होमपेज / राजनीति
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज(शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
गत २२ गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बिहान ११ बजे बोलाइएको छ । हाल नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालको २६, नेकपा (माओवादी) र नेकपा एसको ७/७ जना सांसद गरी कुल ६२ जना सांसद सरकारको पक्षमा रहेका छन् ।
सरकारलाई विश्वासको मतका लागि ५२ जना सांसदको समर्थन भए पुग्ने छ । प्रदेश सभामा एमालेका १ जना, माओवादीका २ जना, जनमत पार्टीका १ जना सांसद पदमुक्त भइसकेका छन् । दुई जना निलम्बनमा रहेका छन् ।
जनमत पार्टी विपक्षमा उभिए पनि सरकारले समर्थन पाउने निश्चित देखिएको छ ।