होमपेज / विचार
“ए नानी ! खुरुक्क मान है, धेरै चुरिफुरी नगर ! उ....तेतै कता,
दैलेख तिरको जुम्लीसँग ब्या गर्न पर्ला अनि खालिस् ।”
दुनियाँको सबैभन्दा पिछडिएको र दुर्गम ठाउँको उदाहरण दिनुपरेमा कर्णालीको नाम लिइन्छ । जस्तै, हाम्रो जिल्लाको फलानो पालिका त कर्णाली नै हो । हाम्रो पालिकाको फलानो गाउँ त कर्णाली नै हो । कुनै पनि भूगोल अन्य क्षेत्रको तुलनामा निकै कष्टकर वा दुर्गम छ भन्ने बुझाउन कर्णालीको उपमा दिने आम रुपमा गरिन्छ । सुदूरपश्चिम प्रदेश बाहेक करिब करिब देशभरको नियति यही हो । यति मात्र होइन कोही साधारण ख्याउटे, सामान्य कपडा लगाएको मानिसलाई समेत कर्णालीतिरकै होला भन्ने लख काट्ने चलन छ, अथवा कालीकोटे, जुम्ली, दैलेखी आदि आदि भनेर अनुमान लगाउने चलन छ । अझ त्यति मात्र होइन केही केही असल मानिसहरुले कर्णालीको नागरिकलाई माण्ठा र प्रदेशको नामै माण्ठा प्रदेश भन्ने नामाकरण नै गरिदिएर “असभ्यता” कर्णालीको पहिचान बनाइदिएको अवस्था छ ।
करिब ५ वर्ष अगाडिको मात्र कुरा हो । म एक जना मान्यवर कहाँ सानो कामले भेट्न गएको थिएँ । बिहानको समय थियो । चिया खाँदै गर्दा घर धनी मेडमले आफ्नी छोरीलाई बेस्सरी हकार्दै कुनै प्रसङ्गमा गाली गर्नुभो, “हेर छोरी बढ्ता चुरिफुरी नगर उ.....तेता कता दैलेखतिरको जुम्लीसँग ब्या गर्न पर्ला अनि खालिस् खुरुक्क भनेको मान है ।” मेरो मन कटक्क खायो अनि छोटकरीमा कुरा टुङ्गाएर हिँडे । नत्र उस्तै परे खाना त्यहीँ खाने सुरमा थिएँ । उहाँहरुलाई मेरो घर पनि कर्णालीतिरै हो भन्ने हेक्का पनि थिएन सायद । हुनतः नियतवस नभई सामान्य रुपमै बोलिएको वाक्य थियो त्यो ।
आज कर्णाली कहाँ छ र के छ < हाम्रो अवस्था ! भन्ने विषय वा प्रसङ्गभन्दा पनि अब के गर्ने < यो महामारीको अवस्थाबाट जसरी भए पनि उठ्ने र उठेपछि कर्णालीले आफ्ना पाइला कसरी चाल्ने < यो मेरो आजको विषय हो । कर्णालीले धेरै सङ्घर्ष गरेको छ, कर्णालीले धेरै दुःख पाएको छ । कर्णालीले अपमान, अशिक्षा, भोग, रोग महामारी, उपेक्षा, तिरष्कार, गरिबीलगायतका अनेकौँ समस्यै समस्या झेलिरहेको छ । यी यावत दुःख र दिक्दारी सिवाय कर्णालीले केही पाएको छैन । साँचो कुरा यही हो । तर सँगसँगै हामीकहाँ अर्को चिज पनि छ अर्थात् कर्णालीले धेरै कुरा पाएको पनि छ ।
धेरैभन्दा धेरै अवसर, समान अधिकार, विशाल भूगोल, अनुपम प्रकृति, विहंगम सभ्यता र सम्पदा, विशाल संस्कृति, अथाह उर्भर भूमि, असीमित ऊर्जाको स्रोत, अमूल्य जडीबुटी, बहुमूल्य खनिज र शिला, अपार जलस्रोत मेहेनती र धैर्यवान कर्णालीबासी, जागरुक र चेतनशील युवा, भरपर्दो श्रम तथा जनशक्ति, मनै लोभ्याउने पर्यटनको सम्भावनै सम्भावनाले भरिएको आशा र भरोसायोग्य धेरै ठूलो साधन र स्रोत कर्णालीले पाएको छ । यस्तो लाग्छ हामीसँग सबै मरमसला, दाल, तेल ८४ व्यञ्जन वा परिकार बनाउन चाहिने सबै सामग्री छ । छैन त केवल पकाउने सीप, कला र कालीगढी जसको अभावले हामी छटपटाइरहेका छौँ । राम्रो र मिठो परिकार दुनियाँसामू पस्किने त परै जावस् आफूले खान र देख्न समेत पाएका छैनौँ ।
हामीमा चाहिँ एक खालको मानसिकताले अवश्य घर गरेको छ । मान्नुहुन्छ < त्यो के भने हाम्रो ठाउँ दुर्गम छ, हामी हेपिएका छौँ, दबिएका छौँ, उपेक्षित छौँ, ठगिएका छौँ, केही जान्दैनौँ, अरु हामीभन्दा ठुला छन्, धनी छन्, जानेका बुझेका पहुँच र पावर भएका छन् अर्थात् सबै कुरामा अरु हामीभन्दा अब्बल छन् भन्ने कुराले हाम्रो मस्तिष्कमा घर गरेको छ वा सानैदेखि गराइएको छ । हो < यति मात्र होइन अर्को पक्ष पनि छ के भने हामी पनि के कम, हामीलाई हेप्ने, पेल्ने, ठग्न खोज्ने, के सोचेको हामीलाई < कर्णालीका भनेर हेपेको, हाम्रा पनि मान्छे छन्, पहुँच र पावर त हाम्रो पनि छ नि, किन हेपिने, हामी पनि के कुरामा कम... < आदि आदि । यी दुवै मानसिकता कर्णाली जीवनका लागि उपयोगीभन्दा पनि बढी हानिकारक नै छन् । यस्तो खालको मानसिकताले मानिसलाई या डिप्रेसन तथा निराशातिर लैजान्छ या त विद्रोह निम्त्याउने खतरा हुन्छ । विद्रोहको सम्भावना त्यति सहज र सम्भव हुँदैन वा सजिलो हुँदैन । डिप्रेसनमा जान सजिलो हुने हुँदा मानिस सो तह नचाहँदा नचाहँदै वा थाहै नपाई यो सजिलो बाटोतिर लाग्छन् फलस्वरुप भविष्यका सबै सम्भावनाहरु समाप्त भएर जान्छन् ।
आजसम्म कर्णालीले अधिकार, अवसर, राहत र आरक्षण कति पायो वा पाएन त्यो हिसाब किताबतिर म अहिले लागिनँ । समान राजनीतिक अवसर अधिकार, स्वतन्त्रता, साधन स्रोतको बाँडफाँडमा कर्णालीको हिस्सा, राज्यको तर्फबाट कर्णालीलाई सम्बोधन, जनताको सहयोग समर्थन, माया, सहयोग र सपोर्ट, कति पायो पाएन, तथापि कर्णालीले तड्पिनै पर्ने गरी ठगिएकै चाहिँ छैन कि, भन्ने मेरो व्यक्तिगत बुझाइ हो । सायद म गलत पनि हुनसक्छु । यसको हिसाब किताब खोज्ने जिम्मा आजको युवा पिंढीलाई । याने कि साधन स्रोत र अवसर नपाएकै कारण कर्णाली अगाडि बढ्न सकेन वा पाएर पनि सदुपयोग गर्न सक्ने क्षमता तपाईँ हामीमा भएन । अथवा अघिल्लो पुस्ताले कति राख्यो वा राखेन । यो पनि छलफल र वहसको विषय बन्नुपर्दछ ।
आज पुरै देश कोरोना भाइसरको महामारीको सङ्कटमा परिरहेको बेला एक्लो कर्णाली अछुत त कसरी रहन सक्ला र अधिक जोखिम भएको प्रदेशमध्ये सायद सुदूरपश्चिम छोडेर पहिलो मै पर्छ होला । वास्तवमा यो कोरोना सोरोनाभन्दा खतरनाक महामारीसँग कर्णालीले आमने सामने भएर लडेको इतिहास छ र जितेको पनि छ । अझ साँचो कुरा ! विपत्तिले सम्पत्ति आर्जन गर्न पनि प्रेरित गर्दछ । अहिले पनि विश्वभर विपत्तिले सबैभन्दा धेरै कही सताएको छ भने त्यो युरोपलाई सताएको छ । उनीहरुको इतिहास हेर्नुहोस् युरोपियनहरु जस्तो महामारीको पींडा र दुःख सायद अन्य देशले कमै बेहोरेका छन् । विगतमा सारा आधा युरोप महामारीबाट समाप्त भएको इतिहास छ । त्यो पनि एक पटक होइन पटक–पटक महामारिले पींडामाथि पीडा दिएको इतिहास छ ।
हामी कर्णालीबासीलाई जस्तै । बस फरक यत्ति हो कि उनीहरुले हरेक पीडाबाट मुक्त भएर अगाडि बढने दृढ संकल्प गरेर योजनावद्ध ढङ्गले अगाडि बढे । विश्वका सफा, सभ्य र सम्पन्न नागरिक कहलाए हामी नेपाली अझ खासगरी कर्णालीबासी विपत्तिमा निकै आत्तिन्छौँ, समाधान खोज्न हार गुहार गर्छौँ तर आफूमा समस्या के छ पहिचान गर्न सायद चुक्छौँ । आपसमा बसेर समाधान गर्न, छलफल गर्न सक्दैनौँ अलिकति बोल्न सक्ने र टाठाबाठा र अगुवाहरु झोला बोकेर माग्न काठमाडौँ पुग्छौँ, अनि आवाज विहीनहरु नाम्लो (बरियो) बोकेर सिम्ला र काला पाहाड पुग्छौँ फेरि फर्कन्छौँ । अर्को प्रकृतिको महामारीसँग जुध्छौँ...फेरि पनि ...फेरि पनि । विगतका सबै कथा व्यथा एकपछि अर्को गर्दै बिर्सँदै जाने शिक्षा लिएर अगाडि बढ्न नसक्ने हामी कर्णालीबासीको नियति र बाध्यता बनेको छ ।
यो कोरोना भाइरस अरु महामारी जस्तो देखिएरै हल्ला खल्ला गर्दैन । आउने र अदृश्य ढङ्गले लुकेर प्रहार गर्ने हुँदा हामीलाई निकै भयभित बनाएको छ र घरभित्रै लुकेर बस्न विवश भएका छौँ । विश्वभरका मानिसहरुलाई हरेक देशले आफ्नो घरभित्र बसेर महामारीसँग लड्न आह्वान गरिरहेको बेला चरन चर्न बाहिर गएका सबै नेपालीले दुःखको बेला आफ्नो आमाको न्यानो काख, आमाको हातको एक गिलास तातो पानी बाबु सन्चो छैन कि के भो भनेर सोध्ने मर्मस्पर्शी माया, आफ्नो प्रिय परिवार सम्झेर घरको ढोका ढकढक्यान आइपुगेका छन् । तर घरभित्र पस्न त के गाँउकै ढोका बन्द भएका छन्, देश छिर्ने ढोका बन्द भएका छन् । आफ्ना सन्तानहरुका लागि नेपाल आमाले आफ्नो घरको त के कुरा, कम्पाउण्डकै ढोका बन्द गर्न पर्ने अवस्था आएको छ । यो बिडम्बना हामी मानव जातिले नै निम्त्याएको हो । सचेत र संवेदनशील भएर होसियारीपूर्वक घर छिर्नुपर्ने अवस्था आएको छ । आज कर्णाली प्रदेश बाहिर बस्नेको सङ्ख्या करिब आधा जसो छ । यसमा करिब ८५ प्रतिशत सङ्ख्या युवाहरुको छ ।
यतिको सङ्ख्यामा युवाहरु बाहिरबाट प्रदेशभित्र प्रवेश गर्नु प्रदेशका लागि सुखद् अवसरको रुपमा स्थानीय सरकारले लिनु पर्दछ । विगतमा मलाया, नौतुना रेल, बरेली, सिम्ला, कालापाहाड, बम्बै, मुग्लानको टापु, आदिका गीत गाएर आमाहरुको मन जित्ने प्रयास गरियो । अनि विभिन्न चुनावहरुमा अब नेपाल आमाका कुनै पनि सन्तानलाई रोजिरोटीको लागि विदेश जानु नपर्ने भनेर घोषणा गरियो, भाषण गरियो । तर बिडम्बना न त हामीले गएकालाई फर्कने वातावरण बनाउन सक्यौँ न त अरुलाई जानबाट रोक्न नै सक्यौँ । विदेशिएका छोराछोरीको रगत र पसिनाबाट आज घर, समाज र देश धान्नुपर्ने, शिक्षक, कर्मचारी, सेना प्रहरी र नेताहरुलाई समेत पाल्नुपर्ने अवस्थाबाट हामी गुज्रिरहेका छौँ । आज दुःखद् घडीमा नै सही विदेशिएका भाइ, छोराछोरी, घर, आँगनमा आइपुगेका छन् । भएको बाँडीचुँडी खाएर यो महामारीबाट मुक्त होऔँ । यसपछिको जीवन फेरि पनि सरल छैन अझ १० गुणा बढी कष्टकर भएर आउने निश्चित छ । फेरि पनि हात फैलाउन र गिडडिडाउन बाहेक अरु उपाए हामीसँग छैन र देखिँदैन पनि, नियति उही पुरानो हो । अवस्था झनै भयावह नहोला भन्न पनि सकिँदैन ।
यस विषम परिस्थितिमा उत्पादनका साधनहरुलाई सही ढङ्गले परिचालन गरेर अथवा आफूसँग जे छ त्यसबाटै सम्पन्नताको खोजी गर्ने हो । आज कर्णालीबासीको अवस्था अरुले माटोको प्लेट (सेरामिक्स) बाट निकालेर दिएको जुठो सुनको थालमा थापेर खानुपर्ने अवस्था छ । हाम्रा सारा अनाज फल्ने बारी स्याल र फयाउरे डाँडा भएका छन्, लहलह मार्सी र गुणे धान फल्ने खेतहरुमा ठेकेदारहरुका रोडा, बालुवा उद्योग खुलेका छन्, गोही, डल्फिन, असला (ट्राउट) सँगै रमाउँदै तिलादेखि कोठियाघाटसम्म सयर गर्दै मितेरी गास्नुपर्ने कर्णालीलगायतका नदीसँग कुनै साइनो र सम्बन्ध हामी राख्दैनौँ, कर्णाली झिलिमिली बनाएर पनि सिँगो युपीबाट करोडौँ डलर भित्र्याउन सकिने ढोका कहिले पनि खोल्ने प्रयास गर्दैनौँ, देशका हरेक शहरका महलहरुमा सजिनुपर्ने काठ जङ्गलमै सडाएर गोब्रे किराको घर बनाउँछौ, सारा नेपालीको कान्छो ज्वाइँ भगवान लक्ष्मणलाई समेत बचाउने कैलाश पर्वतको बहुमूल्य जडीबुटीको स्याउला जलाएर शिवरात्रीमा आगो तापी खरानीको भष्म दलेर जय भोले भन्दै मडारिदै लम्पसार भएर पुन्य कमाउँछौँ, विदेशीले डलर छर्दै हिँड्ने सबै ऐतिहासिक धरोहर र पदमार्गहरु मासेर ज्यानमारा राजमार्ग मात्र बनाउन हौसियका छौँ । खैरेहरुले डलर उडाउँदै हिँड्ने हवाई पर्यटनलाई नेपालगञ्जबाटै विदा गरिदिन्छौँ, जैविक प्रसाद र वरदानको रुपमा प्राप्त, फापर, कोदो टिमुर, डौँरे, मार्सी चामल, गुणे चामल, मास र रातो सिमी आज तारे होटलका राष्ट्रिय गौरवका परिकार भएका छन् ।
हामीहरु ती सबै लत्याएर सडेको मैदाको चाउमिन, घुन र सिलसा लागेको मोटा चामल, वोण्ड क्यानसरको स्रोत अजिनो स्वादको चाउचाउ, जस्ता अखाद्य वस्तु खाएर जीवन छोट्याउने ध्याउन्नमा छौँ । लेकाली सुन्तला र स्याउ, कागती ज्यामिर (जुनार) गाई, भैसीको अमृत सरहको दूध बेचेर सडेको मोजा र सिनो, होटलको जुठो कुहाएर बनाएको ठर्रा अनि विभिन्न केमिकलहरुको समिश्रणबाट बनाइएको अनेकौँ फ्लेवरको एसिड (अल्कोहल) आयात गरेर हरेक नागरिकको मुटु, कलेजो र मृगौलाको मोल मोलाई र हिसाब किताबका लागि खचाञ्जी यमराजको एउटा दूतको दरबन्दी नै कर्णालीमा कायम गरिदिएका छौँ । यी सबै सामान्य जानकारीको रुपमा मात्र उल्लेख गरिएको हो । बेलैमा सजग नभए दिन प्रतिदिन योभन्दा दयनीय अवस्था हाम्रो नहोला भन्न सकिदैन । सबै व्यक्ति, सबै देश सबै संघ संस्था सम्पन्न हुन चाहन्छन् । सम्पन्न हुन आफूसँग भएको साधन स्रोतको कुशल व्यवस्थापन नै मुख्य पक्ष हो अर्थात आय आर्जन नै हो ।
वास्तवमा देशको मुख्य आयआर्जन भनेको साधन र स्रोतको परिचालन तथा व्यवस्थापन नै हो । हामीसँग भएका स्रोतहरुमा १. जमिन (कृषि) २. जलश्रोत ३. जङ्गल ४. जडीबुटी ५. जनशक्ति ६. जनचेतना र ७. जुनुन (इच्छाशक्ति) अर्थात सात “ज” मा मुख्य ध्यान दिनुपर्छ भन्ने मेरो बुझाइ हो । यी सात “ज” मध्ये कर्णालीसँग सबै स्रोत साधन पर्याप्त रुपमा छ । यहाँ मैले सात “ज” अन्तरगत निम्न कुराहरुलाई सङ्केत गर्न चाहेको छु ।
१. जमिन अन्तर्गत - कृषि उत्पादन गर्न सकिने सबै प्रकारको उत्पादनयोग्य भूमिको सदुपयोग ।
२. जलस्रोत अन्तर्गत - ऊर्जा तथा हाइड्रो, सिँचाई, जलविहार (पर्यटन) तथा यातायात र मत्स्य ।
३. जङ्गल अन्तर्गत - वन तथा वनस्पतिजन्य उत्पादन, काठ, दाउरा, जैविक मल, वन्यजन्तु र निकुञ्ज क्षेत्र र Adventure Tourism ।
४. जडीबुटी अन्तर्गत - बहुमूल्य औषधिजन्य वनस्पति, खनिज, कन्दमूल, हर्बल, आयूर्वेद आदि ।
५. जनशक्ति अन्तर्गत - दक्ष तथा अर्धदक्ष श्रमिक, सिप र कला, एवम् निर्माण क्षेत्रका पर्याप्त जनशक्ति, कामदार ।
६. जनचेतना अन्तर्गत - आफ्नो गाँउ र देश बनाउने जागरुकता, सिप र तालिम लिन इच्छुक जनता र उत्पादन र निर्माणको क्षेत्रमा लागेर आफ्नै देश भित्र काम गर्ने जागरुकता ।
७. जुनुन अन्तर्गत - सबै तहमा काम गर्ने इच्छाशक्ति, तीब्र इच्छासँगै योग्यता, क्षमता, दक्ष, भिजन, सिप र नेतृत्व गर्ने क्षमता भएको नेता तथा लिडरहरु ।
उपरोक्त विषय यहाँ केवल साङ्केतिक रुपमा मात्र उल्लेख गरिएको हो । यसको अलावा विभिन्न पक्षहरुको तमाम सम्भावना व्याख्या र विश्लेषण विषय विज्ञ, विद्वान र जानकारहरुले गर्न सक्नुहुनेछ । बस हाम्रो कर्णालीमा अथाह सम्भावनाहरु छन् । अब अहिले जनतामा कोरोनाकै कारण भए पनि आएको स्वास्थ्य प्रतिको चेतना, आफ्नो घर, परिवार, समाज, गाउँ र देशप्रतिको माया, विदेशमा सिकेको सिप, ज्ञानको प्रयोग, थोरै भए पनि विदेशको कमाइ, आफ्नै गाउँ ठाउँमा उपयोग गर्ने अवसरको खोजी सबैले गर्नुपर्छ । खास गरी स्थानीय तह प्रदेश सरकार र समग्र देशभरिको लागि केन्द्रस्तरबाटै केन्द्रीय सरकार एवम् योजना आयोग लगायतका तत् तत् मन्त्रालय, विभाग तथा सम्बन्धित सबै निकायले यो होम क्वारेन्टायन अवधिभर योजना बनाई कोरोना महामारीको विदाइसँगै सिर्जनशील योजनाका साथ आ–आफ्नो क्षेत्रको विकास र सम्मृद्धिको महाअभियान सञ्चालन गर्न सक्नुपर्दछ ।
यदि यसो गर्न सके मात्र कोरोना देशका लागि अफापभन्दा बढी फापसिद्व हुने अवसरमा परिणत गर्न सक्नेछौं । अन्यथा कोरोना महामारीले निम्त्याउने भयावह अवस्थाको त यहाँ कल्पनासमेत गर्न सकिँदैन तथापि यसको सहजै विदाइ भएपछि पनि खाद्यान्न अभाव, आर्थिक सङ्कट, बेरोजगारी, मानसिक असन्तुलन तथा दबाव, शिक्षा क्षेत्रको व्यवस्थापन, बाल तथा वृद्धको मनोवैज्ञानिक असर, हरेक सामाजिक संरचनाको पुर्नस्थापना तथा व्यवस्थापन लगायत असीमित कामहरुको जिम्मेवारी आइलाग्ने छ । जो भोलि बिहानै आउने अर्को कडा आँधीबेहरीकै रुपमा आउने कडा चुनौति हो । यसको हेक्का राखेर आजैबाट हरेक कार्यकारी निकाय र तहका व्यक्तिहरुले पूर्व तयारी गर्न नितान्त जरुरी छ ।
कोरोना महामारीले दिएको निराशा भय र शोकलाई शक्ति र सम्भावना अनि अवसरमा बदल्ने संकल्प सवैले गरौ । भनिन्छ, “हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ ।” यो कोरोना महामारिको कालो बादलमा पनि चाँदीको घेरा पहिचान गरी त्यसको प्रकाशमा हिँड्ने प्रेरणा सबैलाई मिलोस् । आउँदो २०७७ सालकोसमेत सबैमा अग्रिम शुभकामना ।
धन्यवाद । नमस्कार !
bcgtop@gmail.com/bcgtop@facebook.com/topbcg
गुराँस –६, दैलेख