होमपेज / समाज

अरनिको सांस्कृतिक सङ्ग्रहालय उद्घाटन

नेपाल गाथा २०७६ असार ३० गते सोमबार ११:३७:३१ मा प्रकाशित

इलाम । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा अरनिको सांस्कृतिक सङ्ग्रहालय उद्घाटन गरिएको छ। आइतबार प्रदेश १ प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले संग्रहलायको उद्घाटन गरेका हुन्। यसअघि जिल्ला प्रशासन कार्यालय रहेको इलाम दरबार कार्यालयको नयाँ भवन बनेपछि खाली रहेको थियो।

इलाम नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको पहलमा सङ्ग्रहालय पुनः स्थापित गरिएको हो। यसअघि इलामको माईस्थान मन्दिर हातामा उक्त सङ्ग्रहालय रहेको थियो। जङ्गबहादुर राणाका ज्वाइँ तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.सं. १९१९ मा इलाम दरबार निर्माण गरेका थिए।

कार्यक्रममा इतिहासका जानकार युद्धप्रसाद वैद्यद्वारा लिखित इलामः इतिहास र विकास नामक पुस्तक विमोचन गरियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, युद्धप्रसाद वैद्य, इलाम नगर प्रमुख महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, प्रदेशसभा सदस्य धीरेन्द्र शर्मासहितका वक्ताले सङ्ग्रहालयको संरक्षणमा ध्यान पुर्‍याउन आग्रह गरे।

पुनःस्थापित सङ्ग्रहालयमा विभिन्न जातजाति विशेषले प्रयोग गरेका सांस्कृतिक पहिचानका सामग्री सङ्ग्रह गरिएका छन्। यसले इलामको महत्त्व अझ बढाउने र बाहिरबाट आएका पर्यटकको इलाम बसाइ लम्याउन अझ मद्दत गर्ने विश्वास लिइएको छ। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top