होमपेज / समाज

हुम्लाकामा खोरेतको महामारी, तीन दर्जन पशु मरे

नेपाल गाथा २०७६ श्रावण २२ गते बुधबार ११:२९:२९ मा प्रकाशित

हुम्ला । हुम्लाका तीन गाउँपालिकामा फैलिएको पशुमा देखिएको खोरेत रोग अझै नियन्त्रण आएको छैन। खोरेत रोग फैलिएर गाईवस्तु मरे पनि गाउँपालिकामा रहेका भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रका कर्मचारी बेखबर छन्। सर्केगाड, खार्पुनाथ र सिमकोट गाउँपालिकामा फैलिएको खोरेत रोगले अहिलेसम्म तीन दर्जनभन्दा बढी गाईवस्तु मरेको किसानहरुले बताए ।

सर्केगाडको राहदेव र खार्पुनाथको वडा नम्बर १ र ५ तथा सिमकोटको वडा नम्बर ७ र ८ मा रहेको खर्कमा चरिचराउनका लागि लगिएको गाईवस्तु मरेका हुन्। साउन सुुरुदेखि यस क्षेत्रका गाईवस्तुमा खोरेत देखा परेको सिमकोट–७ का धनलाल शाहीले बताए। उनका अनुसार गाईवस्तुमा ज्वरो आउने, झोक्राउने, मुखबाट र्‍याल आउने, खुरमा घाउ आएर हिँड्न नसक्ने, खान छोड्नेजस्ता लक्षण देखा परेको छ। सिमकोट–२ ठेहेको चुवाँखोला सामुदायिक वनमा राखिएका भेडाबाख्रामा पनि यो रोग देखा परेको छ।

खार्पुनाथ–५ दुर्पागाउँमा रहेको खर्कमा लगिएको गाईवस्तु मर्न थालेपछि गाउँपालिकामा उपचारका लागि आग्रह गरे पनि उपचारका पशु स्वाथ्यकर्मी नआएको देवसिंह रोकायाले बताए। ‘गाई, गोरुमा खोरेत रोग देखियो। औषधि गरे पनि निको हुँदैन,’ उनले भने, ‘हरेक दिन गाईगोरु मर्न थालेपछि चिन्तित छौं।’

यस क्षेत्रमा एक दर्जन गाईवस्तु मरिसकेको उनले बताए। सर्केगाढको राहदेव गाउँमा दुई दर्जन गाईवस्तु मरेको विकास रोकायाले जानकारी दिए। उनका अनुसार तीनवटा गाउँपालिकामा करिब ३०० वटा गाईवस्तुमा खोरेत रोग लागेको छ। खार्पुनाथ गाउँपालिका औषधि भए पनि स्वास्थ्यकर्मी नभएकाले समस्या भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए। यता, सिमकोट गाउँपालिका पशुस्वाथ्य शाखाका प्रमुख महेन्द्रबहादुर शाहीका अनुसार खोरेतको औषधि नभएकाले उपचारमासमस्या भएको हो।थाहाबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top