ट्रेण्डिङ

होमपेज / समाज

गर्भवतीका लागि अण्डा खानु फाइदा

नेपालगाथा २०७५ चैत्र १२ गते मंगलबार १८:२४:५१ मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । गाँउघर, त्यो पनि कर्णाली प्रदेश । सुत्केरी अवस्थामा पोषिलो खानेकुरा नखाँदा बालबालिका कुपोषणको शिकार हुने गरेको कुरा नयाँ होईन । कर्णाली प्रदेशमा सबैभदा बढी ५४.५ प्रतिशत वालबालिका कुपोषणको शिकार हुने गरेका छन् । पुड्कोपना पनि सबैभन्दा बढी कर्णालीमा नै हुने गरेको पाइएको छ । हुन त समग्र नेपालमा नै ४१ प्रतिशत बालबालिका कुपोषण हुने गरेको तथ्यांकले देखाएको छ ।
गर्भवती, सुत्केरी र बालबच्चाले कुखुराको अण्डा मात्र सन्तुलित मात्रामा खाएमा पनि स्वास्थ्य अवस्था राम्रो हुने अहिले पनि धेरैलाई थाहा छैन ।
गर्भवती तथा सुत्केरी आमाले सागपात, लसुन, दाल गेडागुडी, दूधदही तथा माछा, मासु खाएमा कुबत पर्छ, बिरामी हुन्छन् भन्ने अन्धविश्वास तथा गलत धारणा समाजमा अझै पनि विद्यमान छ ।
अण्डा खाएमा बच्चा बोल्न सक्दैन, जन्डिस हुन्छ भन्ने धारणाले गर्दा पनि कुपोषण हुने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् । तर आज भोलि भने अण्डालाई पौष्टिक आहारका लागि प्रयोग गर्न थालेको भेटिन्छ ।

भेरीगंगा ११ सुर्खेतकी दिलकुमारी खत्रीकी बुहारी अहिले गर्भवती हुनुहुन्छ । खत्रीले बुहारीको स्वास्थ्य र जन्मने बच्चा दुवैलाई शक्ति मिल्ने थाहा पाए पछि घरमा नै कुखुरा पाल्न थाल्नुभएको छ ।
बुहारी र बच्चाको स्वास्थ्यका बारेमा विशेष ख्याल गर्दै आउनु भएकी खत्रीले भन्नुभयो– ‘अरु अवस्था भन्दा गर्भावस्था विशेष भएकाले यो अवस्थामा अण्डा खाएमा आमा र जन्मने बच्चाको स्वास्थ्य राम्रो हुने थाहा पाएपछि बुहारीलाई दिनहुँ अण्डा खान दिइरहेकी छु ।’
गर्भवती महिलालाई पोषिलो खानेकुरा अरु बेला भन्दा बढी खानुपर्ने हुन्छ । कतिपय सुत्केरी आमाले गरिबी, अभाव र अशिक्षाको कारण पोषिलो खानेकुरा खाँदैनन् । यसको प्रभाव बालबालिकाको शारीरिक र मानसिक बृद्धि र विकासमा परेको हुन्छ । अण्डा अरु भन्दा सस्तो मूल्यमा पाईनुका साथै राम्रो, सुलभ अनि प्रोटिनयुक्त हुने भएकाले गर्भवती अथवा सुत्केरी महिलाले दैनिक अण्डा खानु राम्रो मानिन्छ ।   
दिलकुमारी जस्तै सुर्खेतको सिम्ता गाँउपालिकाकी  धनमाया नेपाली अहिले पाँच महिनाकी गर्भवती हुनुहुन्छ । धनमायाले पनि पोषिलो खानाको कमी नहोस भनेर दिनहुँजसो अण्डा खादै आउनु भएको छ । उहाँले अण्डाका लागि नै भनेर घरमै. कखुरा पालेको बताउनु भयो ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालरोग विषशेज्ञ डा. नवराज केसीले गर्भावस्था विशेष अवस्था भएकाले अन्य अवस्था भन्दा बढी र पोषिला खानेकुरा खानुपर्ने बताउनु भयो ।


अण्डा खाएमा जण्डीस हुन्छ, कुबत पर्छ, बोल्न सक्दैन, बच्चा लाटो हुन्छ, जस्ता धारणा गलत हुन् भन्दै डा. केसीले गर्भवतीले खान मिल्नेसम्मका सबै खानेकुरा खान सकिने बताउनुभयो ।
गर्भवती महिलाले हरेक दिन पशुजन्य खानेकुरा खानुपर्नेमा डा.केसीले जोड दिनुभयो । गर्भवती आमाको राम्रो स्वास्थ्य र गर्भमा रहेको बच्चाको विकासका लागि दुधदही, माछामासु र अण्डा नियमित खानुपर्ने केसीले बताउनुभयो ।
डा.केसीले माछामासु दैनिक खुवाउन सम्भव नभए पनि अण्डा सस्तो मूल्यमा पाउन सकिने र प्रशस्त प्रोटिन पाउन सकिने भएकाले दैनिक रुपमा अण्डा खाँदा राम्रो हुने बताउनुभयो ।
अण्डाका परिकारहरु बनाउन पनि छिटो र सजिलो हुने बताउँदै केसीले अण्डा सानो भए पनि यसमा मानिसलाई चाहिने सबै पोषक तत्वहरु पाईने बताउनुभयो ।
गर्भवती, सुत्केरी, बच्चा बच्ची लगायत सबै उमेरका मानिसले अण्डा नियमित खाने हो भने स्वास्थ्य अवस्था राम्रो हुने डा. केसीको भनाई छ ।
विशेष गरी गर्भवती अवस्थामा गर्भवती महिलालाई अण्डा नियमित खुवाउन घरका सबै सदस्य सचेत हुन समेत डा.केसीको सुझाव छ ।
गर्भवती महिलाका लागि मात्र नभएर अण्डा सबै उमेर समूहका व्यक्तिका लागि उपयोगी मानिन्छ । त्यसैले अण्डा खाने बानीले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ । अझ गर्भवती महिला र बच्चाका लागि त अण्डा निकै महत्वपूर्ण मानिन्छ । अण्डा आर्थिक हिसाबले पनि सस्तो हुनुका साथै घरमा नै कुखुरा पालेर यसको उपभोग गर्न सकिन्छ । गर्भवती महिलालाई शारीरिक र मानसिक दुवै दृष्ट्रिकोणबाट स्वच्छ हुनुपर्दछ । यस समयमा घरपरिवारले समयमा नै आर्थिक जोहो गर्नुका साथै गर्भवती महिलालाई तनाबमुक्त बनाउनु पनि निकै महत्वपूर्ण मानिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top