ट्रेण्डिङ

होमपेज / विचार

मन र शरीरको लकडाउन

डा. रमेश के.सी.

नेपालगाथा २०७७ श्रावण २० गते मंगलबार १३:१६:३३ मा प्रकाशित

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि नेपालमा २०७६ चैत्र ११ गतेदेखि गरिएको लकडाउन(बन्दाबन्दी) चार महिनापछि खुलेको छ । यो महामारीको कारण संसारभर ठुलो मानवीय र आर्थिक क्षति भयो र भइरहेको छ । तर यस क्षतिसंगै  विश्वका अधिकांश भागमा गरिएको लकडाउनको कारण प्रकृति भने केही हदसम्म पुरानो स्वरूपमा फर्किएको छ । बढ्दो वायुप्रदुषण र जलप्रदुषणमा गुणात्मक र अनपेक्षित सुधार आएको छ । लकडाउन गरिएको करिब ३० –४० दिनतिर विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरूमा काठमाडौँ लगायत विश्वका विभिन्न प्रदूषित सहरको रूपमा चिनिएका ४० भन्दा बढी सहरहरूमा वायुप्रदुषण व्यापक रूपमा घटेको समाचार र तस्बिर सार्वजनिक भए ।

चार दशकपछि काठमाडौँबाट सर्वोच्च शिखर सगरमाथा देखिएको समाचार र तस्बिर पढ्न र हेर्न पाइयो । “नेचर इज हिलिङ” भन्दै लकडाउन भन्दा पहिलोको सहरको प्रदूषित अवस्थाको र लकडाउनको बेलाको स्वच्छ एवं मनमोहक तस्बिरहरू सामाजिक सञ्जालमा धेरै सेयर भए। विभिन्न सहरहरूमा गरिएका अध्ययन अनुसन्धानहरूले लकडाउनको कारण वायुमण्डलमा पि.एम. २.५, पि.एम. १०, नाइट्रोजनडाइअक्साइड, सल्फरडाइअक्साइड, कार्वनमोनोअक्साइड जस्ता हानिकारक वायु प्रदूषकहरू सामान्य तहमा झरेको देखाएका छन् जुन लकडाउन पूर्व मानव स्वास्थ्यको लागि खतराको तहमा हुन्थे ।लकडाउनको कारण प्रदूषणको मुख्य स्रोतको रूपमा रहेका सवारी साधनहरू, उद्योगधन्दाहरू एवं निर्माण कार्यहरू ठप्प भए जसबाट प्रकृतिले आफूलाई सुद्घिकरण र पुनः मर्मत गर्ने पर्याप्त अवसर पायो। फलतः सामाजिक सञ्जालमा लेखिएझैँ नेचरले आफूलाई आफैले हिल (उपचार) गर्‍यो र ४० दिनमै ४० वर्ष पहिलेको अवस्थामा फर्कियो । यसलाई प्रकृतिले ४० वर्ष देखी दिनानुदिन जीर्ण बन्दै गइरहेको रोग ४० दिनमा आफै ठिक गर्‍यो भन्दा पनि अतिशयोक्ति नहोला ।

तीव्र औद्यौकिकरण र सहरीकरण उन्मुख आधुनिक युगका मानिसहरू पनि प्रकृति झैँ प्रदूषित अथवा रोगी छन्। लकडाउनले प्रकृतिको प्रदूषण निको बनायो । केही हदसम्म आराम दिलायो । पूर्वीय दर्शन वा चिकित्सा विज्ञान अनुसार मानिस पनि यो प्रकृति झैँ पृथ्वी, जल, तेज, वायु र आकाशबाट बनेको पाञ्चभौतिक रचना हो । प्रकृति लकडाउनले आफै हिल (स्वस्थ) भएझैँ मानिस पनि आफै हिल (स्वस्थ र दीर्घायु) हुन सक्छ त ? यस आलेखमा यही प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ ।

सामान्यतया कुनै शारीरिक र मानसिक रोग नलागेको अवस्थाको मानिसलाई “स्वस्थ” भनेर बुझिन्छ । स्वस्थ हुनु स्व (आफ्नो) अवस्थामा हुनु हो । अङ्ग्रेजी भाषामा स्वस्थ हुनु भन्ने बुझाउंन “हेल्दि” शब्द प्रयोग गरिन्छ जुन “हिल” र “दि” मिलेर बनेको छ । यी दुवै शब्दले स्वस्थ हुन शरीर आफ्नो प्राकृतिक अवस्थामा हुनुपर्ने र स्वाभाविक एवं निरन्तर हिल(स्वः मर्मत वा उपचार) भइरहनुपर्ने भन्ने बुझाउँछ । मानव शरीरमा पुराना एवं रोगी कोषहरू नष्ट हुने र नयाँ बन्ने प्रक्रिया निरन्तर प्राकृतिक रूपमा चलिरहेको हुन्छ । यस प्रक्रियालाई “अटोफेजी” भनिन्छ । सन् २०१६ मा शरीर क्रिया एवं चिकित्सा विधाको नोबेल पुरस्कार जापानी वैज्ञानिक योशिनोरी ओसुमीलाई अटोफेजीको प्रक्रिया पत्ता लगाए बापत प्रदान गरिएको थियो। यसले शरीर आफै स्वस्थ रहने वा हिलिङ गर्ने काम गरिरहेको हुन्छ भन्ने पनि बुझाउँछ ।

भगवान् बुद्धले दुःखका कारण र निवारणका उपाय छन् भन्नु भएझैँ मानिस रोगी हुनुको कारण र निवारणका उपायहरू पनि छन्। ब्रह्माण्डमा रहेको सबै जीवजन्तुहरुमध्ये सबैभन्दा रोगी हुने र उपचारको लागि नयाँ –नयाँ आविष्कार र प्रयोग गर्ने एक मात्र प्राणी मानिस नै हो । जल, स्थल र नभमा रहने सबै जीवहरू सामान्यतः निश्चित आयु वाच्ँछन र प्राकृतिक रूपमा मर्छन् । तर अधिकांश मानिसहरू रोगी भई बाँच्न र मृत्युवरण गर्न विवश छन्।

पूर्वीय चिकित्सा विज्ञान अनुसार रोग मानिसले प्रकृतिको नीति नियम (आहार,विहार, विचार ,आचार) विरुद्ध काम गरे बापत पाउने सजाय हो। यो हाल देखिएको नसर्ने एवं मनोदैहिक रोगहरूको महामारी हेर्दा सोही कुरा प्रमाणित हुन्छ । विशेष गरी नसर्ने रोगहरूको सन्दर्भमा कुरा गर्नुपर्दा सबै रोगहरूको कारण प्राकृतिक चिकित्सा विज्ञान अनुसार शरीरमा “विजातिय पदार्थ ”को सङ्कलन हुनु हो। आयुर्वेद चिकित्सा विज्ञानमा सबै रोगको कारणको रूपमा उल्लेखित “आम” शब्दले पनि त्यही विजातिय पदार्थलाई बुझाउँछ । आधुनिक चिकित्सा विज्ञानमा भएका पछिल्ला अध्ययन अनुसन्धानहरूले सबै नसर्ने रोगहरूको कारण “अक्सिडेटिभ स्ट्रेस” हो भन्ने प्रमाणित गरेको छ । वास्तवमा विजातिय पदार्थ, आम र अक्सिडेटिभ स्ट्रेस भाषिक रूपमा मात्र फरक शब्दहरू हुन । तिनीहरूले व्यक्त गर्ने मर्म एउटै छ ।सामान्यतया शरीरमा अक्सिडेन्ट र एन्टि–अक्सिडेन्ट सन्तुलित अवस्थामा रहन्छन् । तर जब शरीरमा अक्सिडेन्डहरुको मात्रा बढ्छ वा एन्टिअक्सिडेन्ट डिफेन्स सिस्टम कमजोर हुन्छ , रोग लाग्ने प्रक्रिया शुरु हुन्छ ।

बाह्य श्रोत जस्तै रेडियसन, रसायन,औषधी ,विषादि,सुर्तीजन्य पदार्थ आदिको प्रयोग र आन्तरिक श्रोत–शरीरमा मेटाबोलिज्म हुने क्रममा सुपरअक्साइड, हाइड्रोजन पेरोअक्साइड, हाइड्रोक्सिल रेडिकल, पेरोक्सिनाइट्राइट आदिजस्ता फ्री रेडिकल्सहरु (अक्सिडेन्ट) निस्कन्छन्। जसलाई शरीरको एन्टिअक्स्डिेन्ट डिफेन्स सिस्टम ( सुपरअक्साइड डिस्म्युटेज, काटालेज, ग्लुटाथियोन पेरोअक्सिडेज, भिटामिन सि,ई) ले निष्क्रिय पार्दछ । यो सन्तुलन कायम रहँदा शरीर स्वस्थ रहन्छ भने बिग्रँदा रोग लाग्दछ । अक्सिडेटिभ स्ट्रेसले शरीरमा क्रोनिक सिस्टेमिक इन्फ्लामेसन, माइटोकोन्ड्रियल डिस्फङसन, इन्सुलिन रेसिस्टान्स्, लिपिड पेरोक्सिडेसन, प्रोटिन र डिएनए ड्रयामेज आदि गर्दछ जुन कोरोनरी हार्ट डिजिज, मधुमेह, मोटोपना, क्यान्सर लगायतका सबै दीर्घ एवं नसर्ने रोगहरूको कारण हो। यसरी रोगको कारणबारे पूर्वीय र पश्चिमी चिकित्सा विज्ञानको पछिल्लो एकै मत भए पनि रोगको उपचार वा हिलिङबारे भने हालसम्म फरक–फरक अवधारणा र प्रयोगहरू छन्।

प्राकृतिक चिकित्सा विज्ञान अनुसार “जीवनी शक्ति” (भाइटल फोर्स) को वृद्धि गर्नु नै रोगको उपचार हो । अथवा जीवनी शक्ति क्षय भयो भने रोग लाग्दछ भने जीवनी शक्ति बढाउँदा त्यसले आफै शरीरको हिलिङ गर्छ । यसैलाई आयुर्वेद चिकित्सा विज्ञानमा “ ओज ” एवं प्राण शब्दको प्रयोग गरिएको छ जसले शरीरलाई रोगबाट बचाउने र रोगी शरीर निको पार्ने काम गर्छ । चिनिया चिकित्सा विज्ञानको “छि” शब्दले सोही कुरा बुझाउँछ । आधुनिक चिकित्सा विज्ञानको “इम्युनिटी” शब्द जीवनी शक्ति, ओज , प्राण, छि शब्दको नजिक छ तर इम्युनिटी शब्दको भन्दा यी अरू शब्दहरूको अर्थ र आयाम निकै व्यापक छ । विश्वमा प्रचलित सबै परम्परागत एवं मौलिक चिकित्सा विज्ञानहरूले शरीर आफैले आफ्नो उपचार गर्न वा स्वस्थ राख्न सक्छन् भन्ने मान्यता राख्छन् । तर त्यसको लागि उपयुक्त र सहयोगी वातावरण भने उपलब्ध गराउनुपर्दछ । आधुनिक चिकित्सा विज्ञानले हिलिङ एजेन्टको रूपमा रोग विरोधी केमिकल औषधीहरू र रोग गराउने कीटाणु प्रतिरोधी भ्याक्सिन अपनाएको छ भने परम्परागत चिकित्सा विज्ञानहरूले शरीरको शुद्धीकरण र जीवनी शक्तिको वृद्धिलाई अगाडी सारेका छन् ।

मानव शरीरमा हुने आन्तरिक गतिविधिहरू प्रकृतिसँग सामञ्जस्यता राख्दै सञ्चालित हुन्छन्। जैविक घडी वा सिर्काडियन रिदमले पनि यही कुरा बताउँदछ । पूर्वीय चिकित्सा विज्ञान अनुसार शरीरमा डाइजेसन (पाचन) र हिलिङ (स्वः उपचार)को निश्चित समय तालिका छ । शरीरमा एक पटकमा यी दुई मध्ये एक मात्र काम सम्पादित हुन्छ । आधुनिक जीवनशैलीमा अभ्यस्त मानिसहरूको आहारको छनौट, आहारको मात्रा र सेवन गर्ने समय मानव पुर्खाहरूको भन्दा विल्कुल फरक छ । मानवको आहार इतिहास हेर्दा आहारको स्रोत जङ्गल (फरेष्ट), जमिन (फिल्ड) हुँदै उद्योग (फ्याक्ट्री) भएको छ । परम्परागत एवं मौलिक आहार लो ग्लाइसेमिक इन्डेक्सयुक्त, लो इन्सुलिनेमिक प्रकृतिका, एन्टि –इन्फ्लामेटरी र उच्च पोटासियम, फाइवर र उमेगा ३ युक्त थिए । तर आधुनिक परिकारहरू हाई ग्लाइसेमिक इन्डेक्स, हाई इन्सुलिनेमिक, प्रो–इन्फ्लामेटरी र उच्च सोडियम, सुगर र उमेगा ६ युक्त छन्। अर्थात् परम्परागत एवं मौलिक आहार लघु ( सजिलै र छिटो पच्ने) थिए भने आधुनिक आहार गुरु (लामो समयमा पच्ने) खालका छन् ।

आधुनिक आहार संस्कृतिमा गुरु आहार दिनमा धेरै पटक(४देखी ६ पटक वा बढी) सेवन गर्ने प्रचलन भएकाले शरीर प्रायः डाइजेशन मोडमा हुन्छ र हिलिङ मोडमा जान नपाउँने वा हिलिङ समय न्यून हुने गर्दछ । वास्तवमा जीवनशैलीजन्य एवं दीर्घ रोगहरूको कारण यही हो । दिनको २४ घण्टामध्ये कति घण्टा पाचन र कति घण्टा हिलिङमा दिन्छौ भन्ने कुराले हाम्रो स्वस्थता र आरोग्यता निर्धारण गर्दछ । शरीरमा पाचन प्रणालीलाई विश्राम दिई हिलिङ आवर प्रदान गर्न पूर्वीय संस्कृतिमा निश्चित अवधिमा उपवास बस्ने प्रचलन छ । सामान्यतया फलफूल ३ घण्टामा, सागपात ६ घण्टामा र अन्न १८ घण्टामा पूर्णरुपमा पाचन एवं अवशोषण भइसक्छन् ।मांसाहार पाचन हुन भने ३ दिन सम्म लाग्दछ । सायद यही कुरा बुझेर हुन सक्छ बिरामी भेट्न जाँदा माछा मासु नलगी फलफूल लाने वा जाउलो खिचडी जस्ता सुपाच्य र पौष्टिक आहार खुवाउने गरिन्छ, जुन छिटो पच्छ र शरीरलाई लामो हिलिङ आवर प्रदान गर्दछ ।चरक संहितामा एकाशनभोजनं सुखपरिणामकराणां श्रेष्ठम् भनेर उल्लेख गरिएको छ । बालबालिका, गर्भवती र कडा शारीरिक श्रम गर्ने व्यक्तिहरूबाहेक सबैले दिनमा एक पटक मात्र मुख्य आहारको रूपमा ( एक दलिय ) अन्न सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणबाट उपयुक्त देखिन्छ । आयुर्वेद चिकित्सा विज्ञानमा “लङ्लनं परम औषधम्” अर्थात् उपवास सबैभन्दा उत्तम औषधी हो भनिएको छ ।यसै गरी कालभोजन (सही समयमा आहारको सेवन) आरोग्यताको लागि सर्वोत्कृष्ट बताइएको छ ।

सामान्यतया उपवास वा फास्टिङ भन्नाले निश्चित समयसम्म खाइआएको आहार नखानु भन्ने बुझिन्छ । उपवास शब्द “उप” र “वास” मिलेर बनेको छ जसको अर्थ (प्रकृति/आफ्नो) नजिक बस्नु भन्ने हुन्छ । उपवास निराहार, जलाहार, रसाहार, फलाहार वा कल्पाहार सेवन गरी छोटो, मध्यम वा लामो अवधिसम्म बस्न सकिन्छ । संसारका सबै धर्म सम्प्रदायहरूमा उपवासको प्रचलन छ । सायद यस्का फाइदाहरूको कारण सबैले निरन्तर गरुन् भनी तत्कालीन समयमा धर्मसँग जोडिएको पनि हुन सक्दछ ।चिकित्सकीय लाभको लागि उपवास गर्दा जानकार चिकित्सकसँग सल्लाह गरी बस्नु उचित हुन्छ ।

उपवासबारे आधुनिक चिकित्सा विज्ञानमा धेरै अनुसन्धानहरू भइरहेको छन् । जसमध्ये टाइम रेस्ट्रिक्टेड फिडिङ वा इन्टरमिटेन्ट फास्टिङ एक हो । यसमा दिनको २४ घण्टामध्ये सामान्यता ८ घण्टामात्र आहार सेवन (फिडिङ विन्डो) गरिन्छ जसबाट १६ घण्टाको फास्टिङ वा हिलिङ विन्डो प्राप्त हुन्छ । माथि शीर्षकमा प्रयोग गरिएको “शरीरको लकडाउन”शब्द यही फास्टिङ (उपवास) वा निश्चित समयसम्म आहार सेवन नगर्ने भन्ने कुरा बुझाउन साङ्केतिक रूपमा प्रयोग गरिएको हो ।

इन्टरमिटेन्ट फास्टिङ जीवनशैलीजन्य रोगहरूको रोकथाम र उपचारमा निकै महत्त्वपूर्ण भएको अनुसन्धानहरूले प्रमाणित गरेको छन् । प्रसिद्ध सेल मेटाबोलिज्म जर्नलमा प्रकाशित मुसामा गरिएको एक प्रयोगात्मक अनुसन्धान अनुसार आहारको सेवन समयले स्वस्थ मुसालाई रोगी र रोगी मुसालाई स्वस्थ बनाउन सकिने पाइएको थियो । अनुसन्धानकर्ताहरुले एउटै र उही क्यालोरीयुक्त आहार एउटा मुसालाई स्वतन्त्र रूपमा (१६–१८ घण्टासम्मको अवधिमा ) खान दिए भने अर्को मुसालाई ८देखी १० घण्टाको अवधिमा खान दिए ।

१२ हप्तामा पहिलो मुसाले मेटाबोलिक सिन्ड्रोम ( मोटोपना, उच्च रक्तचाप, मधुमेह र लिपिडको समस्या) देखायो भने दोस्रो ८ देखी १० घण्टा मात्र खाने मुसा स्वस्थ रह्यो । फेरी पहिलो रोगी मुसालाई ८ देखी १० घण्टाभित्र सोही आहार सेवन गराउँदा पुनः स्वस्थ भयो । इन्टरमिटेन्ट फास्टिङले मोटोपना घटाउने, अक्सिडेटिभ स्ट्रेस घटाउने, इन्फ्लामेटरी मार्करहरु कम गर्ने, इन्सुलिन सिन्सेटिभिटी बढाउने, पारासिम्पाथेटिक टोन बढाउने, दिमागको कार्य क्षमता बढाउने, उच्च रक्तचाप एवं मधुमेह नियन्त्रण गर्ने, रोग प्रतिरोधी क्षमता बढाउने,हर्मोनल सन्तुलन कायम गर्ने, शारीरिक एवं मानसिक स्फूर्ति बढाउने लगायत अन्य विभिन्न इन्फ्लामेटरी र डिजिनेरेटिभ डिजिजहरुबाट बचाउने र निको पार्नेसमेत गर्दछ ।

योग एवं आयुर्वेद विज्ञान अनुसार मानव शरीर अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष मिलेर बनेको छ । नसर्ने रोगहरू मनोदैहिक (साइकोसोमाटिक) रोग हुन जुन मनको तहमा उत्पन्न भई शरीरको तहमा व्यक्त हुन्छन् ।यसर्थ यी रोगहरूको रोकथाम र उपचार मनको तहमा गर्नुपर्दछ । मन सुख, दुःख अनुभव गर्ने इन्द्रिय हो । चरक संहितामा उल्लेख गरिए अनुसार मनले इन्द्रियहरू र स्वयं आफूलाई नियन्त्रण गर्ने, उह्य (यो काम गर्दा यो फल हुन सक्छ भनी बुझ्ने) र विचार (यसो गर्दा काम ठिक हुन्छ र हुँदैन भन्ने छुट्ट्याउने ) काम गर्दछ । यस्तो महत्त्वपूर्ण कार्य सम्पादन गर्ने मन भने प्रायः चञ्चल, अस्थिर, नकारात्मक संवेगग्रस्त र वर्तमानमा भन्दा विगत र आगतमा अलमलिने प्रकृतिको छ । पतञ्जलिले योगलाई योगश्चित्तवृत्तिनिरोधः अर्थात् मनका वृत्तिहरूलाई रोक्नु नै योग हो भनी परिभाषित गरेका छन्।

यसरी हेर्दा मनको लकडाउनको साधन योग हो । योगका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ अङ्गहरू छन्। केही मानिसहरूमा आसनको अभ्यास नै योग हो,योग आध्यात्मिक साधना मात्र हो वा ध्यान (मेडिटेसन) फरक हो भन्ने जस्ता बुझाई रहेको पनि पाइन्छ जुन गलत छ। स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा नियमित योगाभ्यास एवं यौगिक जीवनशैली (अष्टाङ्ग योगाको अभ्यास, षटकर्मद्धारा शरीरको शुद्धीकरण, सात्त्विक आहार सेवन आदि )को पालनाले स्वस्थता र आरोग्यता दिने देखिन्छ । मनोदैहिक रोग(साइकोसोमाटिक डिजिज) को मुख्य कारण तनाव हो । तनाव शरीरले प्रतिकुल परिस्थितिमा देखाउने प्रतिक्रिया हो । तनावको अवस्थामा शरीरमा विशेषतः हाइपोथालामो –पिट्युटरी –एड्रिनल एक्सिस र सिम्पाथेटिक नर्भस सिस्टम बढी सक्रिय हुन्छ र कोर्टिसोल, इपिनेफ्रिन, नर–इपिनेफ्रिन,ग्लुकागोन, रेनिन, भासोप्रेसिन जस्ता रसायनहरूको बढी मात्रामा स्राव हुन्छ । यी रसायनहरूले आकस्मिक प्रतिकुल परिस्थितिमा शरीरलाई भाग्न वा भिड्न (फाइट अर फ्लाइट)को लागि तयार पार्छन् । तर यो अवस्था निरन्तर र दीर्घकालीन रूपमा रहेमा प्रत्युपादक बन्दछ ।

नियमित योगाभ्यासले शरीरमा खुसी गराउने रसायनहरू अक्सिटोसिन, इन्डोरफिन, डोपामिन आदि बढाउने र तनाव हर्मोन कोर्टिसोल लगायत हानिकारक साइटोकाइनहरु एवं इन्फ्लामेटरी रसायनहरू घटाउने अनुसन्धानहरूबाट प्रमाणित भएको छ । इन्टरनेशनल जर्नल अफ योग मा २०१८ मा प्रकाशित भएको एक अनुसन्धान अनुसार १२ हप्तासम्मको नियमित योगाभ्यासले अक्सिडेटिभ स्ट्रेस निकै कम गरेको देखाएको छ । कन्ट्रोल ग्रुपको तुलनामा भन्दा योगाभ्यास गर्नेहरूमा मालोनडिअल्डिहाइड ( अक्सिडेटिभ स्ट्रेसको एक सूचक ) ५ गुणा घटेको र सुपर अक्साइड डिस्म्युटेज, काटालेज, ग्लुटाथियोनजस्ता एन्टि अक्सिडेन्ट भने ५ देखी १२ गुणासम्म बढेको देखाएको छ । त्यस्तैगरी वायोलोजिकल रिसर्च फर नर्सिङमा प्रकाशित एक अनुसन्धान अनुसार ६ महिनाको नियमित योगाभ्यासले दीर्घ रोगी व्यक्तिहरूमा इन्फ्लामेटरी मार्करहरु – सि रियक्टिभ प्रोटिन, इन्टरल्युकिन ६, ट्युमर निक्रोसिस फ्याक्टर अल्फा घटेको पाइएको छ ।यसरी हेर्दा योगले स्वास्थ्य रक्षाको साथै इन्फ्लामेटरी ,डिजिनेरेटिभ एवं साइकोसोमाटिक डिजिजहरुको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रस्ट हुन्छ ।

हठयोग प्रदिपिकाको अनुसार मन र श्वास सम्बन्धित छन् र श्वास (प्राणायाम) द्वारा मनको नियन्त्रण गर्न सकिन्छ । योगाभ्यासले श्वासप्रश्वास, मुटु एवं रक्त नली, स्नायु प्रणाली , इम्युन सिस्टम, हर्मोनल सिस्टम जस्ता स्थूल शरीरका भाग मात्र नभई पञ्चकोष वा सूक्ष्म र कारण शरीरमा नै सकारात्मक प्रभाव पार्दछ ।

निष्कर्षमा भन्नुपर्दा मानिस स्वभावतः स्वस्थ (हुनुपर्ने ) प्राणी हो। तर गलत जीवनशैलीको कारण रोगी बनेको छ । प्रदूषित सहरहरू लकडाउनले स्वच्छ भएझैँ उपवास र योगरुपी लकडाउनको विधिवत् पालन गरेमा मानिस स्वयंको रोगी शरीर पनि आफै निरोगी बन्ने क्षमता राख्दछ । प्रशासनबाट ।

डा. के.सी. आयुर्वेद चिकित्सक एवं जनस्वास्थ्य विज्ञ हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top