होमपेज / विचार
मानव, यो पृथ्वीमा त्यति सहजै स्थापित भएको प्राणी होइन । हरेक जिवलाई परास्त गर्दै, आफ्नो अस्तित्व जोगाउन ठूला ठूला चुनौतीको सामना यसले गर्नुपरेको छ । यस जगतमा मानव मात्र यस्तो प्राणी हो, जसले पृथ्वीका सबै प्रकारका प्रतिकुलतामाथि विजय प्राप्त गर्दै आएको छ र संसारका करिब करिब सबै स्थानमा जीवित पनि छ । सबै प्राणी, जीव, जन्तु र वनस्पति सबै स्थानमा पाइँदैनन् अर्थात् जीवित रहन सक्दैनन् तर मानव मात्र यस्तो प्राणी हो, जो जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफू बाँच्न र आफ्नो अस्तित्व जोगाउन सफल भएको छ ।
आज पृथ्वीका हरेक जीव र प्राणीहरू मानव जातिसँग भयभित छन् तथापि पटकपटक अन्य जीवबाट मानिस माथिनै अनेकौ ढंगले आक्रमण पनि भइरहेका छन् । यो आक्रमण मानिसले जस्तो योजनावद्ध ढङ्गले आफ्नो क्रिडा, मस्ती र स्वार्थका लागि सिकार खेले जस्तो होइन । उनीहरू जब आफूमाथि खतरा छ भन्ने निधोमा पुग्छन् अनि मात्र मानिसमाथि आक्रमण गर्दछन् । यस अर्थमा जबसम्म मानिसले यस जगतका अन्य प्राणीमाथि कुनै पनि प्रकारले धावा बोल्दैन तबसम्म हामीमाथि अन्य प्राणीबाट खासै खतरा छैन भन्ने विश्वास गर्न सकिन्छ । गर्ने आधारहरु पनि छन् ।
आज विश्वभरका सबै वैज्ञानिकहरू पूर्णरुपमा सहमत भएको एउटा विषय छ ! कि, यो जीवन जगत तथा पृथ्वीको अन्त्य ढिलो चाँडो हुने पक्का छ । त्यो पनि मानव जातिकै कारण ! वास्तवमा हामी साधारण ढङ्गले विचार गर्दा, यो अनुभूति हामीलाईसमेत भैरहेको छ । आज हाम्रै कारण संसारका सबै जीवजन्तु, वनस्पति, अन्नबाली र प्रकृति समेत सबै खतरामा परेका छन् । हाम्रो जिवाकोपार्जनमा साथ दिने, हाम्रो सम्पर्क साथ र सङ्गतमा रहेका धेरै प्राणीलाई हामीले नपुंसक बनाइदिएका छौँ । यिनको प्रजनन क्षमता नै समाप्त पारिदिएका छौँ; संसारका स्थानीय एवम् रैथाने तथा प्राकृतिक नश्लका सबै जीवजन्तु, बाली, फलफूल र वनस्पतिहरुको पहिचान र अस्थित्वनै समाप्त हुने गरी प्रकृतिको नियममाथि धावा बोलिरहेका छौँ । यो कार्य यस जीवन, जगत र प्रकृतिमाथिको चरम लापरवाही र अन्यायको पराकाष्ठा हो, अर्थात् घोर अप्राकृतिक कार्य र आफ्नै अन्त निम्त्याउनु पनि हो ।
आजको युग आजको समाज भौतिक आकर्षणमा लालायित देखिन्छ । वास्तवमा आजको विश्व द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तमा आधारित छ । क्रिया, प्रतिक्रिया र सन्तुलनको सिद्धान्त नै द्वन्द्वात्मक भौतिकवाद हो । जसरी मानव समाजले आफूमाथि आइलाग्ने हरेक खतराको सामना गर्न जवाफी प्रतिकृया जनाउँछ ठिक त्यसैगरी अन्य जीवजन्तुले चाहे सजीव होस् वा निर्जीव होस् क्रिया प्रतिकृया अवश्य जनाउँछन् । आज मानव जीवनले मात्र नभई यस सृष्टिका सबै प्राणीहरूले हरेक कालखण्डमा आफ्नो अस्तित्वको लागि कडाभन्दा कडा चुनौतीहरूको सामना गर्नुपरेको छ । कुनै समय सृष्टिको सबैभन्दा शक्तिशाली प्राणी डाइनोसर यस पृथ्वीबाटै लोप भएर गयो । हरेक कालखण्डमा अनेकाँै जीव र प्राणीहरूले आ–आफ्नो साम्राज्य खडा गरे तर समय क्रमसँगै ती समाप्त भएर पनि गए । यसजीवनचक्रमा मानव जीवन मात्र लामो समयसम्म अस्तित्वमा रहेको छ । आज यो मानव जाती समेत खतरामा परेको छ । त्यो पनि आफ्नै गतिविधिका कारण अन्यथा अरुबाट हुने अन्य कुनै पनि खतरा र चुनौतीको सामना गर्न मानव जाती सक्षम छ । अनेकौ जैविक तथा अजैविक हतियार विभिन्न खालका आक्रमणहरु मानव जातिमाथि हँुदै आएका छन् । अहिलेको यो कोरोना कोभिड –१९ त वास्तवमा सामान्य संक्रमण हो ! जो मानिसले थोरै मात्र सावधानी अपनाए आफै परास्त भएर जानेछ । अधिक शक्ति लगाएर मुकाबिला गर्नुपर्ने अवस्था आउनु मानिसहरूको आफ्नै अहमता, घमण्ड र लापरवाहीका कारण हो । आज कोरोनाले मात्र हैन हिजो अस्तिमात्र विश्व हल्लाउने गरी हैजा, औलो, डेंगु, शार्स, प्लेग, ईवोला, रुवेलालगायतका महामारीको सामना गरेको अनुभव मानव जगतसँग सुरक्षित रहेको छ ।
आज यो अवस्थामा मानव सभ्यतालाई इतिहासले झक्झकाइरहेको छ । हामिसँग ताजा इतिहास छ, सन् १८५२ महाभारतबाट फैलिएको Third Cholera नामक भाइरसले करिब ८ वर्षको अवधिमा एसीया, युरोप, उत्तर अमेरिका र अफ्रिका भरका करिव १० लाख मानिसको ज्यान लिएको थियो । सन् १९१०⁄११ मा Sixth Cholera ले महामारीको रुप लिएर खासगरी उत्तर अफ्रिका, पूर्वी यूरोप र रसिया गरी करिब ८ लाख वढिको मानिसको ज्यान लिएको थियो । सन् १९६८ मा Hong Kong बाट सुरु भएको Hong Flu H3N2 भाइरसका कारण १० लाख मानिसको मृत्यु भएको थियो । Asian Flu ले सन् १९५७ मा २० लाख मानिसको ज्यान लिएको थियो । सन् १९७६ मा अफ्रिकी मुलुक कङ्गोबाट विश्वभर फैलिएको HIV Aids ले हालसम्म करिब ३ करोड ५० लाख माानिसको ज्यान लिईसकेको छ । सन् १९१८ को H1N1 भाइरसबाट ५ करोड मानिस सङ्क्रमित भएका थिए । जसमा ५० लाख मानिसको मृत्यु भएको थियो । यी सबै घटनाक्रमले मानव सभ्यतालाई अनुशासित हुन, खान पिनको तरिका बदल्न, सफा र सभ्य समाजको निर्माण गर्न, एक अर्काको जीवन प्राणको रक्षा र सम्मान गर्न अर्थात् समग्रमा मानव जीवनको रक्षार्थ आधुनिक सभ्यताको विकास गर्न पनि प्रेरित गरेका थिए । फलस्वरुप आज धेरै पश्चिमा राष्ट्रहरू आफूलाई सबै प्रकारले हाईप्रोफाईल दर्जाको सुसज्जित जीवन यापन प्रदर्शन गर्न सफल भएका छन् ।
खासमा मानव समाजले जति देखावटी गरे पनि जति आफूलाई होसियार र चलाख अनि सभ्य सम्झे पनि प्रकृतिमाथिको अन्याय बापतको ठूलो मूल्य चुकाउनु परेको तितो ईतिहास हामिसँग जिवित छ । १६५ ईसापूर्व Antonine Plague को कारणले रोमन एम्पायरखासगरी ईटाली, ग्रिस र इजिप्टमा गरी करिब ५० लाख मानिसको ज्यान गएको थियो । यसैगरी ईसा पूर्व ५४१–५४२ सम्म Plague of Justinian (Bubmic Plague) भाइरसले Byzantine Empire बाट सुरु भई यूरोपभर करिब २ करोड ५० लाख मानिस अर्थात करिव करिव आधा जसो यूरोपियन हरुको ज्यान लिएको थियो । सन् १३४६–१३५३ को अवधिमा त झन् त्यो The Black Death भन्ने कालो मुसाबाट सुरु भएको बताइने यस भाइरसले एसियाबाट सुरु भई यूरोप र अफ्रिकामा समेत फैलिएर विश्वभर करिब २० करोड मानिसको ज्यान लिएको थियो । Influenza रसियन तथा एसियन फ्ल्यु भनेर चिनिने भाइरस जसले सन् १८८९⁄९० ताका खास गरी मध्य एसिया र क्यानडामा मात्र करिब १० लाख मानिसको ज्यान लिएको थियो । सन् १९१८ मा फैलिएको Influenza ले संसारभरको करिव १ तिहाई जनसंख्यालाई प्रभावित पारेको थियो भने यसले करिव ५० लाख मानिसको ज्यान लिएको थियो । सन् १९५६ देखि १९५८ को अवधिमा चिनबाट फैलिएको Asian Flu Type æAÆ नामक भाईरसले हङ्गकङ्ग सिङ्गापुर अमेरिका गरी करिब २० लाख मानिसको ज्यान लिएको थियो । सन् १९६८ मा हङ्गकङ्गबाट फैलिएको Influenza æAÆ नामको अर्को भाईसरको कारण हङ्गकङ्ग, फिलिपिन्स, ईण्डिया, अष्टे«लिया, यूरोप र अमेरिका गरी झण्डै १० लाख मानिसको मृत्यु भएको थियो । यी भाइरसहरू अधिकांश जनावरसँगको सम्पर्क सम्बन्ध, अप्राकृतिक हेलमेल, गतिविधि, खानपान तथा अप्राकृतिक रहनसहन कै कारण मानव जीवनमाथि विभिन्न स्वरुपमा आक्रमण गरेको पाइन्छ । यी सबै खालका महामारीमाथि मानिसले आंशिक विजयी प्राप्त गरे पनि HIV Aids लगायत कतिपय महामारीसँग आजसम्म पनि मानव समाज निरन्तर प्रभावित छ र सङ्घर्षरत पनि छ । यसको असर सारा विश्व समुदायले कुनै न कुनै रुपमा भोग्न परिरहेको अवश्य छ । यी सबै उपरोक्त आंकडाले आजको समाजलाई भयभित त पक्कै एकछिन बनाउछन् नै तथापि त्यस्तो भयानक अवस्थाबाट उठेको मानव सभ्यता आजको यो सचेत र सभ्य अनि साधन श्रोतले सम्पन्न भएको विश्व समुदायका लागि यो कोरोना संक्रमणबाट बच्न खासै समस्या छैन र हुन पनि हँुदैन । उच्च मनोवलका साथ परास्त गर्न सकिन्छ ।
नेपालीमा एउटा प्रख्यात भनाइ छ, “खाएको विष पो लाग्छ, नखाएको विष कसरी लाग्छ लाग्दैन” हो, नलाग्न पर्ने हो तर आजसम्मको इतिहासमा हामी पूर्वीय सभ्यताका मानिसहरु अझ खासगरी हामी नेपालीहरूलाई नखाएको विष लाग्ने गरेको छ, जो सरासर अन्याय हो । आज विश्वले हाम्रो पूर्वीय दर्शन र सभ्यता अझ सनातन सभ्यतालाई सम्मानपूर्वक आत्मसात गर्नुपर्ने आवश्यक्ता देखिएको छ । सबैले आवश्यक्ता ठानेका पनि छन् तर यहाँ व्यक्त गर्न कोही पनि चाहँदैन । पूर्वीय सभ्यता स्वीकार गरे पश्चिमा देशहरूको स्वभिमान र प्रतिष्ठामा आँच पुग्ने, आफूले विश्वभर कव्जा गरेको कला, धर्म, संस्कृति, अर्थव्यवस्था, विश्व व्यापार र स्वघोषित महाशक्तिराष्ट्रको ताजसमेत खुस्कन पनि सक्ने डरले उनिहरुमा व्यापक छट्पटाहट र डर एव भयः निरन्तर देखिने गरेको छ ।
कोरोना (कोभिड–१९) केवल मानिस तथा एउटा व्यक्तिमाथिको शारीरिक सङ्क्रमण मात्र नभई यो समग्र मानव जगतमााथिको स्वास्थ्य, चेतना, रहनसहन, सभ्यता, संस्कृति, विश्व अर्थव्यवस्था र विश्व राजनीतिमाथिको सङ्क्रमण हो । अझ भनौ संक्रमण मात्र नभई आक्रमण नै हो । चीनको हुवान प्रान्त तथा बुहान सिटीसम्म हँुदा मात्र त यो सङ्क्रमण नै मान्न सकिएला तर आजको दिनसम्म आउँदा यो कोरोना आक्रमण अर्थात् Covid–19 World war –III को रुपमा रुपान्तरित भइसकेको छ । तथापि यो भाईरस मानव जगतले थोरैमात्र सावधानी अपनाए योसँगको लडाई जित्न सकिने अवस्था छ । यहाँ विषय कोरोनाको मात्र हैन विषय हो प्रवृति र प्राकृतिम नियमको यो भाईरस कृतिम हो वा प्राकृतिक हो यो कतिसम्म उजागर होला हेरांै तर आज मानव समाजको दायराभित्र रहेर आपसी सम्पर्कबाट मात्र फैलँदा त यो भयावह अवस्था विश्वले व्यहोर्न प¥यो भने भोलि वायुमण्डल र हावा पानी नै दुषित भई अर्को संक्रमण तथा आक्रमण भयो भने घरभित्र त के ओढार र गुफाभित्र पनि सुरक्षित नहुने अवस्थाको निकट भविष्यमै हामीले सामना गर्नुपर्ने छ । यस घडीमा सबै व्यक्ति, समाज, राष्ट्र र विश्वले सचेत हुन जरुरी छ ।
आज कसले, कहाँ यो भाईरस पु¥यायो । हामी चासोको विषय नबनाउला, तर हामी यसबाट कसको कारण र किन प्रभावित भयौँ ? हाम्रो कमजोरी यसमा के भयो ? यो चाहिँ चासो, बहस, खोज र अध्ययन तथा अनुसन्धानको विषय बन्नेछ र बन्नुपर्दछ यो अबको पुस्ताको लागि महत्वपूर्ण विषय हो । आज हामीलाई नखाएको विष किन लाग्दैछ । हामी नेपाली मात्र हैन, विश्वभर फैलिएका श्रमजीवी देशका श्रमिकहरू किन प्रताडित भएका छन्, किन हाम्रो निर्वाहमुखी अर्थव्यवस्था र अर्थतन्त्र ध्वस्त हुँदैछ ? यसको जवाफ कसले दिने, जिम्मेवारी कस्ले लिने र क्षतिपूर्ति कहाँबाट पाउने हो ? कसैलाई थाहा भए बताउनुस् । १८औँ शताब्दी सेरोफेरोमा विश्वभर फैलिएको ब्रिटिस साम्राराज्यले संसारभर स्वास्थ्य, शिक्षा, सुरक्षा, खाद्यलगायत अनेकौँ बहानामा साधन श्रोत र श्रमको दोहन एवं शोषण समेत ग¥यो । यसपछि भएका १९१४–१९१८ को प्रथम विश्व युद्ध र १९४५–१९४९ को दोश्रो विश्व युद्धपश्चात् आ–आफ्नो स्वघोषित शक्तिकेन्द्रको रुपमा स्थापित भएका पुँजीवादी मुलुकहरूको कारण सिँगो विश्व समुदाय अहिले सम्म बन्धक बनेको छ । खासगरी दक्षिण एसियाली र अफ्रिकी मुलुकहरू विभिन्न कृत्रिम रोग, महामारी र अफवाहको शिकार हुने गरेका छन् । एउटा कृत्रिम समस्या खडा गरिन्छ, अनि कमजोर देशका जनताको मानसिक शक्ति अपहरण गरिन्छ र उसको स्वाभिमान, अस्तित्व, कला, संस्कृति, श्रम, साधन, श्रोत र सार्वभौमसत्तामाथिनै धावा बोल्ने काम गरिन्छ । पहिले समस्या खडा गर्ने अनि समाधानको नाममा यी सब हतकण्डाहरू प्रयोग गर्ने । हामी यी सब खेलहरूमा नतमस्तक भई भाङ्ग खाएका रमिते बनिरहेका हुन्छौँ । यो विडम्वना र वाध्यता बनिसकेको छ । यस अर्थमा हामी कुनै राजनीति र राज्य सञ्चालन गरिरहेका छैनौ केवल पुजिँवादी र साम्राज्यवादीहरुको दासत्व र दलालीमा रमाई रहेका छौ ।
यो पृथ्वी र प्रकृतिले सबैको अस्तित्व स्वीकार गरेको छ । भेदभाव नगरी एकपटक सबैलाई स्थापित हुने अवसर प्रदान गरेको छ । बस, त्यो अवसर पहिचान गरेर खेर जान नदिई सदुपयोग गर्न सक्नुपर्दछ । हाम्रो भन्दा नाजुक हालतका देश संसारभर सयौँ छन खयर अरुको कुरा छोडौँ । अहिले Covid–19 को सक्रमण वास्तवमा अघोषित रुपमा तेश्रो विश्व युद्धको रुपमा परिणत भइरहेको छ । पहिलो र दोश्रो विश्वयुद्धमा बम, बारुद र परमाणु आक्रमणसहितको शसस्त्र युद्धको गराईसंसारलाई तमासा देखाउँदै मैमत्त भएका पँुजिवादी राष्ट्रहरू फेरि पनि त्यहीँ सपना बुनेर नतमस्तक भएका थिए । अभ्यास स्वरुप हिजोसम्म कतिपय समाजवादी तथा यसका पक्षपाती देशमाथि अनेकौँ बहनामा आक्रमण गर्दै शक्ति प्रदर्शन गरिरहेका थिय र छन् पनि । तर आज विश्वका करिब करिब सबै देश यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावमा परेका छन् र सबै आ–आफ्नो सुरक्षा अनि व्यवस्थापनमा व्यस्त भएका छन् । अझ मुलत संसारका सबै महाशक्ति भनिने देशहरु यतिखेर रक्षात्मक अवस्थामा पुगका छन् । संसारका श्रमजीवी जनताहरूको चाहना के छ ? पँुजिवादी राष्ट्रहरू कुरा सुन्न र रत्तिभर ध्यान दिन पनि चाहँदैनन्, उनीहरुको तुलनामा समाजवादी देशका नेताहरू सुन्छन्, बुझेजस्तो पनि गर्छन् तर फेरी पनि विडम्वना केवल यो भावनालाई सत्ता प्राप्तिको भ¥याङ्ग बनाएर पुँजीवादी रहनसहन र आडम्वरकै रुमलिरहन्छन् । आफू सु–सम्पन्न र सुरक्षित जीवन प्राप्त गर्ने मात्र ध्याउन्न मा हुन्छन् अनि प्राप्त गरेपछि सबै श्रमजिवी जनताको मुक्ति पनि आफ्नो सम्पन्नतासँगै प्राप्त भयो भन्ने भ्रममा परेका हुन्छन् । कम्तिमा भुपतिन्द्र मल्ल जस्तो जनताको घरमा चुल्हो जलेको संकेत पाएपछिमात्र आफुले खाना खाने मात्र भावना बोकेको राजनेता नेपालमा मात्र होइन सिङ्गो यो समाजवादी आन्दोलनले पाएको छैन । फलस्वरुप विश्व राजनीतिमा समाजवादी आन्दोलन र यसका अनुयायीहरू कमजोर बन्दै गएका छन् । निकै कमजोर एवं अति रक्षात्मक अवस्थामा पुगेको छ । आज विश्व समाजवादी आन्दोलन आफ्नो सफलता योग्यता र क्षमतामा भन्दा पुँजीवादी राज्यव्यवस्थाको असफलता र डढेलोभित्र आफ्नो भविष्य र खोज्ने हालतमा पुगेको छ ।
माथि नै उल्लेख गरियो समय र प्रकृतिले सबैलाई अवसर प्रदान गर्छ । दोश्रो बाटो नै सही आज विश्व पुँजीवादी व्यवस्था असफल हुने चरणमा छ । अरुले धावा बोलर हैन आफ्नै कारण धराशायी बन्दैछ यस बेला विश्वभरका श्रमजीवी जनताको नेतृत्व गर्ने असल राजनेता, शासक र शासन व्यवस्थाको खाँचो परेको छ । संसार भरका श्रमजिविहरुले विकल्पको खोजि गरिरहेका छन् । यतिवेला हरेक देशको समाजवादी आन्दोलनलाई थप उचाई प्रदान गर्ने तथा नेतृत्व गर्ने अवसर पनि आएको छ । आज संसारका सबै देशमा यो कोरोना महामारीका कारण वर्गीय रेखाङ्कन स्पष्ट कोरिएको छ । कोही महलमा बसेर चन्दा, सहयोग भिक्षा, दानको घोषणा गर्दै तमासा हेरिरहेका छन् भने कोही सडकमा एकछाक खान मात्र होइन आफ्नो परिवारको मुखसम्म हेर्न घर पुग्न समेत नपाएर मर्नुपर्ने अवस्थामा छन् । मरेर पनि मलामी नपाएको अवस्था छ । घर परिवारले आफ्नो मृतक परिवारलाई प्रेमपूर्वक विदा त कुरै छोडौ छुन र देख्न समेत नपाएको अवस्था छ । आम जनताले यो के भएको हो किन र कसको कारण भएको हो सामान्य जानकारी समेत पाउने अधिकार राख्दैनन् तर उता शक्तिशाली भनिएका राष्ट्रहरू एकआपसमा दोषारोपण र वाद प्रतिवाद गरिरहेका छन् । आजको दिनसम्म बहस, विचार, विर्मशआपसी सहयोग एवं मानवीय सम्वन्ध स्थापना गर्ने चाहना र फुर्सद कसैलाई छैन । संसार भर केवल सन्नाटा र भय एवं अन्धकार छाएको छ । यो सन्नाटा र अन्धकार वास्तवमा एउटा आँधी र त्यसपछिको आकाश खुल्ने उज्यालो छाउने, अध्याँरो वादल हट्ने, अनि प्रदुषित वातावरण सफा हुने अवसरको संकेत पनि हो भनेर आशा मात्र हैन विश्वास गर्न सकिन्छ ।
पूर्वबाट उदाउने सूर्यसँगै अब आकाश पनि पूर्वबाटै खुल्नुपर्दछ । संसारभर हाम्रो अभिवादन, नमस्कार, हाम्रो शैली र संस्कार, सभ्यता, पहिचान, रहनसहन, जीवनशैली, आदर सत्कार, आर्दश, दर्शन, योग, शास्त्र, सबैलाई संसारले आत्मसात गर्ने बेला आएको छ । र गर्ने सम्भावना बढेको पनि छ । बस, हामीले एउटा सम्भावनाको दियो बालेर संसारभर फैलाउन सक्नुपर्दछ । पूर्वीय सभ्यतामा अभ्यस्त रहेका मुलुकहरु मध्ये खासगरी भारत र नेपालले यसको नेतृत्व गर्ने अवसर आएको छ । कोरोनाको बहानामा चीनसँग सबै वैरभाव थाँती राखी विश्व अर्थ व्यवस्था र विश्व राजनीतिको नेतृत्व गर्दै गरेको चीनसँग मिलेर अघि वढ्न भारतले सक्नुपर्दछ । सँगसँगै चीन र भारतको बीचमा सुन्दर मितेरी पुलको भुमिकामा रहेर आफ्नो अर्थतन्त्र मजवुत बनाउदै नेपाललेसमेत विश्वभर आफ्नो पूर्वीय दर्शन, कला, संस्कृति र सभ्यता स्थापित गर्न सक्नुपर्दछ । आफ्नो सभ्यता र संस्कारलाई बेवास्ता गरेर देश सम्पन्न र सुखि कदापी हुन सक्दैन । विश्वको ध्यान यतिखेर दक्षिण एसिया खास गरी यस सार्क क्षेत्र र चिनमा केन्द्रित भैरहेको छ । अहिले सार्कको अध्यक्ष नेपाल रहेको र भारतलेसमेत सार्क मुलुकलाई महत्व दिइरहेको यस अवस्थामा विश्व राजनीतिमा विहङ्गम प्रभाव मात्र होइन नेतृत्व गर्न सक्ने दुई मुलुक भारत र चीनलाई अहिले असल समन्वयकर्ताको टडकारो खाँचो पनि परेको छ । दुवै मुलुक स–सम्मान विन–विन सिद्धान्तको आधारमा आपसमा नजिक हुने वहाना खोजिरहेका छन् । यस अवस्थामा कोरोना महामारी Covid–19 World war –3 मा विजय हाँसिल गर्दै गरेको चीनलाई SAARC मा समाहित गरी आफ्नो सबल नेतृत्व स्थापित गर्ने अवसर प्राप्त भएको छ । यो अवसर केवल व्यक्ति, नेता, मन्त्री, सरकार र पार्र्टी मात्र सफल हुने अर्थात् पश्चिमा राष्ट्रहरूले भनेजस्तो कोभिड –१९ माथिको विजय वा पराजय मात्र होइन यो त अब समाजवादी ब्यवस्था स्थापित गर्ने अवसरको रुपमा परिणत गर्न सकिने weapon less world war covid-19 हो भन्ने मलाई लाग्दछ । यो अवसरमा योगदान गर्ने अवसर हामी जनताले समेत पाएका छौ । घरभित्र बसेर आफुलाई जोगाईमात्र रहेका वा केवल कोरोनासँग मात्र लडिरहेका छैनौँ, हामी समान, अधिकार, समान स्वास्थ्य अवसर, स्वस्थ जिवन जिउने अधिकार, शान्त विश्व, अराजकता, घमण्ड, अत्याचार, दादागिरी, अज्ञानता, अर्धचेतना, लापरवाही, उपेक्षा, उत्पिडन, हिनताबोध र सवै प्रकारका विकृति बोकेको अन्धकार विरुद्ध जुध्ने र यसलाई पराजित गर्दै हाम्रो चन्द्र सूर्य झण्डा अंकित पासपोर्टलाई समेत विश्ववजारमा सम्मान दिलाउने अवसर पाएका छौ । सँगसँगै हामीले तेश्रो विश्व यूद्ध (W.W.W–III)मा हामी विजयी हुने संंकल्प, प्रतिज्ञा, वाचा र प्रतिवद्धताका साथ यो कोरोना (Covid–19) माथि.विजयी भएको उद्घोष गर्दै आफ्नै घरभित्रको स्व–क्वारेन्टाईन तथा बङ्करभित्रबाट निस्कने छौ । श्रमजिवी जनताको साँचो समाजवादी राज्यव्यवस्था निर्माणको दिशामा अघि वढनेछौँ, सँगसँगै यस जीवन जगतमाथि विजय हासिल गर्दै देश दुनियाँको नेतृत्व समेत गर्ने छौ । धन्यवाद ।