होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन।
नारायणकाजी र रविजी गृहमन्त्रीमा दाबी गेका थिए । तर,नारायणकाजीले परराष्ट्र रोजेपछि रविले गृहमन्त्रालय पाएका हुन। कुनै समय प्रहरीलाई अगाडि लगाएर स्टिङ अप्रेसनमा हिँड्ने गरेका रवि लामिछाने गृहमन्त्री नियुक्त भएसँगै अब उनीमाथि देशभरको शान्ती सुरक्षा सुदृढ र बलियो बनाउने जिम्मेवारी थपिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेविरुद्ध अवैध नागरिकताको मुद्दामा छानबिन गरिरहेको छ।
रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा भइरहेको छानबिन स्वतन्त्र ढंगले हुने बताएका छन् । पदभार ग्रहण गरिसकेपछि बोल्दै उनले कानुनमा सबै बराबर भएको बताएका छन् । लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले लामिछानेको नागरिकता र राहदानीबारे अनुसन्धान अगाडि बढाएको छ । तर अब उनीविरुद्धको अनुसन्धान रोकिनसक्ने प्रहरीकै उच्च अधिकारीहरु बताउँछन् ।
रविले माओवादी अध्यक्ष प्रचण्डविरुद्ध चितवन–३ मा चुनाव लड्ने संकेत पनि गरेका थिए । तर प्रचण्ड गोरखा–२ तिर लागेपछि रवि चितवन–२ मा चुनाव लड्न पुगे । देउवा, ओली र प्रचण्डसँगै रवि पनि संसदमा आएनन् मात्र, हिजो नो नट अगेन भनेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरे ।देशभर व्याप्त भ्रष्टाचार, अनियमिताता, जवाफदेहीहिनता र अपारदर्शीताविरुद्ध आफ्नो पत्रकारितामार्फत खरो उत्रने गरेका लामिछाने आफ्नो छोटो राजनीतिक करियरमै यस्तो विन्दुमा पुगेका छन् जहाँबाट उनको अग्नि परिक्षा सुरु हुनेछ । उनले भन्ने गरेजस्तो नेताहरुलाई टुडिखेलमा ल्याएर नाकको डाँडी भाँचिने गरी हान्नुपर्ने अवस्थामा उनी स्वयं पनि आउन सक्नेछन् ।
लामिछानेले न्यायमा पहल गर्न सकिन्छ कि भनेर आफूले गृह मन्त्रालय रोजेको प्रतिक्रिया दिएका छन्। ‘यसअघि सञ्चारकर्मी भएर काम गर्दा सबैभन्दा बढी काम गर्नुपर्ने क्षेत्र गृह प्रशासन देखेको थिएँ। नागरिकले भनेजस्तो सेवा नपाएको महसुस भइरहन्थ्यो,’ उनले भने, ‘त्यसैले यहाँ धेरै काम गर्नुपर्ने देखेको कारणले मैले गृह मन्त्रालय रोजेको हुँ।’ उनले गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेको बताए।
गृहमन्त्रीमा नियुक्ति भएर पदभार ग्रहण गर्दैगर्दा उनले निर्मलाको हत्यारा पत्ता लगाउन अधिकतम प्रयास गर्ने निर्णय गरेका छन् ।उनी टेलिभिजनमा प्रस्तोता हुँदा निर्मलाको हत्यामा भीमत्तदत्तनगर–१९ बागफाँटाका ३९ वर्षीय दिलिप विष्टको संलग्नता रहेको दाबी गर्दै आएका थिए ।कञ्चनपुर भीमदत्त नगरपालिका-२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ साउन २०७५ मा उखुबारीमा फेला परेको थियो । पन्तको हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।