होमपेज / समाज
बसन्त भण्डारी, सुर्खेत । दैलेखका नरेश भण्डारी भारतमा गएर काम गर्छन् । उनी भारतको उत्तराखण्ड राज्य अन्तर्गतका विभिन्न जिल्लाहरु, मुम्बई, बिहार, हिमाञ्चल प्रदेश लगायतका क्षेत्रहरुमा गएर काम गरिसकेका छन् । अहिले पनि उनी फेरि भारत नै जाने तयारीमा छन् । उनी मात्र नभएर गाउँघरका थुर्पै मानिसहरु कमाउनका लागि भारत जाने गर्दछन् । भारतमा उनीहरु मजदुरी गर्दछन् ।
उनीहरुको त्यो दैनिकिले यता नेपालमा घर व्यवहार चलेको छ । नरेशका घरमा श्रीमती सँगै २ वटा छोरा छन् । ती सबैको आवश्यकता नरेशले भारत गएर पूरा गरिरहेका छन् । उनी अहिले नेपालमा कमै मात्रामा बस्दछन् । घर परिवार सँगसँगै बस्ने चाहना भए पनि आर्थिक समस्याका कारण आफू परिवारसँगै बस्न नसकेको उनले दुखेसो पोखे । भारतमा पनि कमाई गर्न गाह्रो भएको उनले बताए ।
उनले भने, ‘कामको सिलसिलामा एक ठाउँमा साहुसँग कुरा नमिल्दा महिना दिनसम्म गरेको काम बिचमा नै छोडेर हिड्नुपर्ने हुन्छ । कहिले सानो तिनो कामको पैसा नै पाइदैन । समस्या परेको बेलामा पकेटमा पैसा हँुदैन ।’ यस्तै दुखका साथ भारतमा पनि दिन बिताइरहेको भण्डारीले तितो यथार्थ सुनाए ।
घरबाट आफुहरुलाई काम गर्ने क्षेत्रहरुमा जान आउन तथा बस्दाका विभिन्न समस्याहरुले कमाएको आधा रकम परदेशमा नै सकिएर जाने उनको भनाई थियो । करिब १२ वर्षसम्म भारत जाने आउने गरेका नरेशले नेपालमा पनि धेरै पटक केही गर्न खोजेको तर केही गर्न नसकेर फेरि भारत नै जाने बाटो रोजेको बताए । नरेश त एउटा उदाहरण मात्र हुन् । उनि जस्तै अहिले लाखौँ नेपालीहरु परदेशमा पसिना बगाइरहेका छन् । अहिले हरेक नेपाली आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेका छन् ।
विदेशको गल्ली गल्लीमा भैतारी रहेका नेपालीहरु नेपालमा नै केही गर्न भने चाहेका पक्कै हुन् तर त्यसको उचित वातावरण भने हुन सकेको छैन । नरेशले भने, ‘नेपालमा केही गर्ने हो भने ठूलो लगानी गर्नु पर्छ सानो तीनो काम नै पाइदैन । गाउँ घरमा पैसा कमाउने खालको काम नै हुँदैन । काम पाइहाले पनी पैसा कहिले पाउने ठेगान नै हुदैन ।’
कालिकोटका वीरेन्द्र विकलले पनि आर्थिक समस्याका कारण परदेशमा गएर काम गर्नु परेकोे बताए । अहिलेको अवस्थामा स्थानीय सरकार बने पनि जनप्रतिनिधिका छरछिमेक तथा आसेपासेले मात्र रोजगारी पाएको आफुहरु पुरानै पेसामा पिरोलिनुपरेको उनको भनाई छ । स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार बनिसकेपछि विभिन्न कामहरु अघि बढे पनि अहिलेसम्म विदेश जाने नेपालीको पिँडा कम हुन सकेको छैन ।
अहिले गाउँ घरका प्रत्येक घरका मानिसहरु विदेशमा गएका छन् । दुःख सुख गरेर पैसा कमाउछन् र घर व्यवहार चलाउछन् । दैलेख र कालिकोटको समस्या मात्र नभएर यो नेपालका पहाडि जिल्लाहरुको समग्र चित्रण हो । वैदेशिक रोजगार जसका कारण कैयौँ नेपालीको जीवन समग्रमा राम्रो हुन सकेको छैन । कतिका घरबार उठेका छन् । तर पनि नेपालीहरु अहिले पनि परदेशमा जान बाध्य छन् ।