ट्रेण्डिङ

होमपेज / प्रबिधि

विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि ड्रोनको प्रयोग सम्बन्धी तालिम सम्पन्न

खाेज तथा उद्दारमा सहज हुने अपेक्षा

नेपालगाथा २०७९ पौष २२ गते शुक्रबार २१:३१:५३ मा प्रकाशित

सुर्खेत । अन्तर प्रदेश स्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि मानव रहित हवाई यन्त्र (ड्रोन)को प्रयोग सम्बन्धी तालिम शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले ड्रोन उडाएर तालिमको शुरुवात गर्दै खोज तथा उद्दारको क्षेत्रमा प्रयोग हुने प्रविधिले विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सहज हुने बताउनुभयो । यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भूसालले कुनै पनि काममा प्रविधिलाई समायोजन गर्न सकियो भने यसले परिणाममा चुस्त दुरुस्तता ल्याउन सहज हुने बताउनुभयो । 

कार्यक्रममा कर्णाली र लुम्बिनी प्रदेशका विपद् व्यवस्थापन शाखाका प्रमुख, सुरक्षा निकायका अधिकारी, आपतकालीन कार्य संचालन केन्द्रका अधिकारी, नागरिक उड्यायन प्राधिकरण, जल तथा मौसम विज्ञान कार्यालय, भूकम्प मापन केन्द्र, नापी कार्यालय, नेपाल रेडक्रस सोसाइटी कार्यालयबाट सहभागिता रहेको थियो । 

शीघ्र खोज तथा उद्दार, प्रभावकारी पूर्व तयारी, व्यवस्थित राहत तथा प्रतिकार्य गर्न सक्षम जनशक्ति तयार गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको UNDP शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले जानकारी दिएकाे छ ।

तीन दिनसम्म सञ्चालन भएको तालिमका सहभागीहरुले विपद् व्यवस्थापन तथा प्रभावकारी प्रतिकार्य गर्नका लागि ड्रोन उडान, जोखिम नक्शांकन र व्यवस्थापन कार्य जस्ता सिप हासिल गरेको बताएका छन् ।

कार्यक्रमको अन्तिम तथा तेस्रो दिन सहभागीहरुले मानव रहित हवाई यन्त्र (ड्रोन) उडानको प्रयोगात्मक अभ्यास तथा सिमुलेसन गरेर देखाएका थिए । उक्त सिमुलेसनमा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त प्रमुख सचिव र अन्य सचिवका साथै कर्णाली प्रदेशका सबै मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो । सिमुलेसनमा सचिवहरुले समेत मानव रहित हवाई यन्त्र (ड्रोन)लाई उडान गरी अनुभव लिएका थिए । 

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निमित्त प्रमुख सचिव तथा कार्यक्रमका प्रमुख अतिथि आनन्द सारुले तीन दिनसम्म्को तालिमले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हुन सक्ने विपद् पूर्व तयारी तथा प्रतिकार्यमा मानव रहित हवाई यन्त्र (ड्रोन)को प्रयोग प्रभावकारी हुने बताउनुभयो । साथै उहाँले खोज तथा उद्धार कार्यमा प्रविधिको प्रयोगले विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिएको समेत बताउनुभयो । 

आन्तरिक मामिला तथा कानून मन्त्रालय, विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले मानव रहित हवाई यन्त्र (ड्रोन) सञ्चालन गर्न तालिम प्राप्त जनशक्तिको सूची तयार गरेर मन्त्रालयमा सूचीकृत गर्ने जानकारी दिनु भयो । साथै उक्त सूची लुम्बिनी प्रदेशलाई समेत उपलब्ध गराएर कर्णाली र लुम्बिनी प्रदेशको विपद् व्यवस्थापन तथा प्रभावकारी प्रतिकार्य गर्नका लागि सहज हुने बताउनुभयो । 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग, UNDP, UNICEF, UN Women र SAC Nepal को प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले विपद् पूर्व तयारी तथा प्रतिकार्यमा मानव रहित हवाई यन्त्र (ड्रोन)को प्रयोग सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top