ट्रेण्डिङ

होमपेज / विचार

बा अर्थात् बुवा !

मनिस गहतराज

नेपालगाथा २०७९ फाल्गुण २९ गते सोमबार १४:५७:३३ मा प्रकाशित

बुद्धले भनेजस्तै, जीवनमा दुःखको महासागर छ । जन्मेर कोक्रामा हल्लिन थालेदेखि आरेघाटमा मलामीहरूसँग अन्तिम बिदाइ लिँदै आगोको फिलिङ्गोमा शरीरलाई धुँवा नबनाएसम्म दुःखको भारीले मान्छे थिचिन्छ, किचिन्छ । निचोरिन्छ । र पनि कसैको साथ पाउँछ र जिन्दगीको गाडीलाई आफ्नै रफ्तारमा ह्विकाउने प्रेरणा प्राप्त गर्दछ । त्यो प्रेणाको स्रोत बुबा पनि त हो । जो निरन्तर गोरुजस्तै जोतिन्छ काँधमा परिवारको भारको जुवा बोकेर । बुबा ! अर्थात् स्वादे जिब्रोमा मोहोला लगाएर, चाहेको बेलामा चाहेको कुराबाट हात झिकेरै सन्तानको पालन पोषणका निम्ति अनवरत सङ्घर्षरत रहने, जीवनको नौकालाई निपुर्णताका साथ खियाउने कुशल माझी ।

जब व्यक्ति जन्मिन्छ, तब परिवारमा हाँसोको वातावरण सिर्जना हुन्छ । सबैको ओँठमा खुसीको मुस्कान छाउँछ । अझ, छोरा जन्मिएको घरमा बुबाको अनुहारमा फुल्ने लालिगुँरासको उमङ्गले परिवार नै रङ्गिएको जस्तो हुन्छ । कम्तीमा पनि हामी यही बिडम्बनाभित्र उकुसमुकुस भएरै पनि बाँचिरहेकै त छौँ । यही समाजमा निरस जीवन रस मानेरै बाँचिरहनुभएको तपाईँलाई पनि आफ्नो भारी हलुका बनाइदिने काँध छोरो नै त हो भन्ने लाग्दो हो । छोरो नै परिवारको उत्तराधिकारी र हर्ताकर्ता हुने गलत प्रणालीभित्र बाँचेका हामीहरू यही त सोँच्छौँ, ‘छोरो अर्थात् जवानीको साथी, घाम डुब्ने बेला ओखती मुलोको ब्यवस्था गर्ने सहयात्री ।’ 

बा र छोराको सम्बन्ध, एउटा अजिबको सम्बन्ध । बालापनको चन्चले उमेरमा त अझ बुबाको गालीको त्रासले सामुन्ने पर्न नचाहने मुसो र बिरालोको जस्तो लुकामारी चल्ने सम्बन्ध । उमेरले सिडी उक्लिदै जाँदा बुबाका दुःखहरू बुझ्न कोसिस गर्ने र आत्मिय बन्न खोज्ने सम्बन्ध । बुबाका समस्याहरूबारे चिन्तन गर्ने, तर बुबा ! तपाईँलाई कति गार्हो भयो है भनेर अभिव्यक्तिमा बताउन नसक्ने सम्बन्ध । अनि अहिले, भन्न खोजेका कुराहरू मनभरी गुम्साएरै तपाईँको योगदान तपाईँकै अगाडि चर्चा गर्न नसक्ने सम्बन्ध । तपाईँका र मेरा पिर मर्का र ब्यथाहरू उस्तै–उस्तै हुँदा पनि एकअर्कालाई नभनेरै बाँच्नुपर्ने सम्बन्ध । उफ्फ्फ्फ्फ् ! यो कस्तो प्रेम, बाबु छोराको ।   

आफ्नै दुःखको गर्हौँ भारीले थिचिएका बुबा, छोरोले उमेरको भर्याङ उक्लिँदै जाँदा पिठ्युमा भारी बोकेर गर्मीमासमा डाँडाको थुम्को उक्लिइरहेको भरियाले चौतारीमा सिमली छाँया भेटेजस्तो लाग्दो हो ।  तिर्खाले प्याकप्याक बनेको बटुवाले पानी राखिएको धर्मशालाको अम्खरा पाएजस्तो लाग्दो हो । अनि लाग्दो हो, टाउकोमा भिरेको ठुम्सेको नाम्लो आफ्नो शीरमा सारिदिने कोही सहयात्री भेटेजस्तै । अनि लाग्दो हो, पुग्दा रुखको टुप्पाको टेकेको सुकेको हाँगो भाँचिएकै बेला हठात काँचो डाली भेटेजस्तो । बुढेसकालको समाउने दरिलो लौरी लाग्दो हो । मेरो वंशको बिऊ अर्को पुस्तासम्म पुर्याउने वंश निरन्तरताको माध्यम लाग्दो हो । मलाई पनि त आखिर तपाईँको साहरा नै त बन्न मन लागेको हो बुबा, जिन्दगीमा । तपाईँलाई कहिल्यै नछाड्ने खुर्प्याटो र हसियाँ जस्तै हरहमेसा तपाईँका दुःख तथा हाँसोको साक्षी बनिरहने मन मलाई पनि त छ बुबा । 

संसारमा धेरै चलचित्रहरू बनाइए । थुप्रै गीतहरू गुन्गुनाइए, अनगिन्ति कविताका रासहरू कोरिए । लाखौँ उपन्यासहरू लेखिए । तर तिनमा अहँ ! कुनैमा पनि तपाईँको कथा भेटिन बुबा मैले । तपाईँका बिवशता र बाध्यताको फेयरिस्त कहीँ पाइन । प्रेमीले प्रेमिकालाई आकाशको जुन टिपेर ल्याइदिने बकवासहरू धेरै भेटिन्छन् । सम्बन्धमा धोका खाएका युवा युवतीका मर्मस्पर्शी गाथाहरू कोरिन्छन् । आमा, श्रीमती, समाज, आदिमा समर्पित भइ गुन्गुनाइएका गीतहरू पनि भेटिन्छन् बुबा ! तर किन भेटिदैनन् साहित्य र रचनाहरू जसमा तपाईँले बगाएको रगत र पसिनाको चर्चा भएको छ ? मैले  पढ्न पाएको छैन बुबा त्यस्तो चित्र र साहित्य जसले सन्तान हुर्काउन एउटा बुबाले अभावग्रस्त जिन्दगीको समस्याग्रस्त परिस्थितिका बाबजुद बिहानीको ज्यान कमाउँदो सिरेठोको प्रवाहै नगरी दिनचर्याको सुरुआत गर्नुपर्ने दर्दनाक कथाको चित्रण गरिएको होस् ।

कोमल हृदयको बुबालाई समाजले कठोर बन्न बाध्य पार्छ । दुःखहरू बाँड्ने, छोराछोरीसँग भावना आदानप्रदान गर्ने मौकाबाट तपाईँ सधै बञ्चित हुनुपरेको छ । बुबाहरू कहिल्यै रुँदैनन् र रुनु हुँदैन भन्ने संस्कृतिमा हुर्किएका हाम्रा बुबाहरू, आफूभित्रका आँशुहरू दबाएरै बाँच्न बाध्य हुन्छन् । मर्दनाको भिमकाय रुखको चेपुवामा परेर आफूभित्रका पिडाहरू गुम्साएरै राख्न विवश हुन्छन् । के तपाईँ मान्छे होइन ? के तपाईँको कोमल हृदय छैन र ?

घरअगाडिको टाँडमा बाँधिएको बाख्रो त आफ्नो बथानको एउटा बाख्रो बथानबाट हराउँदा कराएर उठिबास लगाउँछ, आफ्ना सन्तानको मृत्यु शोकमा पिँडीको खाँबोमा बाँधिएको कुकुरले त आँसु बगाउँछ, आफ्नो पाडो हराएको झोँकमा लैनो भैँसीले त भकारो भाँचिने गरी कोकोहोलो मच्याउँछ भने, तपाईँ हामी त सिर्जनशील चेतनासहितको मान्छे । हाम्रो पनि कोमल हृदय हुन्छ । संवेदनशील हृदय हुन्छ । मनभित्र ठेलमठेल अटसपटस गर्दै अनुशासनहीन तरिकाले उपद्रव मच्याउने आँधीबेहेरी तुल्य भावनाहरू हुन्छन् । पिर हुन्छ, ब्याथा हुन्छ । ब्याथा पोख्ने उत्कट आकाङ्क्क्षा हुन्छ । आँसुँंगै पिडा बगाउने माध्यमको खोजी हुन्छ । रुँदा आँशु निकाल्ने लाक्रिमल ग्रन्थी हुन्छ । हाम्रा छोरा बुबाहरू यसरी बाँचिरहेका छन्, जहाँ दुखाई महशुस हुँदा नदुखेको बहाना बनाउनुपर्छ, पिडा लुकाएरै हाँस्नुपर्छ । समस्याहरू नभएकोजस्तो अभिनय गर्नुपर्छ, चलचित्रका पात्रहरूले जस्तै ।   

जब छोराछोरीहरू हुर्किन्छन्, तब बुबाका दुःखहरू बुझ्ने प्रयत्न गर्छन् । तर बिडम्बना, बुबाको दुःख बुझिनसक्नुको अनौठो छ । दुःखको भारीले थिलो थिलो परेको शरीरले सुखको सास फेरोस भन्ने तीब्र चहाना र अनुभुती छोराछोरीसँग किन नहुँदो हो र?    बुबाको दुःख हटाउने सपनाले सन्तानहरू बुबासँग टाढिन्छन् । बुबासँग मात्र होइन, सिङ्गो परिवारँंगै टाढिन्छन् । घरबाट दुःखको राणाशासन अन्त्य गर्ने आन्दोलनमा भाग लिन सन्तानहरू सके अस्ट्रेलिया, वा अमेरिका, नसके खाडीको बाडीमा हाम फाल्न तयार हुन्छन् । 

हवाइजहाजले केवल मान्छे मात्र बोक्दैन, सपनाको ठुलो पोको पनि उडाउँछ । आकाशमा नउड्नेहरू रेलको बाटो स्विकिन्छन्, तर आन्दोलनबाट पछाडि हट्दैनन् । देशको दुःख हटाउने आन्दोलनमा त कमसेकम सबैजना एकजुट हुन्छन्, तर घरको दुःख हटाउन भने छुट्टाछुट्टै बस्नुपर्छ । एकातिर परिवार, अर्कोतिर सन्तान । एकातिर बुबाको दुख, अर्कोतिर छोराको पिडा । जब घरको दुःखको चिहान खन्न छोराछोरी बाहिरिन्छन्, तब दुःखले नै सन्तानसँग लाप्पा खेल्न सुरु गर्छ । दुःख र मान्छेको बीचमा घमासान सङ्घर्ष हुन्छ । कुनै सङ्घर्षमा दुःखको विजयी हुन्छ र दुःखको चिहान खन्ने कोदाली अर्जाप्न नपाउँदै दुःखले मान्छेकै चिहान बनाइदिन्छ ।

कुनै भिषण सङ्घर्षहरू यस्ता पनि हुन्छन्, जसले दुःख नामको समस्याको जालोको चपरी मुनीको बास बनाइदिन्छन् । तर प्राय लडाइँमा मान्छेले दुःखलाई जित्न सक्दैन । दुःखले पनि मान्छेलाई हराउन सक्दैन । दुःख र मान्छेको द्वन्द्व अन्ततः जीवन रहेसम्म चलिरहन्छ । दुःखले मान्छेलाई पछ्याइरहन्छ, रात नपरेसम्म छाँयाले नछाडेजस्तै ।
बचेराको लागी चारो खोज्न उडेको पन्क्षीजस्तै परिवारबाट टाढिएका सन्तानलाई महशुस हुन्छ, बुबाको दुःखको आयतन कति छ भनेर । आफ्नै दुःखले थिचिएपछि त मान्छेले पिडा के हो भनेर बुझ्दो रहेछ नी बल्ल । पराइ भूमिमा सबैभन्दा धेरै याद बुबाकै त आउँछ । भन्न मन हुन्छ, “बुबा! तपाइँको दुःख बुझ्ने भएको छ छोरो, सोध्न मन हुन्छ बुबालाई, ‘बुबा, तपाईँ पिडा लुकाएरै पनि कसरी हाँस्न सक्नुहुन्छ ? कसरी सक्नुहुन्छ खुसी हुन र अनुहारमा पिडाको किन्चित आभास नदेखाएरै’ सोध्न मन हुन्छ, ‘बुबा, तपाईँलाई आफ्ना कुरा, हामीसँग बाँड्न मन हुदैन र ?’

मलाई त लाग्दछ बुबा, तपाईँसँग भेट हुनासाथ भक्कानो फुटाएरै रोउँ एकपल्ट । आफुभित्र गुम्सिएर अटेसमटेस भएका कुराहरूलाई आँखाबाट बगाइदिउँ तपाईँका सामुन्ने । बुबाको कुटाइ खाँदा आमाको काखमा घोप्टिएर घुक्क घुक्क गर्ने भर्खरको ७÷८ वर्षको बच्चाजस्तै तपाईँको समिपमा आफ्ना बेदनाहरू पोखुँ । तर बुबा ! जब तपाईँसँग फोनमा बोल्छु, तब, सब ठीकठाक चलिरहेको जसरी सबै कुराहरू लुकाएरै कति सजिलै भनिदिन्छु, ‘यता त बढीया छ बुबा मेरो खबर, तपाईँको कस्तो छ? मैले आफ्ना पिडा लुकाएजस्तै तपाईँले पनि त कति धेरै कुराहरू मनमनै गुम्साएर राख्नुभएको होला नि है।’ तपाईँलाई पनि भन्न मन छ होला, ‘हेर केटा ! मैले यति ठाउँमा हन्डर खाएको थिएँ भनेर ।’ तपाईँलाइ पनि त बाँड्न मन छ होला, मेरा जस्तै मनभित्रका आर्तनाद र चित्कारका पोकाहरू मेरो सामुन्ने र मन छ होला नि है, सबै कुरा असरल्ल पोखिदिन । 

हेर्नुहोस् न, कति सजिलै भन्न सकिन्छ आमालाई, तपाईँले पकाएको गुन्द्रुकको अचारको याद आयो भनेर । आमा, तपाईँलाई म एकदम धेरै माया गर्छु भनेर, कति सजिलै भन्न सकिन्छ । जीवनसाथीलाई तिम्रो दाहिने हात समातेर मेला हेर्न गएको, झलझली सम्झना आयो भनेर, कति सजिलो छ प्रेमीकालाई, ‘प्रिय मान्छे, तिम्रो अभावमा मलाई केवल शुन्य मात्र महसुस भैरहेको छ, आई लभ यु माई हर्ट’ भनेर भन्न ।  

तर अहँ, बुबा ! मेरो सानो सफलताले तपाईँको मुहारमा ल्याइदिएको चमकधमक र उज्यालोको याद आयो भनेर किन भन्न सक्दिन ? यस्तो लाग्छ, बुबाको समिपमा पुग्नासाथ बताउनेछु तपाईँको यादले छियाँ–छियाँ बनेको मन कति तड्पिएको थियो भनेर । तर जब तपाईँ सामुन्ने पुग्छु,  दिमाग शुन्य हुन्छ । तपाईँका निम्ति साँचेका शब्दहरू सबै गायब भैदिन्छन् अनायासै, भोकाएको छोरो विद्यालयबाट फर्किएपश्चात् खुवाउनका निम्ति आमाले आफ्नो गास कटाएर राखिदिएको खाजा दाम्लो छिनाएको बाख्रोको पाठोले खाएर रित्तो बनेको कसौँडीजस्तै  रित्तो रित्तो हुन्छु म तपाईँसमक्ष पुग्दा । तर बुबा ! एकपल्ट त भन्ने छु तपाइँको बारेमा मनमा खेलिरहेका कुराहरू जसरी पनि । यही अठोटले पनि त जीवनलाई सुन्दर बनाउने प्रेरणा दिँदो रहेछ । 

जय बुबा !

प्रतिक्रिया

सम्बन्धित खवर

Top