होमपेज / विचार

डाक्टर बन्ने कि क्रिकेटर ?

मिलन पाण्डे

नेपाल गाथा २०७५ माघ ३ गते बिहीबार ००:३५:४४ मा प्रकाशित

अहिलेको शिक्षाले धेरै व्यक्तिलाई प्राकृतिक प्रतिभा अनि रुचिबाट मोडेको छ। हाम्रो शिक्षा ‘फास्ट फुड’ मोडलमा गयो। स्कुल भर्ना हुने, सर्टिफिकेट बटुल्ने। फास्ट फुडले हाम्रो शरीर बिगारेझैं यो शिक्षा प्रणालीले हाम्रो जीवन बिगार्दै छ।

सन् १९४० को दशक थियो, ‘एल्भिस प्रेस्ली’ विद्यालयमा औसत छात्र थिए। उनी खासै शिक्षकहरूको नजरमा पर्दैन थिए। उनको पढाइलाई लिएर परिवार चिन्तित थियो। उनी एकान्तमै बस्न रुचाउँथे। आठ कक्षामा पढ्दै गर्दा प्रेस्लीको संगीतमा सी ग्रेड आयो। उनको शिक्षकले उनमा गायकमा हुनुपर्ने गुण नै नभएको बताएका थिए। यतिसम्म कि उनलाई ‘ग्ली क्लब’बाट (एक सांस्कृतिक समूह) बाहिरै राखियो। उही प्रेस्ली पछि महान् अमेरिकी गायक अनि कलाकार भएर निस्किए। उनलाई संसारले ‘किंग अफ रक एन्ड रोल’ भनेर चिन्छ।

प्रत्येक कक्षामा गायन, नृत्य, साहित्य, खेल लगायतका बादशाह बन्न सक्ने प्रतिभा छन् तर हाम्रो शिक्षा प्रणालीले उसलाई प्रत्येक पल निरुत्साहित गर्दैछ। भर्खरै दसैं सकिएको छ। लगभग सबै विद्यार्थी ‘डाक्टर बनेस्, इन्जिनियर बनेस्’ भन्ने आशिष् थापेर स्कुल फर्किएका छन्। गायक, खेलाडी, कलाकार बन्ने सपना देख्ने विद्यार्थीलाई हाम्रो समाजले पनि त्यो ‘स्पेस’ दिएको छैन।

आर्ट्स भर्सेस साइन्स

पिकासोले भनेका थिए, ‘प्रत्येक बच्चा कलाकार हो।’ तर, जब हामी ठूलो हुँदै जान्छौं, हामी आफैंभित्रको त्यो मौलिक कला भुल्दै जान्छौं। यसको पछाडि म हाम्रै शिक्षा प्रणालीको खोट देख्छु। हामी विषयहरूलाई महत्वपूर्ण अनि अ–महत्वपूर्ण भनेर शिक्षाको वर्गीकरण गर्छौं। विज्ञान, गणित जस्ता विषयलाई प्राथमिकतामा राख्छौं अनि सामाजिक शिक्षा, नेपाली, वातावरण जस्ता विषयलाई चाहिँ हेला नै गर्छौं। अतिरिक्त क्रियाकलाप त महिनाको अन्तिम शुक्रबार पानी नपरे अनि घाम नलागे कहिलेकाहीँ गर्ने विषय भइहाल्यो। कला अनि समाजलाई दोस्रो दर्जामा राखेर कस्तो समाज बनाउन तम्सिएका छौं ? हामी ‘शिक्षित रोबोट’ तयार गर्न तत्पर देखिएका छौं।

मेरो एकजना बोर्ड फस्र्ट साथी छ। उसलाई एसएलसीपछि साहित्य पढ्न मन रहेछ। कसैले उसलाई साहित्य पढ्न प्रेरित गरेन। राम्रो पढ्ने विद्यार्थीले साइन्स नै पढ्नुपर्छ भनेर साइन्स पढाइयो। उसले मन मारेर, आफ्नो रुचिको बलि चढाएर, आफूलाई पीडा दिएर साइन्स पढ्यो। आफ्ना कवितालाई जीव विज्ञानको कापीको अन्तिम पृष्ठमा खुम्च्याउनु पर्‍यो। यो विभेदकारी व्यवहार विस्तारै हाम्रो शिक्षा प्रणालीको संस्कार बन्दै गएको छ, विकृतिका रूपमा स्थापित हुँदैछ।

नेपालमा पनि कति मेस्सी, कति तेन्दुलकर, कति चार्ली च्याप्लिन अनि कति सेक्सपियरहरू प्रेरणाको अभावमा आफ्ना सपना मारेर पीडादायी जीवन बिताउन बाध्य छन्। यसको पछाडि हाम्रो शिक्षा प्रणाली दोषी छ। हाम्रो शिक्षा प्रणालीमा चरालाई पानीमा पौडिन लगाउँछौं अनि माछालाई रूख चढ्न। अनि कसरी विद्यार्थी सफल हुन्छन् ? आज पनि १ कक्षाबाट १० कक्षा पुग्दा करिब ६५ प्रतिशत विद्यार्थीले विद्यालय छाड्छन्। किन ? उत्तर कसले खोज्ने ? किन विद्यार्थीहरू स्कुल जाँदा जेल गएजस्तो महसुस गर्दैछन् ? आज विद्यार्थीको जनमत लिने हो भने कति विद्यार्थीले आफ्नो स्कुलप्रति गर्व गर्लान् ?

अहिले लोकसेवामा नाम निकाल्ने, सीए पढ्ने, व्यवस्थापन पढ्ने अधिकांश युवा साइन्स विधाबाट आएका भेटिन्छन्। यहाँ उनीहरूले एसएलसीपछि नै आफ्नो विधाको विषय पढ्न पाएको भए कति फाइदा हुन्थ्यो होला ? मेरा मित्र पुकार बमलाई समाजसेवाको क्षेत्रमा जानु थियो। तर, ‘सामाजिक अनि शैक्षिक तत्व’ले साइन्स पढेर डाक्टर बन्न दबाब दियो। भौतिकशास्त्रको किताबभित्र लुकाएर राजनीतिका पुस्तक पढ्न बाध्य पारियो। यसरी जबरजस्ती गर्दा आफ्नो रुचिलाई मारेर अरूका लागि पढिदिनुपर्‍यो। अरूका लागि पढेर हामी कति सफल रहन सकौंला र ? यो भन्दा महत्वपूर्ण प्रश्न त जुन असफलता अनि निराशा आफ्नो इच्छा नभएको विषय पढेर पाइन्छ, त्यसले जिन्दगीभर एकजना व्यक्तिलाई आफ्नै नजरमा असफलताको ट्याग भिराइदिन्छ। मनमा आफैंप्रति ग्लानि उब्जाइदिन्छ। विद्यालयका भित्ताहरूले पनि गलत सन्देश दिँदै छन्, डाक्टर अनि इन्जिनियर बनेका विद्यार्थीको मात्र फोटो झुन्ड्याएर। के डाक्टर र इन्जिनियर मात्र सफल विद्यार्थी हुन् त ?

स्कुलको काम नै विद्यार्थीलाई ‘ऊ को हो ? ’ अनि ‘केमा राम्रो छ ? ’ भनेर उसको प्रतिभा उजागर गर्ने हो। मेरो आरोप, आज विद्यार्थीको बाधक हाम्रा स्कुल आफैं बन्दै छन्। विद्यार्थीलाई बाटो देखाउनुपर्ने ठाउँमा स्कुल आफैंले विद्यार्थीको बाटोमा भाँजो हाल्दै छन्। जीवन आफैं सप्तरंगी छ। समाज बहुआयामिक छ। हाम्रो शिक्षा प्रणालीले कलालाई दोस्रो दर्जामा राखेर समाजको सन्तुलन बिगार्दै छ। विज्ञान र प्रविधि महत्वपूर्ण छ तर यतिले मात्र समाज अनि संसार चल्दैन। देशका निम्ति त दर्शन, विज्ञान, राजनीति, अर्थनीति, साहित्य सबै चाहिन्छ। सांस्कृतिक क्षेत्र, साहित्य, कला, संगीत, गीत, नृत्य, चित्रकला, मूर्तिकला, मूर्त कला, अमूर्त कला, हास्यव्यंग्य, नेतृत्व आदि अनेकौं विषयलाई उठाउन हाम्रो शिक्षाले सक्नुपर्छ। त्योभन्दा बढी त शिक्षाले विद्यार्थीको प्रतिभालाई उजागर गरेर जीवनको बाटो देखाउनु जरुरी छ। शिक्षाको काम नै यही हो, सर्टिफिकेट बटुल्नु मात्र होइन।

जागिरे शिक्षा

सर्वेक्षण गर्ने एक अमेरिकी कम्पनी ‘ग्यालप’ले एउटा अनुसन्धान गरेको थियो। उक्त सर्वेक्षणले एसियाका विभिन्न देशमा गरेको अनुसन्धानको निष्कर्ष निस्कियो, करिब ७० प्रतिशत मान्छे आफ्नो काम मन लगाएर नगरेको स्वीकार्छन्। कारण थियो, ‘यो मेरो विधा नै होइन’ भन्ने। रुचिले साथ दियो भने एक घण्टा काम गर्दा पनि पाँच मिनेटजस्तो लाग्छ अनि मन नलागेको काम गर्नुपर्‍यो भने पाँच मिनेट पनि एक घण्टा जस्तो लाग्छ।

हामीले विद्यार्थीलाई जागिरका लागि योग्य बनाउने शिक्षा प्रणाली भित्र्यायौं। दोस्रो श्रेणीमा आउने विद्यार्थी किन उद्यमशीलतामा लाग्छ अनि प्रथम श्रेणीमा आउने विद्यार्थी किन त्यही कम्पनीमा काम गर्छ भन्ने कुरा हामीले बुझेनौं। हामीले दोस्रो श्रेणीमा आउने विद्यार्थीको नम्बरबाहेक अन्य कुरा जाँच गर्‍यौं ? अहँ, गरेनौं ! हाम्रो शिक्षा अनि परिवारको साध्य नै ‘पढ, ए प्लस ल्याऊ, राम्रो जागिर खाऊ, घर बनाऊ अनि गाडी किन’भन्दा माथि उठ्न सकेन। हामीले बच्चाको क्षमताको विकासमा ध्यान दिनेभन्दा पनि नम्बरमा उसलाई दाँज्यौं। त्यही नम्बरका आधारमा जागिर खायौं। नतिजा आज हाम्रोअगाडि छ।

आज पनि हाम्रो शिक्षा प्रणालीले आत्मनिर्भर हुनेभन्दा पनि जागिरे मानसिकतालाई प्राथमिकतामा राखेको छ। झन्, समाजले पनि पढेको मान्छेले कृषि गर्नु हुन्न, लेखन, गायन, खेलमा लाग्नु हुँदैन, जागिर खाएन भने त बिग्रियो भन्ने मानसिकता राख्छ। हाम्रो सोच्ने घेरा नै सानो छ। अहिले एउटा राम्रो ‘फुड स्टाइलिस्ट’ले प्रतिवर्ष ७७ हजार डलर तलब खान्छन्। खोइ हाम्रो डाक्टर अनि इन्जिनियरलाई मात्र सफल मान्ने शिक्षा प्रणालीले बुझेको ?

ज्ञान ठूलो कि शिक्षा ?

अहिले एक कक्षामा भर्ना गर्न पनि पाँच वर्षको बच्चाले अन्तर्वार्ता दिनुपर्छ, आफ्नो बायोडाटा लिएर। एक कक्षाको बच्चालाई केही ‘बोरिंग’ प्यानलको अगाडि उभ्याइन्छ अनि प्रश्न सोधिन्छ। जिन्दगीको पहिलो खुड्किलामै दौड सुरु हुन्छ। त्यो दौड केका लागि ? कोसँग ? बिल गेट्स, स्टिभ जब्स, मार्क जुकेरबर्ग, पारस खड्काले निरन्तर स्कुल, कलेज गएर स्कुलले सिकाएको मात्र पढेको भए के उनीहरू सफल हुन्थे ? हुँदैन थिए। राम्रो कर्मचारी वा मास्टर बन्थे होला। मेरो अर्थ, स्कुल जानु पर्दैन भन्ने कदापि होइन तर जसरी स्कुल गएरै सबै कुरा हुन्छ जस्तो गरिएको छ, त्योचाहिँ हुँदै होइन भन्ने हो। केही विद्यार्थीका लागि हाम्रा स्कुल अनि यो शिक्षा प्रणाली नै अयोग्य छ भन्ने हो।

गणित र विज्ञानको ‘अल्फा’, ‘बिटा’, ‘गामा’ले मात्र समाज बन्दैन, जिन्दगी चल्दैन। त्यसैले अब विद्यार्थीलाई जिन्दगीसँग जोडिएको शिक्षा सिकाउन जरुरी छ। मेरो भाइको एकजना साथीले काठमाडौंको प्रसिद्ध कलेजमा विज्ञान विषय पढ्यो। ऊ राम्रो पढ्ने विद्यार्थी हो। तर, कलेजको कडाइ अनि नियमले ऊ यति डिप्रेसनमा गयो कि उसले एक वर्ष कलेज छोडेर औषधि नै खानु पर्‍यो। विद्यार्थीको जीवन नै जोखिममा पार्ने शिक्षा कसका लागि ? यो शैक्षिक आतंक किन ? विद्यार्थी फेल गराउने अनि फेल भएपछि बुवाआमालाई समेत बोलाएर गाली गरेर बुवाआमालाई समेत तर्साउने शिक्षा किन चाहियो ? आफ्नै परिवार अनि साथीभाइले चिट चोराउन परीक्षा केन्द्रअगाडि मरिहत्ते गरेर पास हुनुको औचित्य के ?

सफल हुन डिग्री नै चाहिन्छ भन्ने पनि छैन। औपचारिक शिक्षालाई यति धेरै औपचारिक पनि नबनाऔ‍ं ता कि जिन्दगी नै सानो लागेर आत्महत्या गर्नु परोस्। बरु नैतिक अनि व्यावहारिक शिक्षामा जोड दिऔं। पढाउन बन्द गरौं। जीवन उपयोगी अभ्यास गराउन सुरु गरौं। अहिले हामीलाई पढाइएको जस्तो जिन्दगीको बाटो सोझो छैन। यो त अहिलेका काठमाडौंमा बन्दै गरेका ‘कोलोनीको बाटो’ जस्तो छ। पहिल्याउन सके सहज नत्र चुनौतीपूर्ण। तसर्थ, जिन्दगीको बाटो सहज बनाउने हो भने विद्यार्थीले रोजेको अनि उसको रुचि भएको बाटो हिँडाउनुको विकल्प छैन।

अहिले नेपालमा पनि खेलको क्षेत्र, गायनको क्षेत्र, लेखन, साहित्य, कलाकारिता लगायतको क्षेत्र राम्रो छ। नाम–प्रतिष्ठा मात्र होइन, कमाइ पनि राम्रो छ। तसर्थ, रुचि तथा लगावलाई पछ्याउनेले पैसा कमाउँछ। तर, चिन्ता त्यो रुचि तथा लगावलाई स्कुलले मारिरहेको छ भन्ने हो। स्कुल जाने हरेक विद्यार्थीलाई स्कुल जान नपरे हुन्थ्यो जस्तो लाग्छ। स्नातक तह पढ्दै गर्दा मैले त्रिचन्द्र कलेजको प्रयोगात्मक परीक्षामा आफूले ल्याबमा केही नगरी साथीहरूको फाइल सारेँ। सबैले त्यही नै गर्‍यौं। नम्बर पनि राम्रो आयो। के काम ?

नेपालमै पनि कत्तिले वातावरणमा विद्यावारिधि गरेका छन्। तर, आफ्नो वरपरको वातावरण बिग्रेको देख्दादेख्दै पनि एक शब्द नबोल्ने त्यो विद्यावारिधिको के काम ? प्राध्यापक भएर कलेजको बेथितिबारे मौन बस्ने त्यो प्राध्यापनको के काम ? कानुनकै पट्टी बाँधेर अन्याय हेरेर बस्ने वकालती शिक्षाको के काम ? हामीले के पढाएछौं ? कसरी पढाएछौं ? कस्तो नागरिक बनाएछौं ? तसर्थ, शिक्षा नै सबै कुरा होइन। शिक्षाभन्दा चेत वा ज्ञान पो महत्वपूर्ण रहेछ। ज्ञान औपचारिक नहुन पनि सक्छ। १५ वर्ष बिहान १० बजेदेखि ५ बजेसम्म झोलै बोक्न पर्दैन। अहिले डा. रामेश कोइराला रेलको बारेमा इन्जिनियरभन्दा बढी ज्ञानसहित लेखहरू लेख्दै छन्। पत्रकार अमित ढकाल प्राज्ञिक अध्ययनमा नै बहस चलाउन सक्ने क्षमता राख्छन् भने स्कुलले दिएको शिक्षा ठूलो कि रुचिअनुरूप पाएको ज्ञान ठूलो भन्ने छलफल अब गरिन जरुरी छ।

‘फास्ट फुड’जस्तै शिक्षा

हाम्रो शिक्षा प्रणाली रेस्टुरेन्टमा गएर मम चाउमिन खाएजस्तो फास्ट फुड प्रणालीमा गएको छ। प्रत्येक बच्चा (जुम्ल्याहासहित) फरक हुन्छन्। उनीहरूको सोच्ने तरिका अनि रुचि फरक हुन्छ। तर, जबर्जस्ती उनीहरूलाई त्यही कुरा एउटै तरिकाले पढाइँदै छ। यो शिक्षा प्रणाली ‘उत्पादन प्रणाली’बाट सञ्चालित छ। तर, अब यसलाई परिवर्तन गरेर कृषकको जस्तो ‘अर्गानिक’ मोडेलमा लैजान जरुरी छ। अर्थात्, विद्यार्थीलाई सिक्ने वातावरण बनाइदिने। शिक्षकले मलजल गर्ने, पानी हाल्ने, वातावरण मिलाउने तर आफैं फल्ने वातावरण तयार गर्ने। विद्यार्थीको विकास यान्त्रिक प्रक्रिया होइन, ‘अर्गानिक’ प्रक्रिया हो। जिन्दगी तपाईंले लिएको बाटाहरूले निर्धारण गर्छ। मोडहरू कुन लिइन्छ, कुन छोडिन्छ, जोखिम कति लिने, कतिसम्म अघि बढ्ने, यी सबैले अर्थ राख्छ। यी कुरा कहाँ छन् हाम्रो शिक्षा प्रणालीमा ?

केही दिनअघि एकजना मेरो साथी भन्दै थिए, अहिलेका स्कुलहरूमा पढ्थे भने महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि सायद नेपालीमै फेल हुन्थे। किनकि सिर्जनशीलता नाप्नसक्ने, मूल्यांकन गर्नसक्ने क्षमता हाम्रो यो प्रणालीमा छैन। हाम्रो शिक्षा प्रणालीले मनोबल गिराउँदै छ। तिमीले जानेको होइन, किताबले भनेकै गर्ने हो भन्ने भ्रम छर्दै छ। मैले जिन्दगीमा धेरै मानिस भेटेको छु जो आफ्नो काम अनि जिन्दगीसँग खुसी छैनन्। बस्, काम गरिरहेका छन्, जिन्दगी काटिरहेका छन्। अनि शिक्षाले उनीहरूको जीवन परिवर्तन गरेको खोइ त ? यसका कारण धेरै होलान् तर प्रमुख कारण हाम्रो शिक्षा हो। अहिलेको शिक्षाले धेरै व्यक्तिलाई प्राकृतिक प्रतिभा अनि रुचिबाट मोडेको छ। हाम्रो शिक्षा ‘फास्ट फुड’ मोडलमा गयो। स्कुल भर्ना हुने, सर्टिफिकेट बटुल्ने। फास्ट फुडले हाम्रो शरीर बिगारेझैं यो शिक्षा प्रणालीले हाम्रो जीवन बिगार्दै छ।

निष्कर्ष

३० वर्षभन्दा माथि उमेर भएका अधिकांश मान्छेले घडी हातमा लगाउँछन् किनकि उनीहरू त्यस्तो समयमा हुर्किए जति बेला समय थाहा पाउन घडी लगाउनु  पर्थ्यो। तर, आज ३० वर्ष मुनिका युवालाई हेर्नुभयो भने तपाईंले घडी लगाएको पाउनुहुन्न। किनकि अब समय थाहा पाउन घडी लगाइरहनु पर्दैन। यो समयले ल्याएको परिवर्तन हो। समय निकै बदलिएको छ। तर, हाम्रो शिक्षणपद्धति १८औं शताब्दीदेखि जहाँको त्यहीँ छ। यो डिजिटल युग हो। त्यसैले शिक्षा पनि बदलिन जरुरी छ। शिक्षामा सामान्य सुधार होइन क्रान्ति नै चाहिएको छ। मैले धेरै शिक्षाविद्सँग यो क्रान्तिको कुरा गर्दा, ‘इन्डियामा, एसियामा यस्तै छ, हामीले के गर्ने ? ’ भन्ने उत्तर पाएको छु। उनीहरू बदलिएपछि हामी बदलिन्छौं भन्ने आभास पाउँछु। मेरो फरक मत छ, यो प्रणाली गलत छ भने परिवर्तनका लागि नकुरौं। नेपालले नै सुरु गरौं। संसारलाई बाटो देखाऔं।

यो लेख लेख्दै गर्दा रातको ३ बजेछ। मैले आजसम्म ११ बजेपछि कुनै पनि परीक्षाका लागि पढेको छैन। जिन्दगीमा कहिले निद्रा मारेर गृहकार्य गरेको छैन। कक्षाको तयारी राति नसुती नसुती गरेको छैन। तर, आज रातभर लेखहरू लेख्न सक्छु। अतिरिक्त पुस्तक रातभर पढ्न सक्छु। कार्यक्रमको तयारीमा रातभरि जुट्न सक्छु। किनकि, त्यसमा मेरो रुचि छ। तसर्थ, शिक्षाले विद्यार्थीको रुचि पहिचान गर्न सक्नुपर्छ। एउटा कक्षामा ३० जना हुन्छन्, सबको कसरी गर्नु ? भन्ने प्रश्नै नगरौं। त्यही भएर त गुरु चाहिएको नि ! त्यही प्रयोजनका लागि नै त विद्यालय चाहिएको।

मलाई अझै सम्झना छ, मैले एउटा जीवविज्ञानको कक्षामा ४५ मिनेट, ४४ मिनेट, ४३ मिनेट गरेर कापीमा लेख्दै समय काटेको छु। अनि, म नै त्यो कक्षाको टपर पनि थिएँ। मैले स्कुलमा हुँदा कक्षा टप गरेँ। प्लस टुमा पनि राम्रो नम्बर ल्याएँ तर जीवनोपयोगी सिकाइ मलाई सिकाइएनछ। बरु स्नातकमा गएर फेल भएँ, कक्षामा कम गएँ तर धेरै कुरा सिकेँ। ‘एनेस्थेसिया’ लगाएको जस्तो जबर्जस्ती विद्यार्थीलाई नम्बरको लोभमा लठ्याएर कसैलाई फाइदा छैन। प्रत्येक विद्यार्थी भोलिको आइन्स्टाइन, बीपी, सचिन, रोनाल्डो बन्न सक्छन्। त्यो सपना बोकेर उभिन सक्छन्। कतिमा त्यो प्रतिभा लुकेको हुन सक्छ। शिक्षाले अनि विद्यालयले त्यो प्रतिभा उत्खनन गर्ने हो। विद्यार्थीलाई मोडेर अर्कै बनाउने होइन। विद्यार्थीको रुचिअनुरूप उसलाई प्रेरित गर्ने हो। रुचि मार्न लगाउने होइन। मेरो छोरा साढे तीन वर्षको हुँदै छ। मलाई छोरालाई स्कुल हाल्न डर लागिरहेको छ। कतै मेरो क्रिकेटर बन्ने प्राकृतिक प्रतिभा लिएर हुर्किंदै गरेको छोरालाई, हाम्रा स्कुलले डाक्टर पो बनाइदिन्छ कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

Top