ट्रेण्डिङ

होमपेज / विचार

अंकमात्र होइन, मुद्दा पनि हो जनसंख्या  

देवराज अर्याल 

नेपालगाथा २०७९ असार २७ गते सोमबार १०:३१:५५ मा प्रकाशित

हरेक वर्ष जुलाई ११ लाई विश्व जनसंख्या दिवसको रुपमा मनाउने गरिन्छ । विश्वका अन्य देशहरुले मनाए जसरी नै नेपालले पनि विश्व जनसंख्या दिवसलाई उच्च महत्त्वमा साथ विविध कार्यक्रम र प्रतिवद्धताका साथ मनाउँदै आएको छ । खासगरी जनसंख्याका विविध मुद्दाहरुका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् १९९० बाट विश्वस्तरमा जनसंख्या दिवस मनाउन थालिएको हो । जनसांख्यिकीय मुद्दाहरुका साथसाथमा विकास र पर्यावरणबीचको अन्तरसम्बन्ध र त्यसमा जोडिएको जनसंख्याका सवालहरुका बारेमा सचेत हुनका लागि पनि विश्व जनसंख्या दिवसको अवधारणा विकास गरिएको हो । वास्तवमा यो विश्व जनसंख्या दिवसको अवधारणा विकासित गर्ने सन्दर्भमा संयुक्त राष्ट्र संघको विशेष पहलकदमी रहेको छ । 

जनसंख्याको सवालमा चर्चा विमर्श गरिरहँदा धेरैले यो विषयलाई अंकको शास्त्र हो भन्ने अर्थमा बुझ्ने र विश्लेषण गर्ने गरेको पाइन्छ । जनसंख्या विधाको एउटा आयामबाट चित्रण गर्दा उल्लेखित तर्कलाई अनुचित नै हो भनेर किटान गर्न मिल्दैन । तर, विषय यो मात्र भने निश्चित रुपमा होइन । अंक आधार हो, तर यसको सार भनेको मानिस हो । मानिसका यावत सवाल र खासगरी आवश्यकतासँग जोडिएका पक्षहरुमा जनसंख्यालाई उचित र न्यायसंगत ढंगले व्यवस्थापन गर्नु हो । त्यस अर्थमा सुरुवाती अवधारणादेखि नै विश्व जनसंख्या दिवसको सन्दर्भमा जनसंख्याको मुद्दालाई परिवार योजना, लैंगिक समानता, प्रजनन अधिकार, मातृस्वास्थ्य, गरीबी र मानव अधिकारलाई उच्च प्राथमिकतामा राख्ने गरेको पाइन्छ । र, उल्लिखित पक्षहरुलाई सन्तुलित ढंगले व्यवस्थापन गर्दै मानिसको गुणस्तरीय जीवन प्राप्तिलाई मूल ध्येय बनाइएको छ । 

आज विश्वको जनसंख्यालाई तस्वीरमा अवलोकन गर्दा जनसंख्याको आकार उच्चतम विन्दुमा पुगेको देखिन्छ । युनएनएफपीएका अनुसार अहिले विश्वको जनसंख्या ७ अर्व ९५ करोड ५६ लाख ८१ हजार ८ सय ७६ पुगिसकेको छ । यसमा सबैभन्दा बढी हिस्सा चीनको रहेको छ भने दोस्रो स्थानमा भारत छ ।

चीनले विश्व जनसंख्याको आकारमा १८.२१ र भारतले १७.६८ प्रतिशत हिस्सा ओगटेका छन् । तर, उल्लेखनीय सवाल के छ भने चीनको जनसंख्या वृद्धि दर ०.२९  र भारतको ०.९५ प्रतिशत रहेको छ । यस जनसंख्यालाई ती देशको भूगोल अर्थात् क्षेत्रफलको अनुपातमा हेर्दा चीनमा प्रतिवर्ग किमि १४९ जना र भारतमा ४२८ जनाको जनघनत्व रहेको छ । यही सवाललाई अमेरिको सन्दर्भमा हेर्दा प्रति वर्ग किमिमा ३६ जना मात्रै पर्न आउँछ । यस हिसाबले हेर्दा चीनमा जनसंख्याको कूल आकार ठूलो भए पनि व्यवस्थापनमा नियन्त्रणभित्रै रहेको देखिन्छ । यद्यपि, भारतको सवालमा भने जनसंख्या व्यवस्थापनको सवालमा अलि बढी सजग हुनुपर्ने देखिन्छ । यता अमेरिका विश्व जनसंख्याको हिसावमा तेस्रो स्थानमा रहे पनि भूगोलको आधारमा जनसंख्या न्यून अवस्थामै रहेको देखिन्छ । 

जनसंख्या आफैमा एउटा गतिशील सामाजिक परिघटना हो । जहाँ जन्म, मृत्यु र बसाइसराइ जस्ता पक्षहरु क्रियाशील हुन्छन् । पछिल्लो समय जन्म र मृत्युभन्दा बसाइसराइ बढी चलायमान भएको हुनाले कुनै पनि देशको जनसंख्याको आकारमा परिवर्तन ल्याउन यो पक्षले बढी भूमिका खेल्ने गरेको छ ।

यहाँनेर विश्व, चीन र भारतको जनसांख्यिक अवस्थालाई हेरेर नेपालको अवस्थालाई विश्लेषण गर्नु सान्दर्भिक हुन्छ । किनभने, जनसंख्या आफैमा एउटा गतिशील सामाजिक परिघटना हो । जहाँ जन्म, मृत्यु र बसाइसराइ जस्ता पक्षहरु क्रियाशील हुन्छन् । पछिल्लो समय जन्म र मृत्युभन्दा बसाइसराइ बढी चलायमान भएको हुनाले कुनै पनि देशको जनसंख्याको आकारमा परिवर्तन ल्याउन यो पक्षले बढी भूमिका खेल्ने गरेको छ । खासगरी भारत र नेपालबीच हुने गरेको बसाइसराइको परिघटनाले जनसंख्याको आकारलाई बदलाव ल्याउन सक्ने सम्भावना रहेको छ । त्यसैगरी चीन र नेपालको सवालमा पनि यस्तो सम्भावना उत्तिकै रहेको छ । वास्तवमा बसाइसराइको यो परिघटनालाई बढी क्रियाशील बनाउन सम्बन्धित देशको भौगोलिक धरातल, धार्मिक संरचना, सांस्कृतिक आधार, परम्परा, आर्थिक गतिविधि, अवसरहरुको उपलब्धता र सीमितता, भूमण्डलीकरणलगायत विषय सन्दर्भहरुले काम गरेका छन् । त्यसअर्थमा नेपालको जनसंख्या र यसको व्यवस्थापनको विषयमा विचार–विमर्श गरिरहँदा यहाँको भूराजनीतिक सम्बन्धले पार्न सक्ने प्रभावलाई आकलन गर्नपर्ने हुन्छ । 

यतिबेला नेपालमा जनसंख्याको आकार एकप्रकारले भन्दा ‘स्थिर’ जस्तै अवस्थामा रहेको छ । १० वर्षको अन्तराल (२०६८–२०७८) मा १०.१८ प्रतिशत बढेर २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । २०६८ सालमा नेपालका जनसंख्या २ करोड ६४ लाख ९४ हजार थियो । यता जनसंख्या वृद्धि दर ०.९३ प्रतिशतमा अडिएको छ । यो दर २०८६ सालमा १.३५ प्रतिशत थियो । यसैगरी जनघनत्व प्रतिवर्ग किलोमिटरमा १९८ रहेको छ । यी तथ्यांकहरुलाई विश्लेषण गर्दा नेपालको जनसंख्या अहिले नियन्त्रणभित्रकै अवस्था छ । तर, यसको गुणात्मकताको पक्षमा भने केही ज्वलन्त प्रश्नहरु देखिएका छन् । खासगरी उमेर अनुसारको जनसंख्यामा ज्येष्ठ नागरिकको संख्या क्रमिक रुपमा बढ्दै गएको छ । प्रदेशगत सन्तुलनमा संगति मिलेको छैन । मधेस प्रदेशमा कुल जनसंख्याको २०.९९ र कर्णाली प्रदेशमा ५.८ प्रतिशत रहेको छ । नेपालमा हरेक १० वर्षमा हुने गरेको जनगणनाअनुसार पछिल्लो पटक भएको जनगणना २०७८ को पूर्ण प्रतिवेदन आउन बाँकी नै छ । तथापि, यसको प्रारम्भिक नतिजा भने सार्वजनिक भैसकेको छ । त्यसको आधारमा विकास, सुशासन र सेवा प्रवाहको नीति, योजना र रणनीति बनाउन सकिन्छ । 

नेपालमा अहिले पनि जनसंख्याको उल्लेखनीय हिस्सा १५ वर्षभन्दा कम र ६० भन्दा माथिको रहेको छ । यो संख्या झण्डै ४५ प्रतिशतको हाराहारीमा छ । बाँकी ५६ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय समूहमा पर्न आउँछ । हुन त यो संख्या पनि न्यून भने होइन । तर, यो जनसंख्यालाई आर्थिक रुपमा आयआर्जन हुने क्षेत्रमा उपयोग गर्न सकिएको छ कि छैन भन्ने सवाल महत्त्वपूर्ण हो । जनसंख्या व्यवस्थापनको सवालमा कुरा गर्दा आत्मनिर्भर जनसंख्यालाई समेत भरणपोषण गर्न पर्याप्त हुनेगरी आर्थिक स्रोतको आधार तयार गर्नु पर्ने हुन्छ । उपलब्ध सक्रिय जनसंख्यालाई भरपुर रुपमा आर्थिक आर्जन गर्नसक्ने अवसरहरु उपलब्ध हुनुपर्ने हुन्छ । अनि त्यतिबेला संयुक्त राष्ट्र संघले परिकल्पना गरेजस्तो लैंगिक समानता, प्रजनन अधिकार, मातृस्वास्थ्य, समृद्धि र मानव अधिकारको सुनिश्चितता गर्न सकिन्छ । र, गुणस्तरीय जीवनको आकांक्षा पनि प्राप्ति हुने आधार तयार हुन्छ । 

विश्व जनसंख्याको सन्दर्भमा कुरा गर्दा यसलाई ८ अर्बको संसार भनिएको छ । यो आफैमा सकारात्मक अवधारणा हो । तर, अवधारणा विश्वको परिप्रेक्षमा मात्र होइन सबै सबै देशको सन्दर्भमा पनि एउटा निश्चित संख्यामा यसको आकारलाई व्यवस्थापन गर्ने सोच विकास गर्नु पर्दछ ।

विश्व जनसंख्याको सन्दर्भमा कुरा गर्दा यसलाई ८ अर्बको संसार भनिएको छ । यो आफैमा सकारात्मक अवधारणा हो । तर, अवधारणा विश्वको परिप्रेक्षमा मात्र होइन सबै सबै देशको सन्दर्भमा पनि एउटा निश्चित संख्यामा यसको आकारलाई व्यवस्थापन गर्ने सोच विकास गर्नु पर्दछ । तर, त्यो आकार भनेको सम्बन्धित देशमा रहेको भूगोल, आर्थिक स्रोत साधनको उपलब्धता, सम्भावना, सामाजिक संरचना र विकास एवं पूर्वाधारको मात्रा र भूराजनीतिक परिवेशको आधारमा निर्धारण गर्नुपर्ने हुन्छ । खासगरि नेपालले यस सवालमा अलि बढी सोच विचार गर्नुपर्ने हुन्छ ।

जनसंख्याको आकार ठूलो र सानो हुनुले मात्र यसको गुणवत्तालाई प्रकट गर्ने होइन अवसरहरुको उपलब्धता, वितरणको अवस्था, पहुँच, प्राप्त गर्न सक्ने क्षमता र त्यसलाई व्यवस्थापन गर्ने संस्थागत संयन्त्रहरुको अवस्था कस्तो छ त्यसले बढ्ता प्रभाव पारेको हुन्छ । यसका लागि अवसरहरुको सदुपयोग गर्दै सबैका लागि अधिकार र विकल्पहरु सुनिश्चि हुने वातावरण निर्माण गर्नु पर्दछ । 

आज नेपालमा पनि विश्व जनसंख्या दिवस मनाउँदै गर्दा वर्तमान जनसांख्यिकीय सूचकांकको धरातलीय जगमा उभिएर परिवार योजनाको विस्तृत नीति तर्जुमा गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा पनि गरिबीको सवाल गम्भीर चुनौतीको विषयको रुपमा रहेको छ । गरीबीको दुश्चक्रका कारण महिलाको प्रजनन अधिकार र मातृ स्वास्थ्यको सुनिश्चित हुन सकिरहेको छैन । यही पेरिफेरिमा लैंगिक असमानताको फेहरिस्त न्यून हुन सकेको छैन ।

मानवअधिकारको सवालमा गौण बन्न पुगेका छैन । जसको प्रत्यक्ष प्रभाव विकास, समृद्धि र गुणस्तरीय जीवनमा पर्न गएको छ । विश्व जनसंख्या दिवसको सन्दर्भमा सरकारले उल्लिखित पक्षलाई गम्भीरताका साथ आत्मसमीक्षा गरी वर्तमान जनसांख्यिकीय सूचकांकहरुले नेपालको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय पक्षमा पार्न सक्ने प्रभावको आकलन र मूल्यांकन गर्नुपर्दछ । अनि सम्भावित परिदृष्यको आधारमा परिवार योजना, जनसंख्या नीति, योजना र रणनीति परिमार्जन गर्नुपर्ने हुन्छ । 

(लेखक पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक हुन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

Top