होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज(सोमबार) बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको कार्यलय सचिव डा. भीष्म अधिकारीले बताए । जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो ।
११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी रहेकाे छ ।
हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी, केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ । आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ति पदाधिकारीले बताए ।
आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।