ट्रेण्डिङ

होमपेज / समाज

पेट्रोलियम उत्खननका लागि दाेस्राे चरणकाे सम्झौताको गृहकार्य शुरु

नेपालगाथा २०८३ जेठ १६ गते शनिबार २२:३५:५७ मा प्रकाशित

काठमाडौं । खानी तथा भूगर्भ विभागका अनुसार पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य शुरु भएकाे छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।

पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पहिलो चरणको ‘ड्रिलिङ’, अन्वेषण कार्यलगायत सकिएको जनाएको छ ।

पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन सुरु गर्न उक्त सम्झौताका लागि आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो ।

विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिए । 

पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमूना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको जनाइएको छ । परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ ।

यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ । राससबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top