होमपेज / समाज

कर्णालीको फूटपाथमा अर्ग्यानिक तरकारी, सरकारी नारा ‘बेपत्ता’

नेपाल गाथा २०७६ श्रावण १६ गते बिहीबार १६:३७:५९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने महत्त्वाकांक्षी योजना भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघि सार्‍यो ।

सरकारले बडो तामझामका साथ कर्णाली प्रदेशलाई अर्ग्यानिक बनाउने भन्दै कर्णालीमा विज्ञ समेत बोलाई अध्ययन गर्न लगायो ।

यति मात्रै होइन, मन्त्रालयले कर्णाली प्रदेशलाई विषादीमुक्त बनाउने भन्दै विषादी परीक्षण केन्द्र रुकुमको चौरजहारी र हर्रे डाँडामा स्थापना गर्ने भनेर आर्थिक वर्ष २०७५/०७६ मा बजेट समेत विनियोजन गरेको थियो तर बजेट कार्यान्वयन गर्न सकेन ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्राङ्गारिक मल उद्योग खोल्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजनासमेत तुहियो । ‘कर्णाली प्रदेशलाई अर्ग्यानिक बनाउन सजिलो छ । ७५ प्रतिशत जमिन अर्ग्यानिक नै छ,’ धेरै उत्साहित हुँदै मन्त्री विमला केसीले भनेकी थिइन्, ‘हामी कर्णाली प्रदेशलाई अर्ग्यानिक बनाइछाड्छौं ।’

कर्णालीमा २ पटक आफ्नै बजेट आइसकेको भएपनि कर्णाली प्रदेशमा अर्ग्यानिक उत्पादनको वृद्धि हुन सकेको छैन । बरु भारत तथा अन्य जिल्लाबाट विषादी प्रयोग गरिएको खाद्यवस्तु कर्णालीमा भित्रिरहेको छ । रासायनिक मलको प्रयोग दिनहुँ बढ्दै गएको छ ।

कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेका अधिकांश फूटपाथ व्यवसायीले सरकारको सपना पूरा गरिरहेका छन् भन्दा फरक नपर्ला । जहिले पनि सिजनमा उत्पादन हुने तरकारी फूटपाथमा बिक्री भइरहेको छ । विषादीरहित तरकारी खान नगरवासीको भीड फूटपाथतिर देखिन्छ ।

वीरेन्द्रनगरको सबैभन्दा बढी व्यस्त हुने चोक वीरेन्द्र चोक हो । चोकमा विगत १० वर्षभन्दा पहिलेदेखि नै जैकला विश्वकर्माले अर्ग्यानिक तरकारी बिक्री गर्दै आइरहेकी छन् । उनी सधैं सिजनअनुसार पाइने तरकारी बिक्री गर्ने गर्छिन् । हाल बगाले च्याउ, तामाको सिजन छ । उनीसँग अदुवा र ताजा तरकारी पनि छ ।

‘च्याउ हामीले अरुबाट किन्ने गरेका छौं,’ उनले भनिन् । प्रतिकिलो १ हजार ६ सयको दरमा खरिद बिक्री भइरहेको बगाले च्याउ अर्ग्यानिक च्याउको बिम्बको रुपमा मानिन्छ । तामा, पट्यौला लगायत जंगलमा पाइने जंगली तरकारीबाहेक उनले टिमुर, अदुवा लगायत मसला पनि बिक्री गर्दै आइरहेकी छन् ।

‘मैले स्थानीय तरकारी, वनमा पाइने तरकारीजन्य खाद्यपदार्थ खरिद गर्दै बिक्री गर्दै आइरहेकी छु,’ ८७ वर्षीया वृद्धा विकले भनिन्, ‘म दिनको ५ सय रुपैंयाँ शुद्ध मुनाफा गर्छु ।’ यसपालि बजारमा च्याउ कम आएको उनले बताइन् ।

भैरवस्थानकी नन्दा न्यौपाने पनि फूटपाथमा नै अर्ग्यानिक तरकारी बिक्री गरिरहेको भेटिन्छिन् । ‘गाउँमा जे उत्पादन भयो हामी त्यही नाम्लोमा राखेर बिक्री गर्दै आइरहेका छौं,’ उनले भनिन्, ‘त्यतिधेरै आम्दानी नभएपनि गाउँ तथा वनजंगलमा भएका तरकारी, फलफूल खरिद गर्दै बिक्री गर्दै आइरहेका छौं ।’ उनले आफूलाई ग्राहकको कहिल्यै कमी नहुने गरेको बताइन् ।

अर्ग्यानिकतर्फ बढ्दै आकर्षण

वीरेन्द्रनगरमा पछिल्लो समयमा अर्ग्यानिक खानपानप्रति आकर्षण बढ्दै गएको छ । ‘विगतमा भन्दा अहिले लोकल आलु, लोकल तरकारी, लोकल कुखुरा तथा खसीको मासु खोज्नेको जमात निकै बढिरहेको छ,’ फूटपाथमा १६ सय रुपैयाँ प्रतिकिलो बगाले च्याउ किन्दै गरेका रामबहादुर कार्कीले भने, ‘म सकेसम्म यहाँबाट मात्रै तरकारी किन्ने गरेको छु । यहाँ तरकारी ताजा पाइने गरेको छ । महंगो भएपनि स्वस्थकर हुने हुँदा यहीँबाट थोरै भएपनि तरकारी लिने गरेको छु ।’

सरकारले लोकप्रियता कमाउन अर्ग्यानिकको नाराअघि सारेकोजस्तो महसुस भएको संगीता शाहीको आरोप छ । ‘प्रदेश सरकारले अर्ग्यानिकको नारा मात्रै ल्याएकोजस्तो महसूस भएको छ,’ उनले भनिन्, ‘नारा ल्याउने, बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने यो कस्तो अर्ग्यानिक कर्णाली हो ?’ उनले प्रश्न गरिन्, ‘चिल्ला भाषणभन्दा पनि सरकारले व्यावहारिक नारा बनाई काम देखाउन किन सक्दैन ?’ अर्ग्यानिक प्रदेश बनाउने सरकारी नारा बेपत्ता भएको उनको आरोप छ ।

सरकारले अर्ग्यानिक प्रदेश बनाउने भनेपनि त्यसतर्फ प्राविधिक समस्या भएका कारण अर्ग्यानिक बनाउन नसकेको मन्त्रालय स्रोतको दाबी छ । ‘हामीले अर्ग्यानिक प्रदेश निर्माण गर्न अध्ययन गरिरहेका छौं,’ मन्त्रालय स्रोत भन्छ, ‘एकैपटक कसरी अर्ग्यानिक बनाउन सकिन्छ र ? बिस्तारै विकास गर्दै लैजाने हो ।’लाेकान्तर ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top