होमपेज / समाज

किन हुन्छ बाल स्वास्थ्य कार्डको महत्व ?

नेपाल गाथा २०७६ असार १७ गते मंगलबार २०:५७:५० मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । बाल स्वास्थ्य कार्ड बच्चाको खोपकार्ड मात्र नभई बच्चाको वृद्धि विकासको बारेमा जानकारी दिने कार्ड पनि हो । यो कार्डले बच्चाको स्वास्थ्य अवस्थाको सम्पूर्ण जानकारीका बारेमा अभिलेख राख्ने गर्दछ । त्यसैले पनि यो कार्डको धेरै महत्व भएको सहरी स्वास्थ्य केन्द्र नेपालगञ्जमा कार्यरत अनमी योशोदा थापाले बताउनुभयो ।
युएसएआइडीको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित सुआहारा कार्यक्रम–दुई अन्तर्गतको साप्ताहिक रेडियो कार्यक्रम ‘भन्छिन आमा’मा कुरा गर्दै थापाले बच्चाको तौलका साथै स्वास्थ्य अनुगमनका लागि बाल स्वास्थ्य कार्डको महत्व रहेको बताउनु भयो ।
हरेक अभिभावकले आफ्नो बच्चाको स्वास्थ्य जाँच गरी सकेपछि बालस्वास्थ्य कार्ड भित्रको संकेत र चिन्हका बारेमा स्वास्थ्यकर्मीसँग सोध्नुपर्ने उहाँको भनाई छ ।
यसका साथै बाल स्वास्थ्य कार्ड भित्र रहेको संकेत र चिन्हका बारेमा परिवारका अन्य सदस्यले पनि चासो राख्नु पर्नेमा अनमी थापाको जोड रहेको छ ।
बाल स्वास्थ्य कार्ड सधै सुरक्षितसँग राख्नु पर्दछ । बच्चाको मासिक तौल लिन जाँदा यो कार्ड सधै लिएर जानु पर्दछ ।
यसै गरी बच्चालाई नियमित तौल लिन वा तौल अनुगमन गर्न स्वास्थ्य संस्था वा गाउँघर क्लिनिकमा सधै लैजानुपर्नेमा परिवारका सबै सदस्यले ध्यान दिनुपनु पर्दछ । आमलाले घरको कामका साथै बच्चाको स्याहार धेरै गर्नुपर्ने भएकाले कामको बोझ धेरै हुनसक्ने बताउदै अनमी थापाले बच्चाको तौल लिन जाने काममा परिवारका अन्य सदस्यले गर्दा राम्रो हुने सुझाब दिनुभयो ।
यसो गर्दा बच्चाको वृद्धि बिकास राम्रोसँग भए नभएको परिवारका सबै सदस्यले थाहा पाउन सक्ने उहाँको भनाई छ ।
बच्चाको नियमित स्वास्थ्य जाँच गर्नाले कुपोषण वा अन्य कुनै समस्या देखा परेमा तत्काल उपचार गर्न सकिन्छ ।
तौल लिँदा सातो जाने, आँखा लाग्ने, बिरामी पर्ने जस्ता भ्रम मात्र भएको अनमी थापाले बताउनुभयो ।
बरु तौल नलिँदा बच्चा कुपोषित भए नभएको थाहा पाउन नसकिने हुँदा बच्चाको नियमित तौल लिनुपर्ने उहाँले बताउनुभयो । यदि समय समयमा बच्चाको तौल लिने काम नगरेमा बच्चाको ज्यानै खतरामा पर्न सक्ने समेत अनमी थापाको भनाई छ ।
हेर्दा खेरी बच्चा सामान्य देखिए पनि उसको उमेर अनुसार वृद्धि विकास नभएको हुन सक्ने बताउदै अनमी थापाले बच्चालाई स्वास्थ्य संस्था वा गाउघर क्लिनिकमा लगेर स्वास्थ्यकर्मीले मात्र थाहा पाउन सक्दछन् । त्यसैले हरेक महिना बच्चालाई स्वास्थ्य संस्थामा लगेर तौल लिनु पर्ने थापाको सुझाव छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top