होमपेज / समाज
विराटनगर । नेपालका विश्वविद्यालयहरुमा सामाजिक कार्यमाअभ्यास शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक कार्य विषयमा अध्यापनरत शिक्षकहरुका लागि १० दिने तालिम आइतबारदेखि विराटनगरमा शुरु भएको छ ।
तालिममा पूर्वाञ्चल विश्वविद्यालयलको समन्वयमा १० जना, त्रिभुवन विश्वविद्यालयबाट १३ जना र मध्यपश्चिम विश्वविद्यालयबाट ८ जना गरी ३१ जना शिक्षकहरुको सहभागिता रहेको छ । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले आयोजना गरेको सो कार्यक्रमलाई युरोपियन युनियनले सहयोग गरेको छ ।
युनिभर्सिटी अफ इष्टर्न फिनल्याण्डाको समन्वयमा सञ्चालित सो कार्यक्रममा चेक गणतन्त्रको ओस्ट्राभा युनिभर्सिटी, स्पेनको नेसनल युनिभर्सिटी अफ डिस्टान्स एजुकेशन, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र मध्य पश्चिम विश्वविद्यालय साझेदार संस्थाको रुपमा रहेका छन् ।
कोशी प्रदेशका सामाजिक विकाश मन्त्री रामप्रसाद मेहताले कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालयहरुले व्यवहारिक शिक्षालाई जोड दिन आग्रह गरे ।
उनले शिक्षाका लागि विदेशीने समस्या विकराल बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री मेहताले हाम्रा विद्यार्थीहरुलाई नेपालमै बसेर पढ्ने वातावरण सिर्जना गर्न र पढ्नका लागि विदेशी विद्यार्थीहरुलाई नेपाल आउने वातावरण बनाउने तर्फ विश्वविद्यालयको ध्यान जानुपर्नेमा जोड दिए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु कुमार थपलियाले यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै विश्वविद्यालयका प्राध्यापकहरुको क्षमता अभिवृद्धि गरेर शिक्षाको गुणस्तर बढाउन पूर्वाञ्चल विश्वविद्यालय प्रतिवद्ध रहेको विचार राखे ।
त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एशियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक डाक्टर मृगेन्द्र बहादुर कार्कीले नेपालमा सामाजिक कार्य शिक्षाको आफ्नै मौलिक पहिचान रहेको बताए ।
परियोजनाकी अन्तर्राष्ट्रिय निर्देशक प्रोफेसर हङ्लिन चेनले परियोजनाले नेपालका सामाजिक कार्यका प्राधयापकहरुको अभ्यास शिक्षाको क्षमता अभिवृद्धि गर्ने जानकारी दिए ।यो तालिम लिएका शिक्षकहरुले विद्यार्थी र सामाजिक कार्य अभ्यास गर्ने संघ संस्थाहरुसँग मिलेर काम गर्नेछन् ।
पूर्वाञ्चल विश्वविद्यालयले विगत एक दशकदेखि सामाजिक कार्यको स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउँदै आएको छ । तालिम असार ९ गतेसम्म सञ्चालन हुनेछ ।