होमपेज / समाज

‘बच्चा बिरामी हुँदा धेरै स्याहार गर्नुपर्छ’

नेपाल गाथा २०७६ जेठ २८ गते मंगलबार १८:३९:३७ मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । बच्चा सानो छँदा धेरै बिरामी हुन्छ । ऊसँग रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कम हुने भएकाले बिरामी धेरै हुने गर्दछ । बच्चा बिरामी भएको अवस्थामा ख्याल गर्न सकिएन भने रोगसँग लड्ने क्षमता कमजोर भई झन् बढी बिरामी पर्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा बच्चाको हेरचाहमा घरपरिवारका सबै सदस्य चनाखो हुनुपर्ने लेकवेशी नगर स्वास्थ्य शाखामा कार्यरत नगर स्वास्थ्य संयोेजक कर्ण आचार्यले बताउनुभयो । उहाँले बिरामी बच्चालाई घरपरविारका सबै सदस्यहरुले पालैपालो समय निकालेर रेखदेख र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
युएसएआइडीको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित सुआहारा कार्यक्रम–दुई अन्तर्गतको साप्ताहिक रेडियो कार्यक्रम ‘भन्छिन आमा’मा कुरा गर्दै संयोजक आचार्यले बच्चा बिरामी पर्दा आमाले बच्चाको खानपान, हेरचाह र स्वास्थ्य उपचारका लागि अरु बेला भन्दा बढी समय दिनुपर्ने बताउनुभयो । यस्तो अबस्थामा घरका अन्य सदस्यहरुले आमाले गर्दै आएको काममा सहयोग गरी आमाले बच्चासँग बढीभन्दा बढी समय बिताउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।
आमाको मानसिक तनाब कम गर्नका लागि परिवारका सदस्यहरुले ढाडस र सहयोग गर्नेमा समेत आचार्यको जोड रहेको छ ।
चेतनाको कमी भई गाउँ घरतिर धामी झाँक्रीको भर पर्दा बच्चाको ज्यानै गुम्न सक्ने बताउदै स्वास्थ्य संयोजक आचार्यले बच्चा बिरामी भएर समयमै स्वास्थ्य संस्थामा उपचार पाएन भने समस्या जटिल हुनसक्ने बताउनुभयो । त्यसैले घरपरिवारका सदस्यले धामी झाँक्रीको भर नपरी समयमै स्वास्थ्य संस्थामा नै उपचारका लागि लैजानुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top