यति धेरै चिसो महसुस गरिएको छैन ।
किन होला ? मौसमविद शान्ति कँडेल भन्छिन्, ‘आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ र ठिहिर्याउने खालको चिसो हुँदैन ।’ बार र बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियसको हाराहारीमा छ । शुक्रबार बिहान साढे ६ बजेको न्युनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस छ । आठ डिग्री न्युनतम तापक्रम हुँदा ठिहिर्याउने चिसो हुँदैन ।
यसबारे थप प्रष्ट पार्दै मौसमविद कँडेलले भनिन्, ‘आकाशमा बादल नहुँदा अर्थ सर्फेसबाट सोलार रेडिएसन एटमोसफेयरमा ब्याक हुन्छ, जसले गर्दा जमिन चिसो हुन्छ र न्यूनतम तापक्रम कम हुन्छ । तर बादल लागेपछि सर्फेसबाट एटमोसफेयरमा जाने सोलार रेडिएसन ट्र्याप भएर बस्छ । बादलले ग्रिनहाउस जस्तो काम गर्छ । त्यहीभएर न्यूनतम तापक्रम बढ्छ र धेरै चिसो हुँदैन ।’