होमपेज / विचार
कोरोना भाईरस (कोभिड–१९)को महामारी विश्वव्यापी समस्याको रुपमा देखापरेको छ । यो महामारीले हाम्रो आकर्षक मानव सभ्यतालाई नै नष्ट गर्न लागिरहेको छ । मानवजाती, देश, समाज, पार्टी र व्यक्तिको अस्तित्व रहने कि नरहने गम्भीर प्रश्नहरु हामी माझ छन् । यो संकटकालीन र विशेष अवस्था हो । तसर्थ महामारीकोविरुद्ध सिङ्गो मानवजाती एकताबद्ध भै सामूहिक प्रयत्न गर्नुपर्ने बाध्यात्मक अवस्था देखापरेको छ । लकडाउनको घोषणा त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार डटिरहेको छ । आवश्यक स्वास्थ्य सामग्री सबै प्रदेशमा पुर्याउँदै सातै प्रदेशबाट ल्याव परीक्षण प्रारम्भ गरिसकेको पनि छ । यद्यपि यो परीक्षण जनचाहना अनुसारको व्यापक रुपमा भईसकेको छैन ।
सरकार भन्छ केही दिनभित्र काठमाडौबाहिर पनि दैनिक हजार जनाको परिक्षण गर्ने सामथ्र्य निर्माण गर्दैछौ । त्यस्तै दुई हप्ताको लकडाउनबाट मजुदरी गरीखाने श्रमिकहरु, निरपेक्ष गरिबीमा रहेका जनसमुदाय, वृद्धअवस्थामा रहेका पुरानो पुस्ता र आर्थिक संकटमा परेका सुत्केरीहरु र गन्तब्यमा पुग्न नसकी बीच बाटोमा अलपत्र नागरिकहरुलाई विशेष राहतको घोषणा गरेको छ भने कोरोना संक्रमितको स्वास्थ्य उपचारको सम्पूर्ण खर्च सरकारले नै ब्यहोर्ने निर्णय गरेको छ ।
सरकार कोरोना भाईरसको संकरमणलाई रोक्न जनमुखी कदम चाल्दैछ । तर त्यसमा प्रमुख प्रतिपक्ष दल, प्रतिस्पर्धी केही राजनिती दल, केही उसैका आफ्नैहरु पनि सरकार, सरकारी संयन्त्रहरु र ज्यानको बाजि लगाई काममा संलग्न अधिकारीहरुको तेजोबध गर्न उद्धत बन्दैछन् । लकडाउन अवधि मै गौरीफण्टा नाकामा केही नेपालीहरु आईपुगे । सरकारले मित्रराष्ट्र भारतसँग छलफल गर्यो । दुबै देशले जो जहाँछन् सुरक्षित क्वारेन्टाइनमा राख्ने निर्णय गर्यो । तब देशमा सरकारबिरुद्ध माङमुङ्री चल्यो । नेपालीलाई देश ल्याउन नसक्ने हुतिहारा सरकारको उपमा दिईयो । काङ्ग्रेसले त पत्रकार सम्मेलन नै गर्यो । जब उनीहरुलाई नेपाल ल्याईयो तब उनीहरुले नै सरकारले बनाएको नियम उल्लंघन गरे । क्वारेन्टाइनबाट भागे र घर पुगे अनि गाउघरमा कोरोना भाईरसको सकरमण देखिन थाल्यो फेरि प्रतिपक्ष भन्न थाल्यो सरकार के हरेर बसेका छौ ?
फेरि हिजो आज सुनिरहेको छु, रामचन्द्र पौडेल माग्दैछन ‘सहमतिको सरकार’, अनि प्रकाशशरण महत ‘मध्यावधि चुनाव’ ! अनि अरु नेता भन्दैछन् बिदेशबाट आएको हुललाई ‘नेपाल भित्राउ’ हिजो फेरि विश्वप्रकाशले भने, ‘सरकारको गैरजिम्मेवारीले घरमै बसेकी महिलालाई कोरोना सर्यो’ साच्चिकै कांग्रेसले चाहेको चाहीं के होला ? अस्थिरतामा खेल्ने र सत्ताझरी हल्ला र खाउला भन्ने सपना देखेर बस्न थाल्यो त काँग्रेस ! ती माग अनि यो शैली लोकतान्त्रिक विधि र प्रक्रियामा कहाँ नेर फिट हुन्छन् ? न मुद्दा छ, न धैर्यता । यसो भनि रहँदा लोकतन्त्र पढाको होइन नी, फगत जिज्ञासा राखेको ।
त्यस्तै सत्तारुढ दलकै केही कार्यकर्ता र केही ठूला नेता सरकारको यति बिघ्न आलोचना गर्ने बेला हो र यो ? तपाई हाम्रो सामाजिक दायित्व ‘आलोचना’ मात्र हो ? मानव सभ्यता नै नष्ट हुने गरी महाविपत्तीमा पनि सत्ता मोह ? बाफ रे बाफ ! सबैका गतिविधि हजारौं हजार कार्यकर्ता र लाखौं लाख जनताले विश्लेषण गरेर बसेकै छौं । यो शैली र सन्दर्भ किन्चित पनि ठीक छैन । सरकार या पार्टीका नेताहरुको समेत सफलता, राम्रा काम या कमजोरीहरुको समीक्षा जरुर हुन्छन् गरिन्छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने झै ‘बहुसंख्यक हाम्रा नेताहरु बुकुरो’ बाट नै क्रान्ती र आन्दोलन सुरु गरेका हुन् । जिन्दगी भरी राजनीति र समाजसेवामा छन् या त्यागको जीवन बिताईरहेका छन् तर कसरी महलमा बस्छन् ? कसरी प्राडो पजेरो चढ्छन् ? अनि कसरी ठूला धनराशीका मालिक भएका छन् ? यो पनि खोजौला तर यो समय हुँदै होईन । यो समय त सकिन्छ तीनै तहका सरकारलाई सहयोग गर्ने । सकिदैन, आग्रह नै छ संकिर्णता नै छ वा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका प्रमुखहरु मन पर्दै पर्दैन भने पनि ‘पर्ख र हेर’ को नीति लिएर बस्ने हो जस्तो लाग्छ मलाई । सामाजिक सञ्जालमा गुटबन्दी गर्ने, माहामारीको विरुद्ध आफ्नो विवेक र जीवन लगाएर खटिरहेका नेताहरुलाई खेद्ने लखेट्ने समय चाही होईन ।
संसारभर माहामरीको रुपमा फैलिरहेको यो भाईरसले ठूला र विकसित देखिएका देशहरुलाई नराम्ररी गाँजेको छ । सयौं मानिसहरुलाई एकै चिहान बनाईरहेको छ । लाखौं लाख अस्पतालमा भर्ना भएका छन् । यो संवेदनशील घडीमा पनि हामीमा साहनुभूति, ऐक्यवद्धता र सहभागितामूलक पहलकदमी त दुरका कुरा धमिलो पानीमा माछा मार्ने पवृत्ति देखा परिरहेको छ, जो बहुतै उदेक लाग्दो छ । साँच्चि प्रतिस्पर्धी राजनितीक पार्टी मात्र होईन सत्तारुढ दलकै पनि सर्वसत्तावादी सोच भएका केही नेता कार्यकर्ता कोरोना भाईरसको त्रासदीमाथि पनि राजनीति गर्ने घृणित प्रयास गरिरहेका छन् ।
नागरिकले राज्य संयन्त्र वा जुनसुकै ओहोदामा बसेको हुन् वा ओहोदाको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउनेलाई कारबाहीको माग गर्नै पर्छ । भ्रष्टाचारी करार गर्ने निकाय देशमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । जो संवैधानिक आयोग हो । तर दलहरु नै मनलागे हामी नागरिकहरु नै आफै न्यायलय आफै अख्तियार या आफै सम्पत्ति सुद्धीकरण बनिदिने त ? काम गर्ने दौरानमा गल्तिहरु र सफलताहरु हुन्छन् । त्यसको आलोचना समीक्षा हौसला जरुरी छ । कमजोरीको आलोचना गर्नैपर्छ । बदमासी भए कारबाही पनि हुनुपर्छ । भ्रष्टाचार भएका रहेछन् भने पनि नियमक निकायहरुले कारबाही गर्नुपर्ने हुन्छ ।
हामी संविधानको सर्वोच्चतालाई स्वीकार गरेकाले आवधिक निर्वाचन पनि आउछन् भने पार्टीका महाधिवेशनहरु पनि आवधिक रुपमा नै आउछन् । चुनावमा गर्नुपर्ने चुनावमा, महाधिवेशनमा गर्नु पर्ने त्यही व्यापक छलफल गरौला । न यो पार्टी भित्रका मतमतान्तरलाई सार्वजनिक बहस गरेर आपसी आत्मियता, एकता र भाईचारालाई कमजोर बनाउने समय हो न त आमचुनावको प्रचार अभियान हो । जहाँ एक पार्टीकाविरुद्ध अर्को पार्टीलाई आरोप प्रत्यारोप गरिन्छ । यो त आफू बाँच्ने मानवजातीको रक्षा गर्ने, समग्र मानव सभ्यताको अस्तित्व बचाउने र हाम्रो देश अनि नागरिकहरुलाई कोरोना भाईरसबाट जोगाउने ऐतिहासिक क्षण हो । यो साँच्चिकै मानवजातीको अग्नि परीक्षा पनि हो ।