होमपेज / विचार
काठमाडौं महानगरको मेयर को बन्ला, अन्तिम नतिजा प्राप्त हुन अझै निकै समय बाँकी छ । राजधानी शहर र उपत्यका मात्रै होइन, देशैभरि र प्रवाससमेतका मानिसहरूको जिज्ञासा छ– कसरी एकाएक शक्तिमा आए बालेन ? उनका पछाडि को छ ?
इन्जिनियर बालेन्द्र शाहलाई धेरैले ¥यापर बालेनका रूपमा चिन्छन् । भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरे, अनि नेपाल फर्केर इन्जिनियरिङ कन्सल्ट्यान्टका रूपमा काम गरे । महाभूकम्प ०७२ पछिको पुनर्निर्माणमा उनले काठमाडौंभित्र र बाहिर आफ्नो पेसागत दक्षताको प्रयोग गरिसकेका छन् । काठमाडौं शहरका बारेमा उनले व्यक्त गरेका विचारहरूले धेरैलाई छोएको देखिन्छ । कतिपयले नानीमैया दाहालको पञ्चायतकालीन जितसँग दाँजेर हेरे पनि बालेनको उदय, उद्भव निकै फरक देखिन्छ ।
जनआन्दोलन ०४६ का कमान्डर गणेशमान सिंहले कुनै बेला भनेका थिए, ‘काठमाडौंमा मैले लौरो उठाए मात्रै पनि जितिन्छ ।’ गणेशमान परिवारबाट यतिखेर उनकै बुहारी सिर्जना सिंह काठमाडौंको मेयर उठेकी छन् । उनलाई गठबन्धनको बलियो साथ छ । ‘लौरो’ भने बालेन्द्र ‘बाहुबली’ को हातमा पुगिसकेको छ । सिर्जना सिंह यो रिपोर्टाज लेख्दा बेलासम्म तेस्रो स्थानमा संघर्षरत छिन् ।
षड्यन्त्र सिद्धान्तलाई समेत आफ्नै जीवनको अभिन्न अंग मान्ने कतिपय विश्लेषकहरूको टिप्पणी र पेटबोलीमा छ– यत्रो ठूलो मिसन बालेन एक्लैले फत्ते गर्न सम्भव छैन । पक्कै पछाडिबाट कोही न कोहीले हात दिएको हुनुपर्छ । कोही भन्छन्, यसमा राजावादीको हात हुन सक्छ । कोही ठान्छन्, यसमा अदृश्य शक्तिको साथ हुनुपर्छ । षड्यन्त्र सिद्धान्त सधैँ बिक्ने, अनि हीनतालाई ‘सेलेब्रेट’ गरिने गाउँ–शहरमा यत्तिको हल्ला चल्नु साधारण कुरै हो ।
कतिपयले सामाजिक सञ्जालमा अन्टसन्ट लेखिराख्ने पूर्वसचिव भीम उपाध्यायलाई बालेनसँग जोडेर हेर्छन् । आज पो थाहा भयो, बालेनको आलोचना गरेको भन्दै अनलाइनखबर डटकमलाई अनफलो अभियान थाल्ने उपाध्यायको अभियानसँग टिम बालेनको कुनै साइनो नै रहेनछ । बरु उल्टै बालेन र कोर टिमले मेन्स रुम रिलोडेड (एमआरआर) मा यसबारे सफाइ दिनुपरेको थियो । खासमा भीम उपाध्यायसँग बालेनको कुनै उठबस छैनरहेछ ।
एउटा कुरा विचारणीय छ । बालेनले सधैँ बोल्दाखेरि ‘हामी, हामी’ भन्छन्, जबकि कि उनी सिङ्गै एक्लो उठेका छन् । उनले भनेका ती ‘हामी’ को को हुन् ?
बालेनको कोर टिममा चार सदस्य छन् । खासमा अरु पनि केही नाम छन्, तर पेसागत व्यावसायिक जीवनका कारण उनीहरूको नाम यहाँ खुलाउन अनुमति प्राप्त छैन । तर जो छन्, उनीहरू आ–आफ्नो करिअरमा छाइरहेका छन् । हालसम्म लो प्रोफाइलमै छन् ।
मुख्य चार नामको यहाँ चर्चा गरौँ ।
एक, कुमार बेन । ललितपुरमा स्वतन्त्र उम्मेदवार उठेका, र सधैँ जित्दै आएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारका छोरा कुमार व्यञ्जनकार सामाजिक काम गर्छन् । स्काउटलगायत संस्थामा आबद्ध छन् । उनलाई कुमार बेन भनेर चिन्ने गरिन्छ । उनी सिनेक्षेत्रसँग पनि सम्बद्ध छन् । यसपालि बालेनको पक्षमा कलाकारहरूको शुभेच्छा तान्न उनको अग्रणी भूमिका छ । बुवालाई भोटमा सघाउन छाडेर यिनी बालेनका पक्षमा फुलटाइम खटिएका छन् ।
दुई, रविन भारती । रविन बालेनसँग स्कुलमा सँगै पढेका सहपाठी हुन् । अहिले धादिङको धुनीबेँसी गाउँपालिका वडा– २ मा स्वतन्त्रबाट वडाध्यक्ष उठेका उनी पहिले एमालेमा सक्रिय थिए । बालेनको रणनीति बनाउन मुख्य भूमिका खेल्नेमध्ये उनी एक हुन् ।
तीन, भिक्टर पौडेल । भिक्टर रुटिन अफ नेपाल बन्दका सञ्चालक हुन् । आरओएनबी भनेर चिनिने यो फेसबुक, ट्वीटर पेजबारे केही समयअघि छुट्टै रिपोर्टिङ गरेको थियो । खासगरी नयाँ पुस्तामा यो पेजको छुट्टै आकर्षण छ ।
चार, गणेश कार्की । कार्की ब्लगर, भ्लगर तथा वातावरण विज्ञान अध्येता हुन् । सामयिक विषयहरूमा लेख्दै आएका उनले आफ्नै पहलमा केही संस्था तथा अभियानहरूसमेत अघि बढाइरहेका छन् । विगत एक वर्षयता उनी बालेनसँग जोडिएर क्रियाकलाप गरिरहेका छन् । बालेनको अभियानमा केही स्रष्टा, अभियन्ताहरूलाई जोड्नमा उनको भूमिका छ ।
यी चारमध्ये केहीले जोड दिएरै भने, ‘भोट गन्ने बेलामा भित्र अरु साथीहरू पनि छन् । व्यावसायिक जीवनका कारण खुल्न चाहँदैनन् । उनीहरूको नाम भन्न नसकिए पनि भूमिका धेरै महत्त्वपूर्ण छ ।’
बालेनले एक्लै काम गर्छन् भन्ने होइन, टिमकै भावनाअनुसार चल्ने हुन् । तर याद रहोस्, यो कुनै बनिबनाउ संगठन भने होइन । केवल नेटवर्क, अर्थात् सञ्जाल हो ।
भीम उपाध्यायले अनलाइन खबरको अनफलो अभियान चलाउँदा बालेनको कोर टिमलाई थाहै थिएन । संगठन भएको भए त यो औपचारिक खण्डन, अनुशासन या कारबाहीको विषय बनिहाल्यो । अनौपचारिक सञ्जालमा कसले कसलाई कारबाही गर्ने ? त्यसैले ‘कोर टिम’ले एमआरआरमा तुरुन्तै लेख्यो । बालेन आफैँले स्पष्टीकरण दिँदै जसले पनि आफ्नो आलोचना गर्न पाउने भनी बोल्नुपरेको थियो ।
तीन सातामै यो कस्तो लहर आयो । जबकि वैशाख दोस्रो साता नलाग्दासम्म शहरमा सबथोक शान्त थियो ।
हामीलाई पत्याउन कठिन होला, बालेनको भित्री टोलीले दिएको जानकारीअनुसार अहिलेसम्म काठमाडौं महानगरको चुनाव प्रचारमा जम्मा डेढ लाख रूपैयाँ मात्रै खर्च भएको छ ।
अचम्म ! जबकि हिजोआज वडा सदस्य जित्न पनि लाखौँ खर्च हुन्छ भन्छन् कतिपय उम्मेदवारहरू नै ।
मतदान केन्द्रबाट निस्केर आएका बालेन टिमका सदस्यहरूले बबरमहलमा कुरा गर्दै भने, ‘तपाईं ढुक्क हुनुस्, त्यस्तो कुनै औपचारिक टिम छैन । हामी सबै स्वयंसेवी आएका हौँ । चिया खाजा खर्च सप्पै हाम्रो आफ्नो पकेटको हो । काठमाडौंमा परिवर्तन आओस् भनेर हामीले सानो भूमिका निभाएको मात्रै हो ।’
उनीहरूले यो पनि सुनाए, ‘खासमा हामीसँग भोट गन्न पुग्ने प्रतिनिधि पनि छैनन् । अनि भएकालाई पनि भोट कसरी गनिन्छ, वास्तवमा थाहा छैन ।’
उनीहरूले अझ यो पनि सुनाए, ‘आज बिहान प्रतिनिधि नपाएर बालेन आफैँ भोट गन्न बसे । तर, कागजमा कसरी भोट काउन्ट गर्ने विधि थाहा नपाएर एमालेका प्रतिनिधिहरूको कागजमा हेर्दै थिए ।’
चार धर्को कोर्ने, पाँचौँ मतमा छड्के धर्को कोर्ने । भन्छन् नि, क्रस हान्ने । तरिका त यही हो । तर भोट आँधीसरि खनिएको छ । खातामा टिप्न भ्याइनभ्याइ ।
हैरान भएर बालेनले यी साथीहरूसँग आज दिउँसो भनेछन् पनि, ‘भोट कसरी गन्नुपर्छ, एमालेहरूलाई आउँदो रहेछ ।’
चुनाव जित्न संगठन चाहिन्छ । यो संसारैभरिको सामान्य नियम हो । केही दिनअघि अमेरिकाको स्थानीय चुनावबारे बाराक ओबामाको संस्मरण छापिएको थियो । पछिल्लो पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ मा लेखिए अनुसार शिकागोको नगर चुनाव हेरेपछि ओबामाले सकारेका थिए, ‘संगठन नभई केही गर्न नसकिने रहेछ ।’
पहिलो विश्वको महाशक्ति राष्ट्रको महाशक्ति डेमोक्रेटिक पार्टीको हालत त त्यस्तो रहेछ । तेस्रो विश्वको महानगर, जहाँ पहिल्यै भीमकाय कांग्रेस र एमालेको दबदबा छ । यस्तोमा ‘एकला चलो रे’ गर्न कति सम्भव होला ?
आफैँलाई पनि अनुभव नभएको, खासमा धेरै पत्यारसमेत नभएको सोही काम फत्ते गर्दैछन्, बालेन्द्र शाह ।
काठमाडौंको नरदेवीमा जन्मेका मधेसी मूलका यी नेपालीले पहिलोपल्ट काठमाडौंमा यति सशक्त छाप छाड्दैछन् । हिजोआज गैरीगाउँमा बस्ने उनको हिपहप संगीतको फ्यान फलोइङ टन्नै छ । मूलधारको समाज र मिडियालाई ढिलोगरी हेक्का हुनु अनौठो लाग्दैन । ¥याप सुन्ने सीमित युवाहरूमा खुम्चिएको उनको परिचयलाई उनको इन्जिनियर अनुभवले विस्तारित त गरिदियो । तर, त्यो चुनावी लहर ल्याउने हदसम्म फैलिइसकेको थिएन । अनि उनको आफ्नो विश्वसनीय व्यक्तित्व बनिसकेको पनि त थिएन ।
यस्तोमा कामयाब बन्न गए– दुईवटा फेसबुक समूहहरू । एमआरआर अर्थात् मेन्स रुम रिलोडेड, र आरओएनबी, अर्थात् रुटिन अफ् नेपाल बन्द ।
पत्रकार र सार्वजनिक व्यक्तिहरूलाई घुस्न रोक लगाइएको एमआरआरमा काठमाडौं बदल्ने अभियानमा सघाउन प्रस्ताव बोकेर स्वयम् बालेन, अनि कुमार बेनलगायत पुगेका थिए ।
एमआरआर, जहाँ पुरुषहरूका अन्तरकुन्तर गन्थनहरू हुने गर्छन् । कहिलेकाहीँ सामाजिक मुद्दाहरू, कहिलेकाहीँ यस्सै ठट्टा रमाइलो चल्छ । बालेनको सहयोगी टिमले एमआरआरमा एउटा प्रस्ताव राख्यो । त्यसको नाम थियो, घरबेटी सम्झाउ अभियान ।
एमआरआरमा आबद्ध डेरावालाहरूलाई त्यसले छोयो । आफ्ना आफ्ना घरबेटीलाई बालेनलाई किन समर्थन गर्नुपर्छ भनेर बुझाउने । यही विन्दुमा डब्लूआरआरसमेत जोडिन पुग्यो । अर्थात् वुमन्स रूम रिलोडेड । महिलाहरूको आन्तरिक फेसबुक पेजमा पनि बालेनकै विषय छाउन थाल्यो । हिजोआजको भाषामा उनको अभियान भाइरल भइहाल्यो ।
ठीक यो विन्दुमा उनीहरूले संगठन होइन, सञ्जालको शक्तिमा विश्वास गरे । यो नेपाली राजनीतिमा साकार हुँदै गरेको नौलो परिघटना थियो । उसो त विगतमा रवीन्द्र मिश्रले आफ्ना ९ लाखभन्दा बढी फलोअरमध्येका काठमाडौंवासीलाई मतदातामा बदल्ने कोसिस नगरेका होइनन्, तर बालेन निकटस्थको सानो झुण्ड रणनीति बनाउन जति माहिर निक्लियो, मिश्र उति काबिल निस्किन सकेनन् । बालेन पक्षले सञ्जाल भरपूर प्रयोग ग¥यो, तर भर्चुअल स्पेसमा सीमित भएर बसेन । समाजसँग प्रत्यक्ष संवाद गर्न निस्कियो ।
चुनाव आउनु कहिलेकहिले, घरदैलो गर्नु पहिले । बालेन घरबेटीहरूसँग एक–एक संवादमा दैलो पस्नुअगावै कतिपय डेरावालाले उनको बारेमा अनौपचारिक परिचय दिइसकेका थिए । यो विशुद्ध व्यक्तिगत र अनौपचारिक पहल थियो, जसबारे कुनै पनि दलका कार्यकर्ता अवगत थिएनन् । अनि जस–जसलाई थाहा थियो, उनीहरूले पनि उत्रो गम्भीरतापूर्वक लिएनन् । ठाने होलान्– यस्ता स्वतन्त्र आइरहन्छन्, गइरहन्छन् ।
‘यसरी घरदैलो गर्ने क्रममा बालेनले स्वयम् केशव स्थापितलाई समेत घरैमा गएर भेटे,’ उनको कोर टिमले सुनायो । त्यो बेलासम्म बालेनलाई स्थापितको घर कहाँ छ भन्नेसमेत थाहा थिएन । घुम्दै जाँदा यत्तिकै पुगेका रे !
यो त रोचकै कुरा भइगयो । एमालेबाट २५ वर्षपछि काठमाडौं मेयरमा दोहोरिन चाहेका स्थापित यतिबेला मतगणना क्रममा उनै बालेनबाट रक्षात्मक बन्दैछन् । उसबेला बालेनले के भने होलान्, अनि स्थापितले के जवाफ दिए होलान् ?
‘तपाईं हाम्रो अभिभावक हो, म महानगरमा मेयर उठ्न लागेको छु, के सुझाव छ बुवा ?’ बालेनले सहयोगको अनुरोधसहित सोधेका थिए । पहिलो भेटमै उनले स्थापितलाई सिधै बुवा सम्बोधन गरे ।
स्थापितलाई मोडल महानगरको भिजन दिन कुनै कागज पल्टाउनुपर्दैन । मोनोरेलदेखि घर भत्काएर सडक फैलाउनेसम्मका सारा योजना भटटट सुनाएछन् । महानगरको फेर्ने यत्राविधि संरचनाबारे स्ट्रक्चरल इन्जिनियर बालेनले सम्झिन पनि सकेनछन् । ‘बाँकी त भाइ, म आफैँ मेयरमा उठ्नेबारे सोच्दैछु,’ स्थापितले टुंग्याएछन्, ‘पार्टीले टिकट दिएछ भने दुई÷चार आइडिया तिमीलाई पनि सुनाऊँला ।’
‘भाइको प्रयास राम्रो छ, कोसिस गर्दै गए एक दिन अवश्य सफल हुनेछौ’ टाइपको गफ गरेर उहाँले बिदा गर्नुभयो, बालेनका ती सहयोगीले हाँस्दै भने ।
तर स्थापितलाई पनि सायद अनुमान भएन, त्यो एक दिन यति छिटोगरी आइपुग्छ ।
आफ्नो टिकट पक्का भएपछि स्थापितले सामुन्नेमा कुनै प्रतिस्पर्धी देखेनन् । उनले आफूले ०५४ सालमा पाएको ८४ हजार भोट सम्झे । निरीह प्रतिस्पर्धीहरू सम्झे । काठमाडौंमा के के गर्ने, के के नगर्ने, योजना सुनाउन थाले । सिधै जित घोषणा गरे हुन्छ, भोटै मागिराख्नुपर्ला र भनी आत्मविश्वासपूर्ण प्रश्न पनि सोधे ।
स्मरणीय छ, उनीमाथि केही गम्भीर नैतिक चारित्रिक विषय यसअघि नै उठिसकेका थिए । यसबारे युवा अभियानकर्मी भावना राउतले सोधेको सामान्य प्रश्नमा उनले जुन उत्तेजनामा बगेर प्रतिवाद गरे, त्यसले उनको छविमा थप क्षति पु¥यायो । काठमाडौंभित्रकै नेवार समुदायले पनि उनीभन्दा योग्य उम्मेदवार नदिएको भन्दै नेतृत्वसँग असन्तुष्टि पोखेको हामीलाई जानकारी प्राप्त थियो ।
पक्कै, एमालेले राम्रो उम्मेदवार खोजी गर्न सक्थ्यो । उपमेयरमा सिफारिस भएका चार महिलाका बीचमा एमाले अध्यक्ष केपी ओलीले बालकोटबाट पाँचौँ नाम छान्न महानगर कमिटीलाई संकेत गरे । स्वतन्त्र उम्मेदवार भन्दै भोट मागिरहेकी सुनिता डंगोलले एमाले उपमेयर प्रत्यासीका रूपमा भाषण गर्दै बालेनको स्वतन्त्र हैसियतमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक गणतन्त्रको संवैधानिक व्यवस्था सम्झाइन् । उनले बालेनलाई गीत गाउन एम्पिथिएटर बनाउने घोषणा गरिन् । सम्भवतः मतगणनाको यही रुझान अन्तिमसम्म कायम रहे त्यो एम्पिथिएटर शिलान्यास बालेन आफैँले गर्नुपर्ने हुन सक्छ । अहिले भन्नु अलिक हतारो हुन्छ ।
सामाजिक न्यायको कुरा गर्ने पार्टी एमालेबाट उम्मेदवार बनेका स्थापितले बालेनको ‘प्रथम नागरिक हैसियत’ माथि प्रश्न उठाउँदै गए । उनले शाही खानदानका नभई बालेन मधेसी भएको चुनौती दिए । बालेनलाई उनले काठमाडौंको ‘शाह’ नभई मधेसी ‘साह’ भएको भन्दै अन्तर्राष्ट्रिय ठगसमेत करार गरे । पछि भेटेका बेला समेत उनले ‘राम्रो इन्जिनियर बन्नू’ भन्दै बालेन आफ्नो पेसामै ठीक रहेको कटाक्ष गरे ।
टिम बालेनले स्थापितलाई यसको जवाफ कडा ढंगले फर्काउन सक्थ्यो । तर, सहयोगीहरूले त्यस बेलाको रणनीति सुनाए, ‘हामीले बालेनलाई प्रस्ट भन्यौँ– व्यक्तिकेन्द्रित आलोचना आरोप फिटिक्कै नगर्नू, खालि आफ्नो योजना मात्रै सुनाउनू ।’ उनीहरूले यो पनि थपे, ‘खासमा बालेन आफैँ सचेत छन्, के बोल्न हुन्छ, के बोल्न हुँदैन भन्ने कुरामा । हामीले अझै बलियो आधार दियौँ ।’
संगठन होइन, सञ्जाल । यो नै बालेनको अग्रताको आधार बन्यो । ड्रेसकोड त्यसअगावै तय गरिएको थियो । कालो चस्मा, टिसर्टबाहिर कोट लगाउने । दाह्री राख्ने । ३२ वर्षे बालेन त्यसअघि बढिजसो अनौपचारिक पोशाकमा बढी देखिँदा रहेछन् । चुनावले हुलिया बदल्न लगायो ।
सिनेक्षेत्रसँग जोडिएका कुमार बेनले निश्चल बस्नेत, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, प्रदीप भट्टराईलगायतलाई भेटेरै बालेनलाई किन सघाउने भन्नेमा त्यसअगावै कन्भिन्स गरिसकेका थिए । सार्वजनिक छवि भएका, अनि सफल करिअर भएका यी नामहरूले बालेनका पक्षमा फेसबुकमा लेखिरहे । युवा समर्थकमा यसको ठूलो प्रभाव प¥यो ।
यो पंक्तिकार वसन्तपुरमा बालेनको घरदैलो तथा कोणसभा हुँदा अवलोकन गर्न दुई साताअघि पुगेको थियो । युवापुस्ताका दर्जनभन्दा बढी ¥यापर तथा कलाकारहरूले गीतसंगीत, कविताका माध्यमबाट बालेनको पक्षमा आवाज बुलन्द गर्दै थिए । हेर्ने दर्शक तथा विदेशी पर्यटकको लर्को थियो । फोटोपत्रकारहरू लाइन लागेर बालेनको फोटो खिच्न बसेका थिए ।
तीन हजारभन्दा बढीको संख्या जुट्यो । बालेनलाई घरदैलो गर्नै मुस्किल भयो ।
तर यो माहौल सहजै तयार भएको होइन ।
बालाजुको घरदैलोमा जाँदा बालेनसँग १० जना मानिस मात्रै थिए । यसरी त हुँदैन भनेर उनै एमआरआरका साथीहरूले आपसमा छलफल गरे । बालेनको आगामी भ्रमण कुन टोलमा छ भन्ने सूचना पहिल्यै राख्न थाले ।
त्यसपछि अलि–अलि गर्दै युवा थपिँदै गए । नाराहरू स्वतस्फुर्त तयार हुँदै गए । जब ढिलोगरी निर्वाचन आयोगमार्फत बालेनले लौरो चिह्न पाए । त्यसपछि तुरुन्तै उनी आफैँले नारा बनाए । ‘बुढाबुढीलाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने ।’
एक जना नाम चलेका युवा कविले नारा बनाउन सघाए, ‘आजसम्म दलले गरे, अब बदल्नेले गरौँ ।’
महानगरको मेयर भइयो भने भ्रष्टाचारीलाई डाम बस्नेगरी लौरो हान्न मेयरले पाउँछ पाउँदैन, बालेनलाई खासमा थाहा छैन । कतिपय राजनीतिक समझ उनीसँग अझै पनि छैन भन्ने कुरा उनीनिकटस्थ स्वयम् सकार्छन् । ‘तर तपाईं के गर्नुहुन्छ, उनको यही ठीकठीकै राजनीतिक ज्ञानलाई नै मतदाताले मन पराइरहेका छन्, बढी जान्नेहरूको काम त देखिइहाले नि,’ बालेनको टोलीका एक सदस्य भन्छन् ।
खासमा हामीले जो–जोसँग कुरा ग¥र्यो, उनीहरू बालेनको जित अन्तिमसम्म सुनिश्चित नहुञ्जेलसम्म आफ्नो सार्वजनिक परिचय दिनै धकाउँछन् । माथि भनिसकियो, यीमध्ये रुटिन अफ नेपाल बन्दले सम्पूर्ण रूपमा बालेनलाई सघाएको छ । तर, यसका सञ्चालकलाई व्यावसायिक सन्तुलन मिलाउने चुनौती छ । उनले सुनीता डंगोललाई उपमेयरमा राम्रैगरी सघाएका छन् ।
बालेनलाई कतै उनी राजावादीहरूबाट सञ्चालित त छैनन् भनी आशंकाहरू उठाइएको छ । काँधमा राष्ट्रिय झण्डा बाँधेर प्रचारमा हिँड्ने उनको शैलीमाथि आलोचना तथा संशय भयो । बालेनको भित्री टोलीका अनुसार राजावादीहरूले उनीसँग जोडिन चाहेका थिए । दरबारकै अति निकटहरूले स्वयम् बालेनसँग सम्पर्क गरेका पनि रहेछन् । बालेनले जब आफ्नो टोलीमा यो सूचना चुहाए, प्रस्ताव सिधै अस्वीकृत भयो । ‘यस्तो भएछ भने म यो अभियानमा हुनेछैन,’ यसो भन्नेहरूको संख्या आधा दर्जन नाघेछ । तिनको भनाईमा बालेन स्वयंलाई पनि राजावादीहरूको राजनीतिमा कुनै रुचि छैन । ‘उनी पृथ्वीनारायण शाह र महेन्द्रप्रति सम्मान गर्छन्, त्यसो त उनी बीपी कोइराला, मदन भण्डारीहरूप्रति पनि आफ्नो श्रद्धा व्यक्त गर्छन्,’ अर्का सहयोगीले भने ।
बालेन टिमको एउटाले चुनावी लोकप्रियताको आइडिया झिकेछ ः ‘पृथ्वीनारायण, महेन्द्र, बीपी, मदन, गणेशमानको शालिकमा बालेनले माला लगाउँदै जाने ।’
सोहीपरी उनले माला लगाउँदै गए । फोटो खिचाउँदै गए ।
‘मैले यो शैली प्रत्युत्पादक हुन्छ, नगरौँ भनेर कडा अडान लिएँ,’ ती सदस्यले भने, ‘सबैको हुन खोज्दा कसैको नि भइन्न । राजनीति गर्ने मानिसले यति कुरो बुझ्नुपर्छ ।’
एमआरआर र डब्लूआरआरमा फोटो हाल्ने योजना तुहियो । अहिले उनीहरू विचार गर्छन्, राम्रै भयो ।
बालेनलाई ठूला दलका केही नेताहरूले सँगै काम गर्न प्रस्ताव लैजान थालेका छन् । बालेन कसैसँग पनि नजिक हुन तयार छैनन् । बरु उनलाई भक्तपुरमा नेमकिपाले गरेको कामले छोएको छ । आजै दिउँसो पनि उनी भक्तपुर पुगेर त्यहाँका नेताहरूलाई भेटे ।
‘बालेन मेयर भए भने भक्तपुर नगरसँग काठमाडौं महानगरले मितेरी साइनो लगाउँछ,’ ती बालेन निकटस्थले सुनाए ।
अहिले पो बालेनप्रति यत्रो आमआशक्ति छ । सधैँ जनलहर हुँदैन । यस्तो बेला कसरी टिकाउने । उही ओबामाले भनेझैँ, संगठन चाहिन्न ?
बालेनले भनेका छन्, ‘संगठन चाहिन्छ भन्ने कुरा अनुभूति हुँदै गएको छ । हामी सल्लाह गरेर टुंगोमा पुग्छौँ ।’
महानगरमा अझै अधिक भोट गन्न बाँकी छ । बालेनको अग्रता अन्तर बढ्दै जाँदो छ । एमालेका मेयर उम्मेदवार केशव स्थापितले हिजो दिउँसो बोलेका थिए, ‘अहिले दिउँसो जेसुकै होस्, राति ८ बजेपछि मेरो अग्रता सुरु हुन्छ । अहिले म होटलमा सुतिरहेको छु । ८ बजेपछि अर्केष्ट्रा सुरु हुन्छ ।’
संगठनबेगरका बालेन समर्थकलाई यो टिप्पणीले राम्रैसँग तर्साएछ । शनिबार राति ठीक ८ बजे राष्ट्रिय सभागृहअगाडि बालेनको पक्षमा जुलुस सुरु भयो । फुपूका छोराको म्यादी पोशाक लगाएर भाइरल भएका भाइको नाममा बालेन समर्थकको जुलुस लाग्यो, ‘सागर, बसन्ते, किस्ने । बालेनले हो जित्ने ।’
बालेनको अग्रता अन्तर बढ्दै गयो ।
अब स्थापितले भित्री नेवारबस्तीमा आफ्नो जादू चल्ने दाबी गरेका छन् । उनले यो पनि भनेका छन्, ‘जित्ने मैले हो । बालेन तेस्रो हुने हो । भित्री नेवारबस्तीको मत गन्न बाँकी छ ।’
साँच्चै, भित्री नेवारबस्तीले के गर्ला ? बालेनका समर्थकहरू उत्सुक अनि चिन्तित छन् ।
तर बालेनको कोर टिम भने पाँचवटा कारणले ढुक्क छ ।
एक, बालेनले ‘काठमाडौं गाउँपालिका’ का सम्पदाहरूबारे जति गहिराइका साथ चासो देखाएका छन्, त्यसले उनीहरूलाई पहिल्यै छोइसकेको छ । बालेनले सिङ्गै शहरलाई म्युजियम मानेर हालको भक्तपुरको शैलीमा विकास गर्ने भनी गरेको बाचालाई नेवाः गुठीका सदस्यहरूले समेत मन पराएका छन् । टिम बालेनका एक सदस्यको दाबीमा, उनीहरूले अरु पदमा आफ्नो निर्णय दिए पनि मेयरमा बालेनलाई सघाउने पहिल्यै वचन दिइसकेका छन् ।
दुई, केशव स्थापितले फेरि मेयर जितेमा पहिलेझैैँ घर भत्काएर ठूलो सडक बनाउँछु भनेको स्थानीयले मन पराएका छैनन् । बागबजारदेखि कमलादी निस्कने बाटो बनाउन घर भत्काउने स्थापितको घोषणालाई बालेनले फेरि पनि विकासका लागि घर भत्काउने भनी नरम प्रतिवाद गरेका थिए ।
तीन, सिर्जना सिंह स्थापितझैँ विवादित नभए पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनकी कमजोर उम्मेदवारका रूपमा टिम बालेनले विश्लेषण गरेको छ । ‘हामीले स्थापितलाई बुवा र सिंहलाई आमा भनी बोलाउन लगाएका छौँ, बालेनलाई । खासमा सिंहलाई हामीले कमजोर प्रतिष्पर्धीकै रूपमा मानेका हौं,’ टिम बालेनका एक सदस्यले भने । उनले यो पनि थपे, ‘सिंहको राजनीतिक सुरुवातको आफ्नै इतिहास भए पनि योपल्ट उनको उम्मेदवारी विशुद्ध पारिवारिक विरासतले भएको हो । कांग्रेसकै समर्थकले त्यो ठानेको हामीले पायौँ ।’
चार, भित्री नेवारबस्तीभन्दा बाहिरका एमाले किल्लाहरूमा बालेनको फराकिलो अग्रता । सुरुवातमा मत गनिएका वडाहरूमै बालेनको लिड भएकाले अब मानिसहरूको ध्यान भित्री बस्तीमा जान्छ । त्यसमा पनि बालेन अगाडि आउन सक्छन् भन्नका लागि टिम बालेनले पाँचौँ कारण दिएको छ ।
पाँच, घरैपिच्छेको नयाँ पुस्ता । नेवाः बस्तीको युवा पुस्तालाई बालेनले जति अपिल गर्न सकेका छन्, स्थापित र सिंहले नेवार समुदायको भईकन त्यति अपिल गर्न सकेका छैनन् । ‘भित्री नेवारबस्तीबाट आउने भोट कि बालेनको हो, कि सुमन सायमीको । स्थापित र सिंहले पाउने चान्सै छैन,’ अर्का सदस्यले आत्मविश्वास सुनाए । एमाले पारिवारिक पृष्ठभूमिका सुमनको घरमा कुनै बेला मदन भण्डारीलगायत शीर्षस्थ एमाले नेता भूमिगत बस्दा रहेछन् । एमाले समेतको मतलाई उनले खिच्दै लगेका छन् । अनि काठमाडौंमा गुठी आन्दोलनलगायत महत्त्वपूर्ण अभियान चल्दा त्यसका अभियन्ता अगुवा रहेछन् सुमन । काठमाडौंमा सडक विस्तार अभियानको समेत विरोध गरेर चर्चामा आएका सुमनले स्थापित र सिंहकै भोट काट्नेमा बालेन पक्ष ढुक्क देखियो ।
आइतबार साँझ यो रिपोर्टज टुंग्याउँदै गर्दा राजधानीमा झमझम पानी परिरहेको छ । समर्थकहरू भिजीभिजी सडकमा उभिएर स्थापितलाई गाली गरिरहेका छन् । बालेनको टिम विश्लेषण गर्दैछ, ‘संगठन भएको भए उनीहरूलाई सम्झाउन सकिन्थ्यो कि । स्थापितको विरोध गर्ने हाम्रो कुनै नीति नै छैन ।’
यस्तै तालले हो भने बालेनको टिमलाई उग्र बनाउँदै जान के बेर ?
अनि गैरदलीय समूहलाई राजनीतिक आचरणभित्र बाँधिराख्न कति सम्भव होला ?
चुनाव हो, अन्तिमसम्ममा पासा पल्टिन पनि सक्छ । अहिलेको रुझानकै आधारमा सम्पूर्ण विश्लेषण गर्नु पक्कै हतारो हुन्छ । बालेनको कोर टिम जतिसुकै आत्मविश्वासी देखिए पनि कताकति चिन्ता भने मडारिएकै देखिन्छ ।
तर संगठन होइन, सञ्जालको भरमा अघि बढिरहेको सानो समूहको भरथेग, अनि मतदाता र समर्थकको ठूलो सहयोगका आधारमा पाएको सुरुवाती रुझानको गहिरो अर्थ छ ।
‘परिणाम के आउला, हेर्दै जाऔँ । तर, अहिलेसम्मको अवस्था हेर्दा हामी जिततर्फ अघि बढ्दैछौँ, यति हो, अहिल्यै फुर्केर घोषणा गरिहाल्ने बेला भएको छैन,’ ती सदस्यले भने, ‘एउटा कुरा भने पक्का छ, हामी जितले मात्तिने छैनौँ । जति भोट बढ्दै जान्छ, तपाईंले उति बालेनको झन् नरम बोली सुन्न पाउनुहुनेछ ।’ (बसन्त बस्नेत/शिलापत्रबाट)