होमपेज / राजनीति
सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्का तीन दिनदेखि सुर्खेतमा छन् । कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहेका छन् । पार्टीको बृहत् एकताका लागि भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ ।
खड्काले आज(शनिबार) देउवा समूहको भेलालाई सम्बोधन गर्नेछन् । १४ औं महाधिवेशनमा देउवा समूहको बाहुल्यता रहेको कर्णाली प्रदेश कार्य समितिले भेलाको आयोजना गरेको छ । यद्यपी यो भेलाको संयोजन गर्न कर्णालीका पूर्वमुख्यमन्त्री जीवन शाहीले जिम्मेवारी पाएका छन् ।
पार्टीको बृहत एकताका लागि भनिएको भेलामा पार्टीका सबै स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य, कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय सदस्य, सबै जिल्लाका पार्टीका पदाधिकारी र सुर्खेत जिल्लाका वडा तहसम्मका जनप्रतिनिधि, पार्टीका पदाधिकारी र भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई बोलाइएको छ ।
देउवा समूहले बोलाएको भेलामा सहभागी हुने नहुने भन्ने विषयमा जनप्रतिनिधि र पार्टि पदाधिकारिहरु अन्योलमा रहेका छन् । भेलामा सहभागिताका लागि प्रदेशसभाका सदस्यहरुलाई संसदीय दलमार्फत निर्देशनात्मक पत्राचार गरिएको र पार्टी पदाधिकारीलाई प्रदेश समितिमार्फत अनिवार्य उपस्थित हुन भनिएको छ ।
खड्काको गृह जिल्लामा हुन लागेको भेलामा सहभागिता देखाउन सुर्खेतका सबै कार्यकर्तालाई आउन सर्कुलर गरिएको छ । कार्यक्रमको दुई दिन अघि सुर्खेत आएका खड्काले कार्यकर्ता भेटघाट तीव्र बनाएका छन् ।
गत वैशाख २८ र २९ गते कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरुले प्रदेशस्तरीय भेला गरेका थिए । त्यो भेलालाई चुनौती दिन देउवा समूहले भेला आयोजना गरेको हो ।