ट्रेण्डिङ

होमपेज / समाज

बाघले एक्कासि आक्रमण ‘डोको नभए ज्यान जाने '

नेपालगाथा २०७५ माघ २३ गते बुधबार १२:४३:०८ मा प्रकाशित

बर्दिया । ‘खेतबाट आइतबार साँझ साढे ५ बजे डोको बोकेर घर फर्कंदा बाघले एक्कासि आक्रमण गर्‍यो । रित्तो डोको भएकाले तत्काल बाघको मुखमा पसाउने प्रयास गर्दागर्दै पञ्जाले टाउको र पिठ्युँमा हिर्कायो ।’बाघ आक्रमणमा घाइते विजय बुढाक्षत्री । बढैयाताल गाउँपालिका २, सीतापुरका ३५ वर्षीय विजय बुढाक्षत्रीले बाघसँग प्रतिकार गरी जीवन जोगाउँदाको अनुभव सुनाए । तर, त्यही बाघकै आक्रमणमा परेर अर्का ७१ वर्षीय चन्द्रबहादुर शाहीले ज्यान गुमाए ।

उनले झन्डै २ मिनेट बाघसँग आमनेसामने भएर प्रतिकार गरे । बाघको आक्रमणबाट उनी घाइते छन् । ‘डोको नभए ज्यान जाने थियो,’ उनले भने । उनी नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारपछि घर फर्केका छन् । बाघको आक्रमणबाट दाहिने पाखुरा, टाउको र ढाडमा चोट लागेको छ । उनी घाइते भएको झन्डै आधा घण्टापछि शाहीलाई पनि बाघले आक्रमण गर्‍यो ।

उनलाई बारीमा मकै रोप्दै गर्दा आक्रमण गरेको थियो । पाटोको छेउमा गहुँबारीमा बसेको बाघलाई माटोले हानेपछि आक्रमण गरेको शाहीका आफ्न्तफत्तबहादुर शाहीले बताए । चन्द्रबहादुरको टाउको र ढाडमा आक्रमण गरेको थियो । उपचारका क्रममा नेपालगन्ज शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको थियो ।

शाहीका पत्नी, ४ छोरा र १ छोरी छन् । बाघ आक्रमणमा मृत्यु भएकाको शव सोमबार अबेरसम्म घर ल्याइएको छैन । शव परीक्षण र मुचुल्का गरी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बाघले खेतमा पुगेका आधा दर्जन बढी स्थानीय किसानलाई आक्रमणको प्रयास गरेको सीतापुर २ का जीवन गिरीले बताए ।

बाघले सुमन बस्नेतलाई पिछा गरेको थियो । उनी भागेर जोगिए ।घना बस्तीबीच बाघ आएपछि हेर्न गाउँले ठूलो संख्यामा गहुँबारीमा पुगेका थिए । स्थानीयका अनुसार बस्तीनजिक रहेको सिमल सल्ला र सीमावर्ती बाँकेस्थित हरित सिजन सामुदायिक वन भएकाले त्यहाँबाट बाघ आएको अनुमान गरिएको छ ।

भारतीय सीमावर्ती कतर्नियाघाट वन्यजन्तु आरक्षबाट बाघ आएको आशंका पनि भएको छ । घटनालगतै प्रहरी र सशस्त्र प्रहरी बलले बाघ भएको स्थानमा सुरक्षा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top