होमपेज / समाज
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुन र कानुन कार्यान्वयनको क्रममा प्रहरी दृष्टिकोणमा सबै नागरिक समान हुने धारणा व्यक्त गर्नुभएको छ । समुदाय-प्रहरी साझेदारी, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित “प्रहरीसँग एक दिन” कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गर्नुभएको हो । कानुनले हेर्ने दृष्टिकोण सबैलाई समान हुने विश्वास दिलाउने प्रयास समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “ नियम पालना गराउँदा वा प्रतिवन्धित काम गर्न नदिँदा प्रहरीलाई दोष दिने प्रवृत्ति राम्रो होइन ।”
शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, “यही कुरा हरेक स्कुल र समाजमा बुझाउनुपर्छ भन्ने भावना जागेकोले विद्यालय सम्पर्क कार्यक्रम ल्याइएको हो ।” के काम गरे अपराध हुन्छ भन्ने जानकारी नभए पनि अपराधमा फस्ने भएकोले सबैले अनुशासनमा बसेर अगाडि बढेमा समस्या नआउने उहाँले बताउनुभयो ।
भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षा लगायतका सुरक्षामा स्कुलले समेत सामान्य नियम बनाई लागू गर्नुपर्नेतर्फ जोड दिँदै प्रहरी महानिरीक्षक खनालले यस्ता विषयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रममा विस्तृत व्याख्या गरिएकोले त्यसलाई सबैले मनन् गरी अगाडि बढ्न आग्रह समेत गर्नुभयो । प्रहरी सेवा र आफ्नो अध्ययनको अनुभव एवं प्रहरीलाई हेर्ने दृष्टिकोणबारे प्रकाश पार्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी सबै नागरिकको साझा संगठन हो भन्ने भावना जागृत हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी के हो, के काम गर्छ, प्रहरी र समाजप्रति हाम्रो दायित्व के हो भन्ने बुझ्ने वातावरण बनाउन यस भेटघाट कार्यक्रमले सहयोग पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी सेवामा देश, नागरिक, युएन मिसन समेत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको सेवा गर्न पाइने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अब म पनि प्रहरी बन्छु भन्ने सोच्न समेत विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । सबैले चाहेजस्तो इमानदार, कानून कार्यान्वयन गर्न सक्ने, सेवामा समर्पित कर्मठ प्रहरी बन्दै काम गर्न आफू उद्दत रहेको विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न विद्यार्थीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले सभ्य समाज निर्माण गर्न सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । गल्ती गर्नेलाई कानुन सम्मत कारबाही गरिएको उल्लेख गर्दै उहाँले प्रहरीका सकारात्मक पक्षलाई पनि हेरिनुपर्ने बताउनुभयो । भ्रष्टाचार रोक्ने, राजस्व संकलन गर्ने, सफल अनुसन्धान गर्ने, सूचना प्रविधिको प्रयोग लगायतका काममा नेपाल प्रहरी अब्बल भई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका पुरस्कारबाट पुरस्कृत भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि सूचना दिई प्रहरीलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कार्यक्रममा सहभागी ८ वटा विद्यालयका प्रतिनिधिहरु र सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्षलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले नेपाल प्रहरी सम्बन्धी सामान्य जानकारीको साथै समुदाय-प्रहरी साझेदारी कार्यक्रम र यसप्रति विद्यार्थीहरुको दायित्व सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वर, हिमरश्मी हाइस्कुल बालाजु, जोसेफ हाइस्कुल कपन, काभ्या स्कुल बानेश्वर, नन्दी स्कुल नारायणचौर नक्साल, श्री शान्ति विद्यागृह लैनचौर, युलैन्स स्कुल खुमलटार र सेन्ट जेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु एवं प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।
लागूऔषध दुर्व्यसन तथा यसबाट पर्न सक्ने असरबारे “नसोचेको जिन्दगी” नामक लघु वृत्तचित्र र साइवर क्राइमबारे सचेतनामूलक भिडियो प्रदर्शन गरिएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रचना गर्नुभएको ‘नेपाली जनजनको मनमनमा नेपाल प्रहरी’ बोलको गीतमा काभ्या स्कुल बानेश्वरका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । साथै उपस्थित सम्पूर्ण शिक्षक, विद्यार्थीहरुले प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्राहलय, कमाण्ड सेन्टर लगायतका कार्यालयको साथै अमर प्रहरी स्मारकको अवलोकन समेत गरेका थिए ।