ट्रेण्डिङ

होमपेज / विचार

आमाको हँसिलो तस्वीर नै मेरो ऊर्जा हो

वीरेन्द्र बाेहरा

नेपालगाथा २०७९ फाल्गुण २९ गते सोमबार २२:१४:०१ मा प्रकाशित

यो मेरो पूरै जीवनगाथा त होईन तर मुख्यमुख्य घटनाहरु भने पक्कै नै समेटिएका छन् । आफू बोल्ने,अरुले बोलेको बुझ्ने भैनसक्दा म के गर्थे बुबा आमा के गर्नु हुन्थ्यो त्यो त आमालाई सोधेर कुनै समयमा लेखौला । आज यहाँ म जब अरुले बोलेको बुझ्ने भए त्यसपछिका मैले भोगेका र देखेका घटनाहरुलाई उतार्ने कोसिस गर्दैछु । भनिन्छ, नि बालबालिका भनेका आलोकाँचो माटो जस्तै हुन जस्तो बनायो त्यस्तै बन्छन्, जे देख्यो त्यही गर्छन, जे सुन्यो त्यही भन्छन् भनेर । आज आएर सायद यस्तै छाप मलाई पनि बसेर होला हर दिन हर रात त्यही कुराले मन जलिरहेको छ ।

अब सुरु गरौ यि मेरा मनका भावनाहरु, 'घरमा सधैं बुबा आमाको झगडा देख्थे, लाग्थ्यो दुईतीन दिन त कतै गएर बस्न पाए पनि त हुन्थ्यो नि, बुबा आमाको झगडा बाट टाढा हुन पाएपनि  हुन्थ्यो नि ? तर सोच्थे, बच्चै त छु कता जानू के गर्नु केही उपाए निस्किदैन थ्यो, अनि त्यहि झगडा नै सुनेर बस्थे, न छुटाउन सक्थे न सम्झाउन । समाजमा सबैका बुबाआमालाइ देख्थे कति मिलेको, हाम्रो पनि यस्तै मिलेर बसेको भए कति खुसी हुन्थे होला तर खै किन हो किन त्यस्तो मेरो घरमा सम्भव नै थिएन । बुबा आमाको झगडा त कैयौ चोटि भए होलान्। सायद झगडा नभएको दिन गन्ने हो भने भित्ता मा झुन्डिएको पात्रोमा भएको शनिबारको दिन भन्दा पनि कम हुन्थे होलान्। बुबाआमाको यति झगडा देखे तर बुबाले आमालाई अनि आमाले बुबालाई हात छोडेको कहिल्यै देखिन ।

बरु आमा लाई धेरै चोटि देखे आफ्नो माइती बाट ल्याएको भाडा भन्दै कुम्लो पारेर भाग्न खोज्नु भएको र दुईतीन चोटी त भागेर पनि जानू भयाे । तर कति दिन कहाँ भागेर जानू, कस्को मा जानू, माइती जाउ माइती छैन, माईति देशको नाम मात्र छ दाजु भाइ छैनन् फेरि घरमै आउनुहुन्थो ।आमाकाे माईतिमा दाजुभाई नहुनु अनि घरमा छाेरी नहुनु कति पिडा छ हाेला आमालाईअहिले बुझ्दै छु दाजुभाइ, दिदीबहिनि नहुनुको पिडा अनि समाजले गर्ने व्यवहार र हेर्ने नरज कस्तो र कतिसम्म हुदो रहेछ भनेर। मैले चाहेर पनि बुबा आमाको मनलाई फकाउन सक्दैन थिए यदि केही भनिहाले पनि बच्चाको कुरा कोले सुन्ने कोले मान्ने । यसरी नै बालापन बित्यो ।

२०७० सालमा १० कक्षा पास गरे  । घरको अबस्था कस्तो छ कसैलाई वास्ता हुदैन थियो कसैले बुझ्दैनन् मात्र  पढ्न शहर जानू पर्छ, गाउँमा त के शिक्षा ? पढाउने मास्टर नै गतिलो हुदैनन् अनि गाउँमा बसेर नि पढाई हुन्छ त ? यस्तै अनेक थरी कुरा सुनिन्थे । उच्चशिक्षाको लागि ऋण सापटी गरेर भए पनि शहर नै जानुपर्ने ।  घरको अवस्था त थाहा थियो तर समाजको हेपाहा प्रविधिले र पढ्ने इच्छा अनि  रहर लाई मार्न नसकेर म पनि ऋण सापटी गरेर १० कक्षा पछिको पढाइ निरन्तर गर्न शहर पसे। शहर छिरे पनि हरेक समय बुबा-आमाको झगडा नै मानसपटलमा आइरहन्थ्यो ।

सायद वालापनमा त्यो मेरो मानसिकतामा छाप नै परिसकेको थियो होला। बुबा-आमालाई त फोन कता बाट हुनु र भाईलाई सानाे फोन थियाे । भाईलाई घरमा फोन गरेर सोध्थे भाइ  बुबाआमा कस्तो हुनु हुन्छ ? अचेल त झगडा गर्नु हुन्न्न नि ? कि त्यस्तै हो ?  भाईकाे जवाफ हुन्थ्याे उम गर्नु हुन्न त्यस्तो पहिले जस्तो , भाइको मलिन आवाजलेनै म थाहा पाइ हाल्थे कि झगडा त गर्नु हुन्छ नि तर कसरी दाइ लाई भन्नू टाढा हुनुहुन्छ, पढ्न जानू भएको छ चिन्ता मान्नु हुन्छ त्यसैले राम्रै हुनुहुन्छ भनेको भनेर। म उसको सबै भाव बुझीहाल्थे। किनकी म दाइ हो उसको अनि उ भन्दा पहिले नै सबै बुझिसकेकाे, भोगिसकेको थिए । मात्र फरक यति थियो पहिले काखमा नै हुन्थे, आखालेनै देख्थे अहिले टाढा छु ।

यसरी नै मेरो प्लस टु अनि स्नातककाे पढाई सकियाे। तर न राम्रो जागीर गर्न सकेको छु न शहर छिर्दा लिएको ऋण, आफन्तहरुले हरेक चोटि शहर छिर्दा गाडी भाडा हुन्छ भन्दै खल्ती मा राख्नुभएको कोसेली को गुन नै तिर्न । अहिले न १२ पास गरेको मा  हर्ष छ नत स्नातक नै, चिन्ता छ त केवल १० पछि शहर छिर्दा लिएको ऋणको, अनि बुबाआमाले गर्नु भएको बिश्वास ।

८ बर्ष भयो होला सायद आमाबुबा सङ्गै बस्न, खान, अनि दुख सुख सोध्न र भन्न नपाएको, रहर त थियो नि संगै बसेर रमाउने, धेरै कुरा बुझाउने तर बाध्यताले सहरमा नै पछारेको छ । जसरी गाउँबाट आए त्यसरी नै सहरबाट घर कसरी जाने आमाको त्यो फाटेको चोलि अनि बुबाको टालेको टोपि फेर्ने आसमा अहिले मात्र हरियो पासपोर्ट च्यापेर गन्तव्य कुरि बसेको छु। अहिले पनि झगडा गर्नु हुन्छहोला भन्दै मन मा डर बोकेर सरहमा बाचिरहेको छु ।

बुबाआमाले गर्नु भएको झगडा दिमाग बाट कहिलै हराउन सकेन । अहिले हरेक चोटि फोन गर्दा लाग्छ राम्रै आवज सुनियोस, आमालाई सोध्दा बुबाको बारेमा,अनि बुबालाई सोध्दा आमाको बारेमा राम्रो भनिदिउन, फोनमा सधै हसिलो आवज सुन्न पाऊँ।

आमा धेरै कोसेली पठाउन पर्दैन, सधैं हासेको तस्बिर देख्न पाऊँ
हरेक सङ्ग मेरो छोरा लाई देखाउन भन्दै हासेको तस्बिर पठाइदिनु 
त्यही नै मेरो लागि संसारको महङ्गो कोसेली हुनेछ।
 त्यही नै  मेरो खुसी हुनेछ।
 त्यही नै मेरो ऊर्जा हुनेछ ।
त्यही नै मेरो यात्राको सहारा हुनेछ।
 त्यही नै मेरो गन्तव्य को एक खुड्किलो हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top