होमपेज / विचार
पहिले मोटोपना खाने-पिउने घरको निसानी हो भन्ने प्रचलन थियो। तर अब मोटोपना रोगका रुपमा वर्णित गरिएको छ। किनभने, मोटोपना विभिन्न रोगहरुको जननी हो। यससँग जोडिएर आउने रोग धेरै नै छन्। जसलाई हामी चिकित्सकीय भाषामा 'ओबिसिटी सिन्ड्रोम' भन्छौं।
मोटोपना त्यस्तो दीर्घकालीन समस्या हो, जुन मुटुको रोग, ब्लड प्रेसर, सुगर, डायबिटिज, क्यान्सर, घुँडा खिइने समस्या, श्वासप्रश्वासको समस्या र निद्रासँग जोडिएको समस्या हो।
मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तो: ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।
किन बढ्दो छ नेपालमा?
सुन्दा अपत्यारिलो लाग्न सक्छ। अहिले विकासोन्मुख देशमा कुपोषणले भन्दा मोटपनाले मान्छे धेरै मरिरहेका छन्। डब्लूएचओका अनुसार वर्षेनी ४० देखि ५० लाख मानिस मोटापनाले निम्त्याउने रोगहरुका कारण मृत्युवरण गरिरहेका छन्। रोड ट्राफिक एक्सिडेन्टपछि मोटोपनाबाट मृत्यु हुनेको संख्या छ। विकासोन्मुख देशमै पर्ने नेपालमा गएको दुई दशकदेखि बढ्दो क्रममा छ।
मोटोपना आहार-विहारको रोग हो। हाम्रो आहार परिवर्तन हुँदै गइरहेको छ। पहिले हामी गाउँ-घरमा बस्दा स्थानीय खानेकुरा खान्थ्यौं। ढिकीमा कुटेको चामलमा फाइबर धेरै हुन्थ्यो। अहिले पोलिसवाला सेतो चामल हुन्छ। फाइबर हटाइसकेको हुन्छ। क्यालोरी मात्रै राखिएको हुन्छ। त्यसैगरी गहुँको पिठो गाउँको खैरो रङको हुन्छ तर अहिले किनेर खाने सेतो हुन्छ। त्यहाँबाट पनि फाइबर हराइसक्यो।
अहिलेको जीवनशैली यति व्यस्त छ कि पकाएर खाने फुर्सद छैन। हामीले फास्टफुड खान्छौं। पेय पदार्थमा कोल्ड ड्रिक्स खान्छौं। पहिले सिधै फलफूल खान्थ्यौं। अहिले फलफूलको कुरा त परै छाडौं, जुस पनि बट्टाको खान्छौं।
पहिले हामीलाई ५ देखि १० किलोमिटर हिँड्ने कुरा सामान्य थियो। कि साइकल चलाएर पुग्थ्यौं। अहिले त्यो सम्भव छैन। दुई तलामाथि जान पनि लिफ्ट प्रयोग गर्छौं।
मोटोपना बढ्नुको कारण यही हो। छोटकरीमा भन्दा पेटमा आम्दानी धेरै भयो, हामीले खर्च कम गर्न थाल्यौं। त्यही बचत भएर मोटोपना बढेको हो। केही मोटोपना वंशाणुगत हुन्छन्, त्यो निकै कमलाई हुन्छ।
अहिले एउटा संख्यामा छ। आगामी दशकमा यसको समस्या अझै धेरै हुने अनुमान अहिलेबाट नै गर्न सकिन्छ। किनभने, बच्चामा मोटोपना बढिरहेको छ। 'चाइल्ड इज फादर' भनेझैं उनीहरु एक दशकमा प्रौढ हुन्छन्।
बेरियाट्रिक सर्जरी कसलाई ?
मोटोपनाको उपचारका लागि बेरियाट्रिक सर्जरी एउटा उपाय हो। तर, हामीले सुरुमा यस्तो गर्न भन्दैनौं। पहिले त आहाबिहारमै ध्यान दिन हाम्रो सुझाव रहन्छ। अन्य उपायबाट मोटोपना घटाउन सकिएन भने हामीले बेरियाट्रिक सर्जरीबाट घटाउने गरेका छौ।
नेपालमा हामीले सन् २०१४ देखि सुरु गर्यौं। तर अधिकांशलाई बेरियाट्रिक सर्जरी र लाइपोसेक्सन उस्तै लाग्ने रहेछ। लाइपोसेक्सन भनेको पेटमा जमेको बोसो तान्ने हो। सर्जरीकै माध्यमबाट बोसो झिकिन्छ। तर बेरियाट्रिक सर्जरीमा आन्द्रा र आमासयमा केही चिकित्सकीय उपाय अपनाइन्छ। जसले पेटमा बोसो लगाउने मुल स्रोत नै बन्द गर्छ।
हामीले खाना खाएपछि त्यो आमासयमा गएर बस्ने हो। त्यहाँ एउटा भाग हुन्छ, जसलाई फन्डस भनिन्छ। त्यहाँ एउटा हर्मोन निस्किन्छ, जसले गर्दा मान्छेले धेरै खान्छ। हामीले यो सर्जरीका क्रममा फन्डस काटिदिन्छौं र आमासयको साइज घटाउँछौं। त्यसपछि ब्रेनमा धेरै खान हुँदैन भन्ने संकेत जान्छ, जसले गर्दा मान्छेले चाहिनेजति खाँदा अघाएको महसुस गरेर खान छाड्छ। त्यसरी एक त क्यालोरी शरीरमा कम जाने भयो, अर्को मोटोपना बढाउने त्यो हर्मोन नै हटाइदिएको हुन्छ। यसलाई 'स्लिम भ्याक्सेक्टोमी'का रुपमा पनि बुझ्न सकिन्छ।
अर्को 'बिलियो प्याङ्क्राइटिक डाइभर्सन' गरिन्छ। यो पनि खाने थोरै खाँदा अघाउने उपाय नै हो। यसमा सानो आन्द्राको माथिल्लो भागलाई पूर्ण रूपमा बाइपास गरेर त्यसको अन्तिम खण्डमा सिधै जोडिएको हुन्छ। यसले गर्दा शरीरमा धेरैलाई के लाग्छ भने तुरुन्तै घट्छ।
यस्तो गरिएको एक महिनादेखि तौल घट्न थाल्छ। दुई वर्षमा नतिजा देखिन्छ।
बेरियाट्रिक सर्जरीपछि डायबिटिजको बिरामीमा ७० प्रतिशतले औषधि खानु नपर्ने गरी निको भएको पाइएको छ। उच्च रक्तचाप पनि ६०-७० प्रतिशतको निको हुने देखाएको छ। यो सर्जरी दूरबिन विधिबाट गरिन्छ। पेटमा ठूलो घाउ बनाइरहन पर्दैन। विकसित देशमा रोबर्टिक सर्जरी समेत आइसकेको छ। अप्रेसनको तीनदेखि पाँच दिनमा डिस्चार्ज हुन्छ।
कसलाई यसको आवश्यकता पर्छ भन्नेमा विश्व स्वास्थ्य संगठन र एसिया प्यासिफिकको मान्यतामा केही फरक देखिन्छ। विश्व स्वास्थ्य संगठनले कुनै रोग नभएकोमा बडी मास इन्डेस्क ४० भन्दा बढी रहेकोलाई बेरियाट्रिक सर्जरी गर्न सकिने बताएको छ। मोटोपनाका साथै अन्य समस्या हुँदा बडी मास इन्डेक्स ३० भन्दा बढी भएमा सर्जरी गर्नुपर्छ। एसियाका लागि भने बडी मास इन्डेक्स ३५ माथि छ भने गर्नुपर्छ। यदि कुनै समस्या छ भने ३२.५ भन्दा माथि गर्नुपर्ने बताइएको छ। स्वास्थ्यखबरबाट ।