होमपेज / कला / साहित्य
काठमाडौं । यही मे २५ गतेदेखि जापानमा शुरु हुने ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’मा सहभागी हुनका लागि अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही, कृषा चौलागाइँसहित सलोन बस्नेतप्रस्तान गरेका छन् । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’को नोमिनेसनमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्र पर्फमेन्स अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन् । अभिनेता सौगात मल्लको यस फिल्ममा दर्शकले एक्सन मन पराएका थिए । जापान जानुअघि सौगातले यो अवार्ड कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको बताए । हलमा प्रदर्शनरत फिल्म पिताम्बरकी निर्देशक कृषा चौलागाइँले यो आफ्नो सफलता भएको बताएकी छन् ।
नेपालमा एक्सन जनराको यो खालको मेकिङमा निर्देशक कृषाले आँट गरेको भन्दैले धेरैले प्रशंसा गरेका छन् । उनको निर्देशकीय कलालाई दर्शकले मन पराएका छन् । उनले यसअघि फिल्म ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । जुन फिल्म समीक्षात्मक हिसावले समेत सफल भएको थियो । निर्माता हुँदै निर्देशनमा हात हालेकी कृषाले पछिल्लो फिल्म ‘पिताम्बर’मा चलेका कलाकार राखेर नै निर्देशनमा होमिएकी हन् । जुन फिल्म सफल रुपमा अहिले पनि हलमा चलिरहेको छ ।
यता फिल्म ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेपछि कार्यक्रममा सहभागी हुन जापान उडेका हुन् । फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन् । युना इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ ।
युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाई हुन् । उनले यस फेस्टिभलको मुख्य सहभागि गर्नुको कारण नेपाली फिल्मको बजारलाई देश तथा विदेशमा अझ विस्तार गर्नु रहेको बताए । कुराकानीका क्रममा उनले भने, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सघाउन पुर्याउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ ।’
उनका अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ । जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएको छ । यस फेस्टिभलको पुरस्कार वितरण समारोह मे २५, २०२५ साँझ ५ बजे जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ) नागोयामा गरिनेछ ।