ट्रेण्डिङ

होमपेज / विचार

कोरोनाले ब्युँताएका केही सकारात्मक पक्षहरु

दिनेश दाहाल

नेपालगाथा २०७६ चैत्र ३० गते आइतबार २३:३२:४५ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभाव र यसले निम्त्याएको भयावह वर्तमानका बारेमा हामी  सबैलाई अवगत नै छ । यस विषम परिस्थितिमा आफ्नो ज्यानको जोखिम मोलेर निरन्तर जनताको सेवा र सुरक्षामा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा लक डाउनको इमान्दारीपूर्ण पालना गरी यस महामारीविरुद्धको अभियानमा साथ दिने आम जनता धन्यवादका पात्र हुन् । विश्वका विकसित राष्ट्रहरुलाई आच्छु–आच्छु बनाएको वर्तमान परिपेक्ष र विश्व स्वास्थ्य संगठनले उच्च जोखिमयुक्त ठह¥याएको हाम्रो देशले अनुसरण गरेका अहिलेसम्मका उपायहरु सन्तोषजनक नै भन्नुपर्छ । तर अहिले नै सबै ठीक भइसकेको छ भन्नु मुर्खता नै हुने छ । 
कोरोनाको माहमारीले विश्वभर हालसम्म गरेको असर र आउँदा दिनमा अपेक्षित असरले सम्भवतः धेरै ठूलो क्षति निम्त्याउने आँकलन हामी सहजै गर्न सक्छौं । यस बिषम परिस्थितिमा विभिन्न नकारात्मक प्रतिफल हावी हुनेछन् र यसमा कुनै दुई मत नहोला तर आज हामी कोरोना माहमारीले नेपाललाई दिएका केही सकारात्मक पक्षहरु केलाउने प्रयास गर्ने छौं । 
क) सामाजिक पक्ष
हाम्रो समाज प्राचीनकालदेखि नै आपसी मेलमिलाप र सहार्दपूर्ण व्यवहारले चल्दै आएको हो । सुख, दुःखमा एक अर्कालाई साथ दिने अनि सामाजिक कुरितिसँग मिलेर सामना गर्ने हाम्रो युगौं युगदेखि बसेको रिति हो । केही अपवाद छोड्ने हो भने यस्ता अनगिन्ती अवस्थाहरु छन् । जसले आफ्नो सामाजिक भूमिका निर्वाह गर्ने कुरामा नेपालीलाई एकजुट बनाएका छन् । चाहे २०७२ सालको बिनाशकारी भूकम्पका दौरान देखिएको स्वयंसेवी भाव र त्यस पश्चात् पुनर्निर्माणमा देखिएको ऊर्जाशील योगदानहरु हुन् । चाहे मित्र राष्ट्र भारतद्वारा लादिएको अघोषित नाकाबन्दीको डटेर गरेको सामना होस् । नेपालीहरुको सहनशीलता र सहयोगी मनोभावनाले निकै ठूलो भूुमिका खेलेको हो । ठीक यसरी नै अहिलेको अवस्थामा लकडाउनको पालना गरी राज्यलाई, समाजलाई र स्वयम् आफूलाई सुरक्षित राख्ने प्रयत्नले हामीलाई सामाजिक सुदृढीकरणमा ठूलो टेवा पुगेको छ । 
यसरी सामाजिक व्यवहारमा सुधार आउने र सहयोगको भावना विपद्को अवस्थामा मात्र नभई सामान्य अवस्थामा पनि राख्ने हो भने वास्तवमै हाम्रो नेपाली समाज सुखी हुने बाटोमा अग्रसर रहने निश्चित छ । सुख कुनै भौतिकवादी चिन्तनले होइन सेवा र सेवामुखी भावनाले दिने आत्म सन्तुष्टीको उपज हो ।  हाल देखिएको सामाजिक उत्तरदायित्व र सामाजिक सद्भावना हाम्रा आउँदा पुस्ताका लागि अद्भुव र अचुक आचरण बन्न सक्छन् ।  
ख) राजनीतिक पक्ष
नेपालको इतिहास अनेकौं राजनीतिक घटनाक्रमले सिंगारिएको छ र यिनै घटनाक्रम, नेपाली जनताको पटक–पटकको बलिदान, त्याग र संघर्षका अनेकौं महान अध्यायका कारण अहिलेको राज्य स्थापित भएको छ । आ–आफ्ना गौरवशाली इतिहास बोकेका राजनीतिक दलहरुको भिन्नै विचार र दर्शन छन् । मुलतः हरेक दलहरुको कुनै मुद्दा वा विषयवस्तु प्रतिको धारणा फरक–फरक छ्न । यो स्वभाविक पनि हो । राज्यको सञ्चालन कसरी गर्नुपर्छ, राज्यले के–कस्ता कुराहरु समेटेर देश र जनतालाई चलायमान राख्नुपर्छ भन्ने जस्ता अनेकौं कुराहरुमा राजनीतिक दलहरुको आफ्नै मौलिक अवधारणा छन् । तर अहिलेको विषम परिस्थितिमा, कोभिड १९ विरुद्धको लडाइँमा सबै दल एक ठाउँमा उभिएर सरकारको सकारात्मक कदमलाई साथ दिइरहेका छन् । अनेकौं सल्लाह सुझाव प्रदान गरी सरकारलाई यस लडाइमा मनोबल उच्च राख्ने कार्य गरेका छन् र निरन्तर होशियार हुने वातावरणसमेत सिर्जना गरेका छन्, जुन निकै स्रहानिय छ । 
कोरोनाको महामारीले नेपालमा संघीयता सफल हुन्न भन्नेहरुलाई दरिलो थप्पड हानेको छ । अहिलेको अवस्थामा केवल केन्द्रिकृत शासन व्यवस्था हुन्थ्यो भने कस्तो असर हुन्थ्यो भन्ने विषय अर्को पाटो रहला तर अहिलेको अवस्थामा कोरोना भाइरसको नियन्त्रणमा स्थानीय तहको घर बाहिर निस्कन नदिन र विदेशबाट आएकाको पहिचान गरी विवरण लिने दुई भूमिकामा निर्णायक भएको देखियो । स्थानीय तहको अहिलेको भूमिकाले देशलाई यस जोखिमबाट बचाउन निकै नै महत्वपूर्ण योगदान गर्नेछ र नेपालमा सफल संघीयता कार्यान्वयनका लागि उदाहरण बन्नेछ । 
ग) आर्थिक पक्ष
कोरोना महामारीले विश्वभर आर्थिक असर गरिरहेको छ र यसका असरहरु बढ्ने निश्चित छ । नेपालमा पनि अबका केही आर्थिक वर्षहरुमा कोरोनाको ह्याङओभर देखिने छन् । तर यो सँगै नेपालको अर्थतन्त्रमा नयाँ आयामहरु थपिने छन् । वित्तीय संघीयता कार्यान्वयनका लागि स्थानीय तहले अब आत्मनिर्भरताको बाटो समात्नै पर्ने हुन्छ । यसका लागि हरेको स्थानीय तहले उत्पादनमा जोड दिने बाहेक अर्को विकल्प देखिदैंन । आफ्नो माटो सुहाउँदो  मौलिक वस्तु तथा सेवा उत्पादन गर्ने, यस उत्पादनलाई बजारीकरण गर्ने र यसका निम्ति पूर्वाधार निर्माणमा जोड दिने नै अब हरेको स्थानीय तहको मुल उद्देश्य हुन जरुरी छ । र, यो सब गर्नका लागि नेपालको संविधानले स्थानीय तहलाई प्रयाप्त अधिकारले सुसज्जित गरेको छ । 
देशले अवलम्वन गरेको सुख र समृद्धिको यात्रामा स्थानीय तहले हजारौं रोजगारी सृजना गरी, आफ्नो र आफ्नो परिवारलाई दुई छाक खुवाउन देशमा अवसर नपाइ कालापहाडमा हड्डी घोट्न जानेहरु, मरभूमिमा रगत पसिना बगाउन पुग्नेहरु र देशमा उच्च शिक्षा हासिल गरी आफ्नो बौद्धिकता बेचेर  देश बनाउनको साटो विदेशी भूमिमा अवसर खोज्न बाध्य भएका शिक्षित युवाको पलायन रोक्न सक्छ । यसका लागि हरेक स्थानीय तहले कार्यकर्ता पोस्ने वितरणमुखी कार्यहरु बन्द गरी आफूलाई आर्थिक इकाईको रुपमा स्थापित गर्ने योजनाहरु आफ्नो वार्षिक कार्यक्रममा समावेश गर्दै सुशासनयुक्त ढंगले कार्वान्वयन गर्ने क्षमता बनाउन सक्नुपर्छ । 
(दाहाल, गुराँस गाउँपालिका दैलेखमा लेखा अधिकृत पदमा कार्यरत छन् ।)
 ट्वीटर-@mrdinesh_dahal

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top