होमपेज / विचार
नेपाल विश्व मानचित्रमा एउटा सानो तथा विकासका हरेक सुचकहरुमा न्यून वृद्धि भएको मुलुक हो । यसका आफ्नै जगडिएका समस्या छन् जुन समाधान गर्न अहिले २१औं शताव्दीमा पनि सकिरहेको छैन । समाधानका लागि कहिले राजनीतिक कारण हो भने कहिले आर्थिक कारण हो भने कहिले सामाजिक कारण हो कहिले २ सय ४० वर्षे राजतन्त्र हो भने कहिले जहानियाँ राणा शासन हो । विकास नहुनुको प्रमुख कारण हो सामाजिक र आर्थिक पक्ष हो भनेर आर्थिक सामाजिक क्षेत्रका विकृतिविरुद्ध व्यापक रुपमा लगानी र नीतिगत वहस भए साथै दीर्घकाल, अल्पकाल र वार्षिक योजना तथा रणनीति तयार भई लागू गरिए केही वर्षपछि परिणाम र प्रतिफल पनि सकारात्मक रहे तर दीगो रुपमा जान सकेको छैन यस्तै खिचातानी रोमलिएको नेपाल अहिले हाम्रो नियति बनेको छ ।
राजनीतिमा खारिएका धेरै विज्ञले विकास नहुनुमा निरंकुश तथा सामन्तवादी राज्य सत्ता हो यसको समुल नष्ट नगरिकन विकासको कल्पना गर्न सकिदैंन भनेर घोक्रो सुक्ने गरी भाषण गरे अनि नागरिक होला भनेर हातमा हात, काँधमा काँध मिलाएर साथ दिए । सो समयमा धेरै राजनीति व्यवस्था परिवर्तन भए तर बिडम्वना नागरिकका गास, बास, आर्थिक परनिर्भता, सामन्ती सोच संस्कार र व्यवहारमा विसको उन्नाईस हुन सकेन कारण राजनीतिक दल र सरकारको शासकीय सोच हो ।
जबसम्म शासकीय सोचमा परिवर्तन आउँदैन तबसम्म देशले विकास र समृद्धिले पनि फड्को मार्न सक्दैन । विकास भनेको सरकार एक्लैले एउटा क्षेत्र, समुदाय, एकल पक्षको मात्र गरेर हुने कुरा होईन । यो सबै पक्षको समान किसिमले परिवर्तन हुने र अनुभुति गरिने कुरा हो । माथिका कुरालाई स्मरण गदै अहिले विश्व कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । एक प्रकार विश्व ठप्प छ । २ सय ९ भन्दा वढी मुलुक कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रताडित छन् । करिब १ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने १८ लाखभन्दा संक्रमित भएका छन् ।
अमेरिकार युरोपका देशहरु सो माहामारीबाट वढी प्रभावित छन् । भने हजारौं नागरिक ज्यान गुमाउनु परेको छ । सरकार र नागरिकहरुको पहलकदमीले नेपालमा यसको असर कम छ तर खतरामुक्त भने भएको छैन । अहिलेसम्म ९ जना (कोभिड–१९) पोजेटिभ देखिएका छन् । एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ८ जना सामान्य अवस्थामा रहेका छन् । करिब ४ हजारभन्दा बढी कोरोना परिक्षण नेगेटिभ आएका छन् । कोरोना शंका लागेका व्यक्तिमा व्यापक परीक्षण गर्ने सरकारको योजना रहेको छ ।
कोरोना मान्छेबाट मान्छेमा सर्ने एक नयाँ प्रजातीको भाइरस हो । यसको रोकथाम गर्ने नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा वा हाच्छुउँ गर्दा टिसी पेपर वा कुहिनाले नाक छोप्ने, एक मिटरभन्दा बढी दुरी कायम गरी हिड्ने, भिडभाड नगर्ने, शंका लागेमा वा रुघासहित ज्वरो आएमा, खोक्दा छाती दुःखेमा, स्वास फेर्न गारो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिने गर्नुपर्छ । कोरोना भाइरस नियन्त्रणका लागि सबैभन्दा राम्रो उपाय भनेको लकडाउन वा मानिसको आगमन रोक्ने वा जो जहाँ छ त्यही बसेर सुरक्षित हुने हो । लकडाउन कसैको रहर होइन, यो मानव जीवन रक्षाको लागि अपरिहार्यता हो ।
यसलाई हामी सबै मिलेर परास्त गर्नुको विकल्प छैन । तर सरकारले लकडाउन अवधिमा गर्नुपर्ने कार्यशैली भने एकदम सुस्त र फितलो भएता पनि निराश हुने अवस्था भने छैन । लकडाउनको समयमा सरकारले के गर्ने भन्ने बारे निम्न सुझाव उल्लेख गरिएको छ ।
१) यो कोरोना भाइरस महामारी रुपमा विश्व भरी फैलिरहेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकार एक्लैले मन्त्रालय एक्लैले, मन्त्री एक्लैले, पार्टी एक्लैले गर्न सक्दैन । त्यसैले सयौंको मात्रामा स्थापना भएका र जनताको जीवनस्तरमा आमुल परिवर्तन गर्ने पवित्र उद्देश्य बोकेका राजनीतिकदलहरु एक आपसमा मिलेर कोरोना भाइरस यो सबै मानव जातीको शत्रु हो यसलाई परास्त गर्नु हामी राजनीतिक दलको साझा दायित्व हो भनेर अगाडि बढ्नुपर्ने हुन्छ । जसको नेतृत्व, लचतकता र विश्वासको वातावरण सत्तारुढ दलले गर्नुपर्ने देखिन्छ ।
२) सरकारीले हजारांैको मात्रा स्थापना भएका नागरिक तथा गैरसरकारी संस्थाहरु, निजी क्षेत्र र संचार जगतलाई विश्वासमा लिएर कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणसम्वन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सो संयन्त्रहरु मार्फत परिचालन गर्दा धेरै प्रभावकारी र दीगो हुन्छ ।
३) सरकारले शासकीय शैली र सोचमा परिवर्तन गरी कसैलाई नचिडाएर, कम बोलेर, धेरैभन्दा धेरै नागरिक तथा विज्ञहरुको आवाजहरुलाई आत्म साथ गर्दै वृहत कार्य योजना निर्माण गरी प्रभावकारी कार्यान्वयनका लागि जनताको असली सहजकर्ता तथा अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ ।
४) लकडाउनको समयमा घरमा सुतेर बस्ने होइन । लकडाउन भनेको नागरिकलाई आफ्नो घरघरमा राखी आफ्ना संयन्त्रहरुलाई व्यापक रुपमा परिचालन कोरोनाविरुद्धको लडाईलाई रणनीतिक रुपमा व्यापकता दिने हो । सो समयमा कोरोना भाइरसका शंकास्पद व्यक्ति पहिचान गर्ने, आइसोलेसनमा राख्ने, परीक्षण र उपचार पद्धतिलाई व्यापक दिनु पर्दछ ।
५) यस अवधिमा अन्तरराष्ट्रिय सीमा (हवाई तथा स्थल) लाई कडाईका साथ लागू गर्ने र सो स्थल सिमानामा रहेको आफ्ना नागरिकलाई उचित रुपमा व्यवस्थापन गरी घरफर्किने वातावरण यथासीघ्र बनाउनुपर्ने हुन्छ ।
६) यस महामारीमा वा संकटको अवस्थामा हुने आर्थिक चलखेल, अपारदर्शीता, अनियमितता, भ्रष्टाचार, कालावजारीविरुद्ध सरकारी संयन्त्र पारदर्शी रुपमा परिचालन गरी कडाईका साथ लागू गर्नुपर्छ ।
७) देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुर गरेर बसेका विपन्न नागरिक तथा समुदाय लकडाउनका कारणले अहिले भोक भोकै र सडकमा अलपत्र परेको अवस्था छ । सो कुरालाई गम्भीर रुपमा ग्रहण गरी राहत वितरण योजनालाई प्रभावकारी कार्यान्वयनका लागि नागरिक संस्था, स्थानीय सरकार र निजी क्षेत्रलाई परिचालन गर्ने वातावरण तयार गर्ने ।
८) लकडाउनको समयमा खाद्यान्य, खानेपानी, औषधि, ग्याँस, फलफूल, तरकारी, दूधलगायत अत्यावश्यक वस्तुहरुको व्यवस्थापन, परिचालन तथा वितरणसम्बन्धी कार्य योजना विज्ञको सहभागितामा तयार गरी लागू गर्ने ।
९) कार्यालय तथा परियोजनाको कामले फिल्डमा गएका सयौं सरकारी, गैरसरकारी, बैकिङ, निजी क्षेत्रका कर्मचारी तथा नागरिकहरु अहिले देशका विभिन्न जिल्ला र स्थानमा अलपत्र अवस्था रहेका छन् सो अलपत्र परेका नागरिकहरु लगत संकलन गरी लकडाउनको नियमलाई आत्मसाथ गरी यथासक्य आफ्नो घरमा फर्किने व्यवस्था मिलाउन जरुरी देखिन्छ ।
१०) देशमा संकट आइपरेको बेलामा मानव अधिकारसम्बन्धी धेरै घटना घट्ने तथा उलंघन हुनसक्ने सम्भावना हुन्छ र घटिरहेका पनि छन् । सो न्यूनीकरणका लागि सरकार, मानवअधिकार आयोग, नागरिक समाज र संचार जगतलाई लकडाउनको सीमाभित्र रही अनुगमन संयन्त्र गठन तथा परिचालन गर्नुपर्छ ।
११) कोरोना भाइरसलाई नेपालको माटोमा नजन्मेको हुनाले र यो आयातित रोग तथा मानिसबाट मानिसमा सर्ने भाइरस जसलाई मानिसलाई मृत्युसम्म गराउने भएको अन्तरराष्ट्रिय सीमा यातायात (हवाई र स्थलगत) केही समयसम्म कडा रुपमा वन्द गर्ने रणनीति बनाउनुपर्ने ।
१२) अहिले देशमा ३ तहका सरकार छन्, तिनीहरु सब नीति निर्माण, विकास निर्माण र सार्वजनिक सेवाप्रवाह गर्न स्वायत्त पनि छन् । लकडाउनलाई स्थानीय र प्रदेश सरकारको समन्वय र सहकार्यमा समय र परिस्थितिअनुसार केही खुकुलो र कडाई गर्ने रणनीति अंगिकार गर्नुपर्छ । केही स्थानीय सरकार र समुदायले कलडाउनको नाममा अन्तरराष्ट्रिय मूल्य, मान्यता र प्रावधान विपरित सार्वजनिक सडकहरु बन्द गरेको अवस्था छ यसलाई नियन्त्रण गरी व्यवस्थित गर्न जरुरी देखिन्छ ।
आफू सुरक्षित हाै, अरुलाई पनि सुरक्षित बनाऊ
लकडाउनको पूर्णपालना गरौं ।