होमपेज / समाज

आमाको दूध शिशुका लागि अमृत समान

नेपाल गाथा २०७६ बैशाख १५ गते आइतबार १४:३८:२२ मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । मानिसको जीवन स्वस्थ हुन उसको बाल्यकालले अहम् भूमिका निर्वाह गर्छ । मानिस जन्मेपछिको हजार दिन उसको जीवनकै सबैभन्दा बढी संवेदनशील समय हो । यस समयमा शिशुलाई पर्याप्त मात्रामा स्याहारसुसार र पोषण मिलेमा मात्र उसको मस्तिष्क र शरीरको विकास सही ढङ्गले हुन सक्छ । यसले मानिसलाई जीवनभर स्वस्थ रहन मद्दत गर्छ ।
पोषण र स्याहारको कमीले शिशुको शारीरिक विकासका साथै सिक्ने क्षमतामा समेत कमी आउन सक्छ । यसका साथै पोषण र स्याहारको कमी भएमा विभिन्न किसिमका रोग पनि लाग्न सक्छन् । यसले शिशुको रोग प्रतिरोधात्मक क्षमताको पनि आधार तय गर्छ । शिशु हेरचाह कसरी गर्ने भन्ने कुराको सही ज्ञान आमालाई हुनु आवश्यक छ ।
आमाको दूध अमृत समान हुन्छ भन्ने कुरा हामिले सुन्दै आएका छौ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य माहाशाखा सुर्खेतमा कार्यरत नर्शिङ अधीकृत ईश्वरी पौडेलले शिशुको प्रतिरोधात्मक क्षमताको विकास गर्न शिशु जन्मने बित्तिकै जतिसक्यो छिटो आमाको दूध खुवाउनु जरुरी हने बताउनु हुन्छ । डिजिटल पत्रिका नेपाल गाथासित कुरा गर्दै पौडेलले शिशुको जन्म हुनासाथ न्यानो, सफा र नरम कपडाले उसको शरीर पुछेर आमाको छातीमा केही समय टाँसेर राख्नुपर्ने बताउनु भयो । यसो गर्नाले शिशुलाई आराम मिल्छ र स्तनपानका लागि सहज हुने पौडेलको भनाई छ ।
पौडेलका अनुसार शिशुको जन्मपछि उसलाई घिउ र मह चटाउने गरिन्छ यो परम्परागत अभ्यास भए पनि यसो गर्न हुँदैन । छ महिना मुनीका बच्चाका लागि आमाको दूधभन्दा राम्रो अरु केही नहुने उहाँको भनाइ छ । बच्चा जन्मेको २४ घण्टाभित्र १० देखि १२ पटक अनिबार्य रुपमा पूर्ण स्तनपान गराउनुुपर्छ । यसो गर्दा रातिमा २ पटक अनिबार्य स्तनपान गराउनु राम्रो मानिन्छ । शिशुलाई स्तनपान गराएर मात्र हुँदैन, स्तनपान गराइसकेपछि शिशुलाई आमाको छातीमा टाँसेर राख्नुपर्ने पौडेलले नेपाल गाथालाई बताउनुभयो ।
पौडेलका अनुसार करिब हजार दिनसम्म शिशुलाई आमाको दूध खुवाउनु स्वस्थकर हुन्छ । शिशुले स्तनपान गरेर नै पर्याप्त मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छ । यसले शिशु र आमाबीच माया पनि प्रगाढ बनाउने पौडेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top