होमपेज / समाज
काठमाडौ । काठमाडौ स्थित लिडरशिप एकेडेमी र अमेरिका स्थित यूनिवर्सिटी अफ सान डिएगो क्रक स्कुल र इन्स्टिच्युट फर पिस एंड जस्टिसको संयुक्त आयोजनामा संचालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो शैक्षिक सत्रको लागि कर्णाली प्रदेशबाट लुना भट्टराई छनौट भएकी छन् ।
दोश्रो शैक्षिक सत्रको लागि छनौट भएकी भट्टराइले यस कार्यक्रमका विशेषज्ञ, स्थापित राजनीतिज्ञको अनुभव, मार्गदर्शन, सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमा मुलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्ने विश्वास लिएको बताइन् ।
यस राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले भविष्यमा देशकै नेतृत्व गर्न सक्ने युवा नेता–नेत्री तैयार गर्न सक्ने अपेक्षा लिएको उनले बताईन । विभिन्न क्षेत्रमा सक्रिय देश भरिका युवाहरु एकैठाउँमा रही छलफल र संवादले व्यक्तिगत र पेशागत दुवै क्षमता विकासमा उल्लेखनीय सहयोग हुने भट्टराईको दाबी छ ।
नेपालमा धेरै क्षमता भएका युवाहरु भए पनि उनीहरु बीच छलफल, संवाद र संजालको कमि भएको अबस्थामा यो कार्यक्रमले ठुलो मदत पुग्ने बताईन्।
ग्रामिण विकासमा स्नातकोत्तर गरेकी भट्टराई बिगत ३ वर्षभन्दा लामो समयदेखि गैर सरकारी क्षेत्रमा सक्रिय रुपमा कार्यरत छिन्। उनले स्थानीय स्तरमा युवा, किशोरकिशोरी तथा महिलाहरुको सवालहरुमा काम गर्दै आइरहेकी छिन्। भट्टराई कर्णाली प्रदेशको प्रतिष्ठित सामाजिक संस्था समाज जागरण केन्द्र (स्याक) नेपालमा कार्यक्रम संयोजकको रुपमा कार्यरत छन्। पिछडिएको भनेर चिनिने कर्णाली प्रदेशका किशोरी र महिलाहरुको जीवन स्तर उकास्न काम गर्ने र वाल विवाह न्यूनीकरणमा भूमिका खेल्ने उनको योजना रहेको छ।