होमपेज / समाज

कर्णालीलाई भारतकै भर

व्यवसायीक कृषि खेती न्यून

नेपाल गाथा २०७६ असार २५ गते बुधबार १२:४६:१८ मा प्रकाशित

बसन्त भण्डारी, सुर्खेत। प्रदेशमानै पर्याप्त मात्रामा कृषि खेती नहुदा कर्णाली प्रदेशलाई तरकारीमा भारतकै भर पर्नु परेको छ । प्रदेशमा कम मात्रामा उत्पादन हुने स्थानीय तरकारीले पनी भारतीय तरकारीको कारण राम्रो बजार पाउन सकेका छैनन् । 
भारतबाट आउने तरकारी स्थानीय तरकारीभन्दा सस्तो दरमा विक्रि हुने भएकाले बजारमा भारतीय तरकारीको माग नै बढी रहेको व्यवसायीको भनाई छ । यो समयमा विशेष गरेर भारतबाट आलु, प्याज, फर्सी, आँप, केरा, लौका, जस्ता तरकारीहरु नेपालमा धेरै मात्रामा भित्रिने गरेका छन् ।
व्यवसायीक रुपमा कृषि खेतीमा विकास नहुँदा कर्णालीमा बर्षेनी करोडौँ मुल्यको कृषिजन्य वस्तु भारतबाट आउने गरेको व्यवसायीको भनाई छ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानीक प्रदेशको नारालाई अघि बढाए पनि व्यवसायीक कृषि खेतीको विकास नहुँदा मागको आधा प्रतिशत बस्तु कर्णालीमा उत्पादन हुन नसकेको उनीहरुको भनाई छ ।  

सुलभ मूल्यमा पाइने, बजारमा सजिलै खपत हुने, बेच्दा धेरै फाइदा हुने भएकाले भारतीय तरकारीको आयात बढिरहेको वीरेन्द्रनगरमा सञ्चालन भइरहेको विन्दु तरकारी तथा फलफुल पसलका सञ्चालक बखत बहादुर शाहीले बताए । 
कर्णाली प्रदेशमा उत्पादन कम हुन्छ । उनले भने, ‘सामान्य रुपमा भएको उत्पादनले सबै क्षेत्रमा पु¥याउन सकिदैन । हामीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न खोजिरहेका छौँ । तर सस्तो र हेर्दा गुणस्तरीय देखिने भारतको तरकारीले अहिले बजार ओगटेको छ ।’

बर्षेनी कर्णालीको जमिन बाँझिदै गइरहेको छ । तरकारी र खाद्यान्नका लागि भारतको भर पर्दै जानुपर्ने अवस्था अन्त्यका लागि सरकारले भाषण गरेर मात्रै समस्या समाधान नहुने व्यवसायीको भनाई छ ।  वीरेन्द्रनगरमा सञ्चालित कृषि बजारका व्यवस्थापक केशर रास्कोटीले दिएको जानकारी अनुसार हाल कृषि बजारमा ६० देखि ७० प्रतिशत भन्दा बढि तरकारी भारतबाट आउने गरेको छ । भने बाँकी प्रदेश नम्बर ५ नेपालगञ्ज, दाङ, प्रदेश नम्बर ३ नारायणघाट, कर्णालीकै विभिन्न जिल्लाबाट तरकारी भित्रिने गरेको छ ।

स्थानीय उत्पादन सिजनमा मात्र आउँछ । उनले भने, ‘सिजनमा जुम्लाको स्याउ आउँछ । दैलेख र सल्यानको सुन्तला आउँछ । अन्य जिल्लामा उत्पादन हुने विभिन्न बस्तुहरु आउँछन् । स्थानीय  उत्पादन सिजनमा मात्रै हो अन्य समयमा ९० प्रतिशत भन्दा बढि तरकारी भारतबाट नै आउने गरेको छ ।’
कर्णाली बाहेक जिल्ला र विशेष गरि भारतमा व्यवसायीक कृषि खेती गरिने भएकाले सबै किसिमको तरकारीहरु सजिलै पाउन सकिने भएकाले बाहिरबाट आयात बढ्दै गएको वीरेन्द्रनगर नगरपालिका ११ का कृषक इमासिंह बस्नेतको बुझाई छ । 

भारतमा प्रविधिको प्रयोगसंगै आधुनिक तरिकाले खेति गरीन्छ । उनले भने, ‘ठूलो क्षेत्रमा खेती गरीन्छ । धेरै उत्पादन हुन्छ । त्यसैले सस्तो पर्छ । हाम्रो ठाउँमा उत्पादनयोग्य जग्गा कम छ । त्यसमा पनी छुट्टा छुट्टै गाउँमा छ । सबै क्षेत्रमा प्रविधिको विकास, सडक विस्तार भएको छैन । व्यवसायीक किसानको अभाव छ ।’

सरकारले विकल्प खोजेर मात्रै भारतबाट आउने तरकारी परिक्षण गर्नु पर्ने व्यवसायीको भनाई छ । भारतिय तरकारीको विकल्प स्थानीय उत्पादन हो । यहाँको अर्गानीक उत्पादन हो । उनले भने, ‘अहिले पनी स्थानीय स्तरमा पुरानै तरिकाले खेती हुने र उत्पादन नभएपछि पेशा नै परिवर्तन गरेर विदेश जाने परम्परा छ ।’

प्रदेश सरकारबाट अहिले सम्म केहि पनी अनुदान पाउन सकिएको छैन । उनले थपे, ‘साँचिकैको किसानले अनुदान पाउन सकेका छैनन् । नक्कली किसानले सरकारको अनुदान पाइरहेका छन् ।’
कृषिलाई व्यवसायीक रुपमा विकास गर्नको लागि व्यवसायीलाई बर्गिकरण गरिनुपर्ने, कृषिको पकेट क्षेत्र घोषणा गर्नु पर्ने, कागजी प्रकृया भन्दा पनी उसको खेतीको मुल्याङ्कन गरेर अनुदान दिनुपर्ने उनको भनाई थियो । 

अर्गानिक नारा सहित अघि बढेको प्रदेश सरकारले प्रचार प्रचार, प्रशिक्षण दिने, अनुगमन गर्ने, महोत्सव गर्ने, वस्तुभाउ वितरण गर्ने जस्ता कामहरु बाहेक कृषिको क्षेत्रमा कुनै उल्लेखनीय कामहरु गर्न सकेको छैन । हाल मन्त्रालयले ल्याएका कार्यक्रमहरु सबै बहुबर्षीय योजनाको 

रुपमा सुस्त गतीमा निमार्ण कार्य भइरहेको छन् । मन्त्रालयले कृषि बजार व्यवस्थापन वीरेन्द्रनगर, कपुरकोट सल्यानलाई लक्षित गरी भेरी करिडोर, राप्ती करिडोर, कर्णाली करिडोर आसपासका क्षेत्रहरुलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने, एक निर्वाचन एक क्षेत्रमा हाइटेक नर्सरीको निमार्ण गर्ने, कृषि अनुसन्धान केन्द्र स्थापना गरेर अर्गानीक कृषि अनुसन्धानका कामहरु गर्ने जस्ता विभिन्न कार्यक्रमहरु सुरु गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवत्ता हरी पण्डितले जानकारी दिए । आर्गनिक उत्पादन बढाउनको लागि आर्गानीक मोडेल कार्यक्रम अन्तर्गत एक जिल्लाको एक पालिकामा फर्म निमार्णको काम जस्ता विभिन्न कामहरु गरिरहेको उनको भनाई थियो । 

निमार्ण भए देखि नै कर्मचारीको समस्या झेल्दै आएको भनेको प्रदेश सरकारले अहिले पनी कर्मचारी अभाव भएको बताएको छ । हाल पनी कर्णालीका विभिन्न मन्त्रालयहरुमा उपसचिव, शाखा अधिकृत जस्ता कर्मचारीको अभाव भएको जानकारी दिइएको छ । मन्त्रालयले गर्नु पर्ने कामहरु कर्मचारी अभावको कारण गर्न नसकिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top