ट्रेण्डिङ

होमपेज / विचार

कोरोना भाइरसले परिवर्तन गर्न नसकेको आमाको दैनिकी

दीपा पौडेल

नेपालगाथा २०७६ चैत्र २६ गते बुधबार १९:४५:१८ मा प्रकाशित

यतिवेला विश्वमा नोवेल कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणले त्रास फैलाइरहेको छ । विश्वनै संकटको घडिमा छ । विश्वभरमा करिव १४ लाखभन्दा बढी मानिस संक्रमित छन् । करिव ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । जसबाट २०० भन्दा बढी देश प्रभावित छन् । नेपालमा पनि २ हप्तादेखि पूरै लकडाउनमा छ । व्यापार, जागिरलगायत अन्य काम गर्ने व्यक्तिहरु सब घरमै छन् । बाहिर काम गर्नेहरुका लागि सम्पूर्ण काम ठप्पै छ । सबै काम रोकिएको छ ।

मेरी आमाको दैनिकी भने रोकिएको छैन । सधैंजसो उही काम गर्नुेहुन्छ । घर सफा गर्ने, लत्ता कपडा धुने, खाना पकाएर खुवाउने, भाडा धुने भान्सा र चुलो चौकाको काम गर्ने । आमालाई न त लकडाउन लागेको छ, न त फुर्सदनै छ । देश लक डाउनमा भए पनि मेरी आमाको दैनिकीमा कुनै परिवर्तन भएको छैन । उहाँको दैनिकी उही छ । घरभरी मान्छे छन् तर आमाका लागि दैनिक दिनचर्यामा सहयोग गर्ने भने कोही देखिन्नन् । बिहान हामी उठ्नुभन्दा पहिलानै आमाले घरको सम्पूर्ण काम सकिसक्नु भएको हुन्छ । खाना खाएपछि हामीलाई भने अल्छी लाग्छ साथीभाइसँग कुराकानी गरेर समय बिताउनुपर्छ । तर मेरी आमाले न त अल्छी लागेको देखाउनु हुन्छ न त कसैसँग गफ गरेर समय बिताउनुहुन्छ । गर्नुहुन्छ त उही आफ्नौ दैनिकीमा समय बिताउनुहुन्छ ।

आमा अल्छी नमानी–नमानी भाडा माझ्नु हुन्छ । घर सफा गर्नु हुन्छ । केही बेर हाम्रो कोठामा आउनु हुन्छ र हामीसँग सोध्नु हुन्छ, आज कति जनालाई कोरोना भाइरस लागेछ ? कति जनाको मृत्यु भएछ ? आदिआदि । हामीले आमालाई सुनाएको समाचार चाँडोचाँडो पल्ला घरे काकीलाई आफ्नो आँगनबाट सुनाउनुहुन्छ । एकै छिन पल्ला घरे काकीसँग गफगाफ भएपछि, पल्लाघरे काकीले पनि सुनाएका केही कुरा भएमा हामीलाई आएर तुरुन्तै यस्तो भएछ नि भनेर सुनाउनुहुन्छ । अनि हामी हो भनेर आमाको कुरामा सहमति जनाउँछौं । 

समाचारमा भनेका कोरोना भाइरससम्बन्धी रोकथामका कुराहरुलाई आमाले तुरुन्त लागू गर्न खोज्नुहुन्छ  र भन्नुहुन्छ, ‘बाहिर कतै गएर आयांै भने साबुन पानीले हातधोउ, धेरै बाहिर नघुम, बाहिर कतै जाँदा माक्सको प्रयोग गर ।’ हो मेरी आमाले समाचार कम सुन्नुहुन्छ तर जति सुन्नुहुन्छ व्यवहारमा प्रयोग गर्न थाल्नुहुन्छ । आफ्नो स्वास्थ्य अवस्था ठीक नहुँदा नहुँदै पनि आमाले सकिनसकी घर सफा गर्नुहुन्छ । बेलुका हुन थाल्यो भने पानी भर्न, खाना पकाउने समयको ख्याल हामीलाई नै हुँदैन । खाली भोक लाग्योे मात्र भन्न जानेका हामी । तर आमा हाम्रा लागि हतार–हतार गरेर भान्सामा छिर्नुहुन्छ । हाम्रा लागि खाना तयार गर्नुहुन्छ ।

हामी खाना खानासाथ आफ्नो कोठामा इन्टरनेटमा मस्त हुन्छौं तर आमा फेरि बेलुका खाएका भाडाकुँडा सफा गर्न थाल्नुहुन्छ, घर सफा गर्न लाग्नुहुन्छ । बेलुका हामी सुतेपछि सुत्ने र हामी नउठ्दै उठेर घरको काम गर्ने दैनिकी आमाको रोकिको छैन । आमा भन्नुहुन्छ, ‘जे भाइरस आए पनि मेरो सधै गर्ने काम एउटै छ, सक्ने बेलासम्म गरिरहन्छु ।’

बेलाबेलामा हामीसँग रिसाउनुहुन्छ, कमसेकम आफूले खाएका भाँडा त जुठेल्नेमा लगेर राख, फोहोर एकै ठाउँमा फाल भनेर कराउनु हुन्छ । खाना मिठो भएन भनेर हामीले आमालाई नै कराउँछौं । अनि आमाले भन्नुहुन्छ, ‘बजार सबै बन्द छ । तिमीहरुलाई कसरी मिठ–मिठो बनाएर खुवाउँ ?’ सायद आमालाई पनि दिक्दार लाग्दो हो अनि हामीलाई नै एकछिन कराउनुहुन्छ । जे सोध्नुपरे पनि आमा नै चाहिनुपर्ने हामीलाई, आमा यो सामान कहाँ छ ? त्यो सामान कहाँ छ ? सबै आमालाई सोध्नुपर्ने । लकडाउनको समयमा त झन् आमालाई थकाई मार्नलाई समेत फुर्सद छैन ।

सकी नसकी हाम्रा लागि काम गर्नुहुन्छ आमा । घरमै रहँदा आमालाई थकाई मार्न समेत फुर्सद छैन । सबैको दैनिकी फेरियो तर आमाको दैनिकी भने कहिल्यै फेरिएन । सहनशीलताकी खानी, माया र ममताकी धनी मेरी आमा । हजुरलाई मुटुभरीको असीमित न्यानो माया । गुर्भाकोट न.पा. ८, सुर्खेत

प्रतिक्रिया

सम्बन्धित खवर

Top