होमपेज / समाज
चन्द्रा कंडेल, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रमा बाटो मर्मत नहँुदा नागरिकले सास्ती बेहोर्नु परेको छ । बीच बजारकै मुख्य सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलोे हुँदा नागरिकलाई समस्या भएको हो ।
कर्णाली प्रदेश सभाका सदस्य ठम्मर बिष्टले पनि कर्णाली प्रदेशको राजधानी रहेको नगरभित्रको बाटो नै राम्रो नहुनु दुःखद् भएको बताउनु भयो ।
बिष्टले बजारको बाटोमा खाल्डो नभई खाल्डोमा बाटो भएको व्यंग्य समेत गर्नुभयो । बाटोमा साना तिना खाल्डा हुनु स्वभाविक हो तर खाल्डोमा बाटो हुनु दुःखद् भएको बिष्टको भनाई छ ।
स्थानीय, प्रदेश र केन्द्र सकारले विकास र सम्वृिद्धका कुरा जति गरे पनि कर्णाली प्रदेशका राजधानीबासीले सरकार भएको महशुस गर्न नपाएको गुनासो गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका खजुराका स्थानीय गणेश भण्डारीले विकास र सम्वृद्घिका कुरा नारामा मात्रै सीमित भएको भन्दै स्थानीय सरकारले नगर क्षेत्रका सडकको स्तरोन्नतिको काम गर्नुपर्ने बताउनु भयो ।
चुनावका बेला विभिन्न आस्वासन दिएर हात जोड्नेहरुले चुनाब जितेपछि बाचा बिर्सिएको आरोप समेत उनले लगाउनुभयो ।
जुम्लाबाट प्रदेशको राजधानी सुर्खेत आउनुभएका प्रबिलाल जैशीले प्रदेशको राजधानी भन्न लायक पनि नरहेको बताउनुभयो । राज्य स्तरबाट हुने लगानीको सही सदुपयोग नहुँदा गुणस्तरीय काम हुन नसकेको उहाँको भनाई छ ।
स्थानीय र प्रदेश सरकारले यसमा आवश्यक अनुगमन गरेर इमानदारिका साथ काम गर्नुपर्ने उहाँको भनाइ छ ।
विकास र सम्वृद्घिका ठूलाठूला कुरा गर्नुभन्दा जनताका दैनिक जीवनसँग सम्बन्धित खानेपानी, स्वास्थ्य, शिक्षा र गाँसबास लगायतका आधारभूत कुरामा जनताले महसुश गर्ने गरी सुधार गर्न सके जनतालाई साच्चिकै सिंहदरबार र सरकार आफ्नै दैलोमा आएको महसुश हुने उहाँको भनाई छ ।
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खड्काका अनुसार नगरपालिका र सडक बोर्डले रकम बिनियोजन गरी काम सुरु गरिरहेको बताउनुभयो ।