होमपेज / समाज
सुर्खेत । नेपाल सरकारले एकै पटक करिब १५ सय कर्मचारी जिम्मेवारीविहिन हुने गरी ल्याएकाे अध्यादेशबाट जिम्मेवारविहिन बनेका मध्यपश्चिम विश्वविद्यालयका डिनहरु पुन: जिम्मेवारीमा फर्किएका छन् । मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को जेष्ठ १२ गतेकाे निर्णयअनुसार विश्वविद्यालय अन्तर्गत रिक्त रहेका विभिन्न ग्र्याजुएट स्कुलका डिन पदहरूमा अर्काे व्यवस्था नभएसम्मका लागि डिनहरुकाे नियुक्ति गरिएको छ ।
निर्णयअनुसार सहप्रा. डा. पूर्णमान श्रेष्ठलाई ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट र ग्र्याजुएट स्कुल अफ लकाे जिम्मेवारी दिइएकाे छ । यसैगरी सहप्रा. डा. आनन्द प्रसाद सुवेदीलाई ग्र्याजुएट स्कुल अफ ह्यूमानिटिज एण्ड सोसल साइन्सेस र ग्र्याजुएट स्कुल अफ एजुकेसनको डिन पदमा नियुक्ति गरिएको छ।
त्यसैगरी सहप्रा. डा. दिपक राज अधिकारीलाई ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी र ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ्ग र सहप्रा. डा. करण सिंह धामीलाई ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रिको डिनको जिम्मेवारी प्रदान गरिएको विश्वविद्यालयले जानकारी दिएकाे छ।
उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलले नवनियुक्त डिनहरूलाई नियुक्ति पत्र वितरण गर्दै शैक्षिक तथा प्रशासनिक नेतृत्व अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीको समेत उपस्थिति रहेको थियो।
साेही कार्यक्रममा विश्वविद्यालयका उपप्राध्यापक र कर्मचारीकाे उपस्थिति रहेकाे थियाे ।