ट्रेण्डिङ

होमपेज / समाज

'विभाजित विश्वलाई एकताबद्ध गर्न प्रभावकारी माध्यम सङ्ग्रहालय'

नेपालगाथा २०८३ जेठ १५ गते शुक्रबार १८:१४:१५ मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस २०२६ का अवसरमा उपस्थित सहभागीहरूले सङ्ग्रहालयले विभाजित समाजलाई संवाद, सहअस्तित्व र सांस्कृतिक एकतामार्फत जोड्ने बताएका छन् । आइकम नेपाल र नारायणहिटी दरबार सङ्ग्रहालयको सहकार्यमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रम तथा “सङ्ग्रहालय (द म्युजियम)” जर्नलको दोस्रो अङ्क सार्वजनिक समारोहमा सहभागीहरूले यस्ताे बताएका हुन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको यस वर्षको नारालाई केन्द्रमा राखेर प्रस्तुति दिँदै नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले नेपालका सङ्ग्रहालयहरू जातीय, भाषिक तथा भौगोलिक विविधतामा रहेका समुदायलाई सामाजिक सद्भावसहित जोड्ने प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले सङ्ग्रहालयहरूले शिक्षा, सांस्कृतिक संरक्षण, संवाद तथा पहिचान प्रवर्द्धनमा खेल्न सक्ने भूमिकाको चर्चा गर्दै ती सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न संस्थागत सहकार्य, नीति समर्थन र स्रोत व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो।

नेपालका लागि युनेस्को काठमाडौँ कार्यालयका प्रमुख तथा आवासीय प्रतिनिधि याको दु तोईले आइकम नेपाल र नारायणहिटी दरबार सङ्ग्रहालयद्वारा आयोजित कार्यक्रमले नेपालको सङ्ग्रहालय क्षेत्रलाई थप प्रभावकारी, समावेशी र अन्तर्राष्ट्रिय रूपमा परिचित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

आइकम नेपालका सचिव ओम प्रकाश घिमिरेले आइकम नेपालले यस वर्ष अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा मे १० देखि विश्वविद्यालय, सम्पदा क्षेत्रसँग सम्बन्धित संस्था तथा स्थानीय सरकारसँग सहकार्य गरी विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। उहाँले ती सहकार्य र साझेदारीबाट प्राप्त अनुभव तथा सिकाइले नेपालको सङ्ग्रहालय क्षेत्रको दीर्घकालीन विकासका लागि नयाँ कार्यदिशा तय गर्न सहयोग पुगेको बताउनुभयो।

कार्यक्रममा आइकम नेपालद्वारा प्रकाशित “सङ्ग्रहालय (द म्युजियम)” जर्नलको दोस्रो अङ्कको समीक्षा गर्दै जर्नलका सम्पादक मधुसुदन न्यौपानेले जर्नलले नेपालको सङ्ग्रहालय, सम्पदा, संस्कृति र परम्परासम्बन्धी ज्ञानको आधिकारिक अभिलेखीकरण तथा विषयगत अनुसन्धानलाई सुदृढ बनाउन योगदान पुर्‍याउने बताउनुभयो।

जर्नल प्रकाशनमा सहकार्य गरेको चुम्नुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले गाउँपालिकाले स्थानीय संस्कृति, परम्परा र अहिंसासम्बन्धी ज्ञान प्रणालीको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले स्याज्ञा ट्रेडिसनलाई कानुनी मान्यता दिई स्थानीय ज्ञानलाई वैज्ञानिक ढङ्गले संरक्षण गर्ने प्रयास विश्वमै नमुना अभ्यासका रूपमा विकसित भइरहेको उल्लेख गर्नुभयो। जर्नलमा उक्त परम्परासम्बन्धी सामग्री समावेश गरिएकाले चुम्भ्यालीको मौलिक सांस्कृतिक ज्ञान अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले सङ्ग्रहालय विद्यालयदेखि समुदायसम्म संस्कृति, परम्परा, पुरातत्व, इतिहास र पहिचानबारे ज्ञान प्रदान गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यसको पहुँच र प्रभावलाई अझ व्यापक बनाउन थप नीतिगत, शैक्षिक र संस्थागत पहल आवश्यक रहेको धारणा राखेका थिए।

छलफलमा गुठी संस्थानका शालिक सुवेदी तथा राजेन्द्र दाहाल, नेपाल पुस्तकालय सङ्घ का अध्यक्ष पुष्पराज सुवेदी, शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपति, डा. पशुपति न्यौपाने, कर्ण महर्जन, मीना लामा लगायतले सङ्ग्रहालयलाई सामाजिक एकता, सांस्कृतिक संवाद र विश्व समुदायबीच समझदारी विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्न आवश्यक सुझाव तथा धारणा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका अवसरमा “सङ्ग्रहालय” जर्नल प्रकाशनमा सहकार्य गरेकोमा चुम्नुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई सम्मान गरिएको थियो। साथै हनुमानढोका दरबार सङ्ग्रहालय र पाटन सङ्ग्रहालय लाई आइकम नेपालको संस्थागत सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top