होमपेज / खेलकुद
काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रालिले भारतका खेलाडी प्रियांक किरित पन्चाललाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति कर्णाली याक्सले चौथो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरिएको जानकारी दिए । “ब्याटिङ बलियो बनाउने योजनासहित हामीले रणजी ट्रफी खेलिसकेका प्रियांकलाई अनुबन्ध गरेका हौँ,” निर्देशक घिमिरेले भने, “प्रियांकको आगमनपछि हाम्रो ब्याटिङ झनै बलियो हुने विश्वास छ ।”
कर्णाली याक्सले यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलोपटक कर्णाली याक्सबाट एनपीएल खेल्दै छन् । ओपनिङ ब्याटर प्रियांकले पछिल्लोपटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । त्यसको १२७ खेलमा उनले आठ हजार ८५६६ रन बनाएका छन् । त्यसमा २९ शतक र ३४ अर्धशतक समावेश रहेका छन् ।
यस्तै, लिस्ट ‘ए’मा उनले ९७ खेल खेल्दा आठ शतकसहित तीन हजार ६७२ रन बनाएका हन् । ट्वान्टी–२० तर्फ ५९ खेलमा नौ अर्धशतकसहित एक हजार ५२२ रन बनाएका छन् । गत वर्ष मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत पनि छन् ।
कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपीनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरिएको थियो ।