होमपेज / विचार
कालिकोट जिल्लाको खस्किदो शैक्षिक गुणस्तर, शैक्षिक संस्थाले भोग्नु परेका समस्या, विद्यार्थीको सुन्य उपस्थिति, परीक्षा र निर्वाचन केन्द्रित विद्यार्थी बेमाैसमी बाजा जस्तै बनेका छन् । कालिकोट जिल्लामा हालसम्म स्थापना भएका ५ वटा क्याम्पस मध्ये हाल जिल्लामा तीन वटा क्याम्पस रहेको छ्न्। जसमा रास्कोट नगरपालिकामा रहेका कर्णाली प्राविधिक क्याम्पस मोतीराम माविसङ्ग जोडिएको र रास्कोट कमर्स क्याम्पस (स्थापनादेखि नै विवादित) विविध कारणले अहिले सञ्चालनमा छैनन्। हाल जिल्लामा रहेका क्याम्पस मध्ये २ वटा त्रिभुवन विश्ववविद्यालय अन्तरगत र एउटा मध्यपश्चिम विश्वविद्यालय अन्तरगत रहेका छ्न्। जसमा जिल्लाका तिनै वटा क्याम्पसको विद्यार्थी सङ्ख्या एक हजारको हाराहारीमा रहेका छन्। त्यसमा पनि क्याम्पसमा दैनिक उपस्थिति हुने विद्यार्थीको सङ्ख्या ५० भन्दा कम रहेकाे छ।
यसलाई सुदृढ गर्न कस्को भूमिका के हुने भन्ने आजको प्रमुख विषय भैसकेको छ। झट्ट हेर्दा विद्यार्थीको नजरबाट क्याम्पस र क्याम्पसको नजरबाट विद्यार्थी दोषी देखियता पनि ठ्याक्कै यसको वास्तविकता भने फरक नै देखिन्छ । शैक्षिक संस्था संचालनका निमित्त आवश्यक पर्ने जनशक्ति, भैतिक संरचनालगायत अन्य आवश्यक शैक्षिक सामग्री व्यवस्थापनका हिसाबले कमजाेर देखिन्छ । क्याम्पसमा आएर अध्यन गर्ने विद्यार्थीको मात्रा कमी छ।
मुख्यतयाः क्याम्पसमा कस्ता खालका विद्यार्थी अध्यनरत छ्न् भन्ने कुरा पनि उतिकै महत्त्वपूर्ण रहेको छ। आर्थिक रुपमा सप्पन्न, प्राविधिक शिक्षा, निरन्तर क्याम्पस जान चाहने विद्यार्थीहरुका लागि पनि जिल्लाका क्याम्पसहरु रोजाईमा पर्ने सम्भावना न्यून छ। देशैभरीको दुर्गम, गरिबी, पछौटेपन, अशिक्षाले ग्रस्त कालिकोट जिल्लाको शैक्षिक स्तर दयनीय रहेकाे छ ।
उच्च शिक्षा पास गरेर स्नातकसम्मकाे अध्ययन गरुन्जेलसम्म निरन्तर शैक्षिक भविष्य अगाडि बढाउन पारिवारिक अवस्थाले साथ नदिने, आफ्नो शैक्षिक यात्रा अगाडि बढाउन कि मजदुरी कि सामान्य रोजगारीमा जोडिनुपर्ने बाध्यताले गर्दा विद्यार्थीहरुको उपस्थिति हुननसकेको आशंका गर्न सकिन्छ । तर राजधानीमा रहेका शैक्षिक संस्थामा रोजगारी गर्दा अध्यापन गर्न आउने विद्यार्थीको लर्को नै हुन्छ ।
यो नजिरबाट हेर्दा जिल्लामा रहेका क्याम्पसहरु भाैगोलिक रुपमा विकटता र बेरोजगारीको सिकार भएको प्रष्ट रुपमै देखिन्छ । उच्च आयस्रोत भएका र अधिकांश मध्यम विद्यार्थीको रोजाइ जिल्लाका क्याम्पस नहुने र निम्न वर्गीय विद्यार्थीको विविध बाध्यताका कारण जिल्लाका क्याम्पस रोजाइमा पर्ने र उक्त क्याम्पसको शुल्कसम्म तिर्नलाई कि मजदुरी र भारत पलायन हुनुपर्ने अवस्थालाई पनि देख्न सकिन्छ ।
अझ थप त जिल्लामा कार्यरत विभिन्न संघ, संस्था, निजी तथा सरकारी कार्यलयका कर्मचारीहरुले पनि यी क्याम्पसको शोभा बढाईदिएको छ। उहाँहरु परीक्षा केन्द्रित विद्यार्थीमा पर्नुहुन्छ । करिब ३० प्रतिशत विद्यार्थीहरू घरमै अध्ययनबाट परीक्षामा सामेल हुने कुरा सान्दर्भिक नै छ । तर शतप्रतिशत विद्यार्थी नै परिक्षा केन्द्रित भएपछि, यो शैक्षिक गुणस्तरमाथिको ठाडो प्रहार भएन र?
स्ववियु निर्वाचन प्रति पनि विद्यार्थीहरुको १००% उपस्थिति रहने, हानाहान र मारामार सम्मकै वातावरण सिर्जना हुने अवस्था रहेको देखिन्छ । यी शैक्षिक संस्थाबाट प्रमाणपत्र र निर्वाचन मार्फत लाभ हुने वक्तित्व विकास नै उपलब्धिमुलक हुने भएकाले विद्यार्थीको हानथाप सान्दर्भिक नै छ । शैक्षिक संस्थाको विकास, शैक्षिक गुणस्तर र विद्यार्थीको निरन्तर उपस्थितिका निमित्त यो भन्दा अगाडि भएका निर्वाचनमा कालिकोट जिल्लाका क्याम्पसहरुमा खासै उपलब्धि मुलुक देखिदैन ।
अब यसपालि हुने निर्वाचनले कुन कुराको नेतृत्व गर्ने, अब निर्वाचित हुने विद्यार्थी समूहले कुन कुराको प्रतिनिधित्व गर्ने भन्ने कुरा प्रमुख छ । हामीसँग भएका क्याम्पसहरु हामी सबैको चासोको विषय नभएसम्म हाम्रा क्याम्पस यही अवस्थामा रहने हाे भन्ने उनको भनाई छ । अबको स्ववियु जुन पालिकामा क्याम्पस रहेको छ उक्त पालिकाले विद्यार्थीको सङ्ख्यालाई मध्यनजर गर्दै विद्यार्थीलाई सक्रिय जनशक्तिको रुपमा परिचालन गर्ने र पालिकामा गर्न सकिने उत्पादनमा विद्यार्थीलाई जोड्न सकेमा क्याम्पस र विद्यार्थी, विकास र पालिका र रोजगारी र उत्पादन बीचको सम्बन्धलाई स्थापित गर्न सकिने र जसले सभ्य र समृद्ध समाज निर्माणको परिकल्पना गर्न सकिन्छ।
क्याम्पसहरुलाई प्राविधिक र वर्तमान परिवेशमा महत्त्व बोकेका विषयवस्तुलाई क्याम्पसमा स्थापित गरेर हाम्रो शैक्षिक संस्थालाई थप महत्त्वपूर्ण र स्थापित गर्न सबैले सकारात्मक भुमिका खेल्नु आवश्यक छ ।