होमपेज / समाज

‘बच्चा छ महिना पुगेपछि सजिलै अण्डा पचाउन सक्छ’

नेपाल गाथा २०७६ असार २१ गते शनिबार १८:५५:३२ मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । बच्चा छ महिना पूरा भएपछि थोरै थोरै गरेर अण्डा खुवाएमा उसको पचाउने शक्ति पनि बढ्दै जाने सुआहारा कार्यालय सुर्खेतमा कार्यरत कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले बताउनु भएको छ ।
युएसएआइडीको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित सुआहारा कार्यक्रम–दुई अन्तर्गतको साप्ताहिक रेडियो कार्यक्रम ‘भन्छिन आमा’मा कुरा गर्दै संयोजक अधिकारीले दूध, जाउलो र लिटोजस्तै अण्डा पनि छ महिना पूरा भएपछि बच्चाले सजिलै पचाउनसक्ने बताउनु भयो ।
हाम्रो समाजमा बच्चाले अण्डा पचाउन सक्दैन भन्ने धारणा गलत भएकाले थोरै थोरै गरेर खुवाउने हो भने अण्डा पनि बच्चाले सजिलै पचाउन सक्ने अधिकारीको भनाई रहेको छ । कार्यक्रम संयोजक अधिकारीका अनुसार अण्डामा धेरै मात्रामा पोषक तत्व पाईन्छन् । जसले गर्दा बच्चाको शारीरिक र मानसिक वृद्धि विकास हुन्छ ।
समाजमा बच्चालाई अण्डा खुवाएमा बोलि फुट्दैन भन्ने भ्रम भएकाले अधिकारीले त्यसो नभई बच्चालाई अण्डा खुवाउँदा झन् छिटो वृद्धि विकास हुनुका साथै बोलि पनि छिटो फुट्ने बताउनुभयो । अण्डा बनाउन पनि सबैभन्दा सजिलो खाना भएकाले यसलाई छोटो समय र थोरै शक्ति लगाएर पनि मिठो परिकार बनाउन सकिने बताउनुभयो ।
यसका साथै ६ देखि १२ महिनाको बच्चाको खानामा अण्डा थोरै थोरै मिसाएर खुवाउँदा बच्चाले पचाउन सक्ने उहाँको भनाई रहेको छ । बच्चाको नियमित खाना जस्तै सर्वोत्तम पिठोको लिटो वा जाउलो बनाउदा उसिनेको अण्डा मिचेर मिसाएर खुवाउन सकिने बताउनु भयो ।
त्यसैगरी मह जस्तै बाक्लो गेडागुडीको दालमा पकाएको साग, गाजर र अन्य तरकारीका साथै उसिनेको अण्डालाई मसिनो गरी मिचेर मिसाएर खुवाउन सकिने अधिकारीको भनाई छ । यसका साथै १२ देखि २४ महिनाको बच्चालाई चामल, गहुँ, फापर, कोदो, मकैको पिठोमा काँचो अण्डा घोलेर रोटी पकाएर पनि खुवाउन सकिने अधिकारीले जानकारी दिनुभयो ।
उहाँले दाल, चामल मिसाएर पकाएको खिचडिमा साग, गाजर र अन्य तरकारीका साथै उसिनेको अण्डालाई मसिनो गरी मिचेर हाल्दा झन पोषिलो हुने बताउनु भयो ।
बच्चालाई यस्तो अण्डा मिसाएको परिकार खुवाएमा बच्चाको शारीरिक र मानसिक वृद्धि विकास हुनुका साथै कुपोषण हुनबाट पनि बचाउन सकिन्छ ।
यस्ता परिकारहरुको बाक्लोपना बच्चाको उमेर अनुसार बढाउदै लैजान सकिने अधिकारीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top