होमपेज / समाज

‘बिरामीको उपचार गरेर वकालतको काम गरिरहेको छु’ – स्वास्थ्यकर्मी भण्डारी

चन्द्रा कंडेल, सुर्खेत

नेपाल गाथा २०७५ फाल्गुण १४ गते मंगलबार १४:३७:०३ मा प्रकाशित

प्रेमबहादुर भण्डारी, आज भन्दा करिब ४० वर्ष अगाडि बुवा डम्बरबहादुर भण्डारी र आमा भुवनसरा भण्डारीका माईला छोराका रुपमा साविकको मालिका गाँउ विकास समिति वडा न ९ विनायक दैलेखमा जन्मिनु भएको हो । हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा बस्दै आउनुभएका भण्डारी पेशाले स्वास्थ्यकर्मी हुनुहुन्छ । 

बाल्यकाल
सानैदेखि मिजासिलो स्वभावका भण्डारीको बाल्यकाल केही दुःखद् र केही सुखद् तरिकाले पनि बितेका छन् । दुःखद् तरिकाले यसरी बिते जहाँ भण्डारीले प्राय जसो विद्यालयको कामसँगै गाई, बाख्रा दिनहुँ जसो चराउनु पर्दथ्यो । यति मात्र कहाँ हो र अहिले स्वास्थ्य कर्मी भए पनि कहिलेकाही हातै नधोएर नै खाना खाएर स्कुल तिर दौडेको स्मरण अहिले पनि छ उहाँलाई । भण्डारीले धेरै दिन घरायसी कामकाजका कारण खाना नै नखाएर भोकभोकै विद्यालय जाँदाको तितो यथार्थ समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘गाई बाख्रा चराउनु, हातै नधोएर खाना खानु अनि कहिलेकाही त ढिला भएर भोकै स्कुल जानु त्यतिवेलाको सामान्य काम नै थिए ।’
भण्डारी घरको माहिलो छोरा भएका कारण पनि घरायसी काममा अलि बढी नै बिताउनु परेको बताउनुहुन्छ । आफू भन्दा माथिको दाजु अध्ययनको क्रममा भएकाले र आफू भन्दा सानो भाइ भएकाले आफूमा घरायसी कामको जिम्मेवारी थपिएको समेत उहाँले बताउनुभयो । तर पनि आफू अहिले स्वास्थ्यकर्मी बन्नुमा भने आफ्नो दाजुको राय, सल्लाह र मार्गनिर्देशन भएको समेत उहाँले बताउनुभयो । भण्डारीले भन्नुभयो, ‘सायद दाजुले मलाई स्वास्थ्य सेवा तर्फको बाटोमा नहिँडाएको भए म अहिले स्वास्थ्य कर्मी भएर हजारौको सेवा गर्ने मौका पाउने थिएन होला । म अहिले जुन पेशामा छु यसको श्रेय दाजुलाई नै दिन्छु ।’


स्कुले जीवन
श्री सरस्वती प्राथमिक विद्यालयमा प्राथमिक तह पूरा गर्नुभएका भण्डारीले माध्यमिक तहको शिक्षा जेभी माध्यमिक विद्यालयमा पूरा गर्नुभएकाे हाे । यतिवेला पनि उहाँको जीवन उतार चढाव मै बित्यो । मध्यमस्तरका परिवारका लागि गाउँमा भने जस्तो पढाइ हुन सक्ने कुरै भएन । तर पनि भण्डारीलाई पारिवारिक साथ र समर्थन भने थियो । यसैका कारण भण्डारी उच्च माध्यमिक तहको अध्ययनका लागि दैलेख जिल्लाबाट बाँके जिल्लाको नेपालगञ्जमा पुग्नुभयाे । जहाँ उहाँले स्वास्थ्य क्षेत्रको सिएमए अध्ययन गर्नुभयाे । 
यतिवेला भने उहाँको जीवन अलि सम्झनयोग्य भएको बताउनुहुन्छ । क्याम्पसमा बिताएका दिनहरुको सम्झना गर्दै भण्डारी भन्नुहुन्छ, ‘अहिलेसम्म बिताएका जीवनहरु मध्ये सबैभन्दा रमाईला क्षणहरु सिएमए अध्ययनको क्रममा भए ।’ उहाँले अगाडि भन्नुभयो, ‘घरबाट टाढा बस्दा खेरीको न्यास्रो त छ दै थियो नेपालगञ्जमा बस्दा पढ्न जाने र कोठामा फर्कने भन्दा अरु कुनै पनि काम नभएकाले जतिवेला पनि रमाइलो गरेर नै समय बित्थ्यो ।’
वकिल बन्ने सपना स्वथ्यकर्मी भएर पूरा गर्दै
प्रेमबहादुर भण्डारी स्कुले जीवनमा वकिल बनेर न्याय र अन्यायको फैसला गर्न चाहनुहुन्थ्यो । तर दाजुको मार्गदर्शन र चाहनाका कारण स्वास्थ्य कर्मी बन्न पुग्नुभयो । वकिल बनेर अन्यायमा परेका जनताको न्याय निसाफ गर्ने भण्डारीको चाहना भने पेशा बदलिए पनि चाहना बदलिएको छैन । उहाँले कालो कोट लगाएर न्याय र अन्यायको निसाफ नगरे पनि रोग र सोकबाट ग्रसित पीडितहरुलाई उपचार गरेरै भए पनि न्याय दिइरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘फरक यत्ति हो कालो कोट लगाएर न्याय र अन्यायको निसाफ गर्न पाएको छैन तर बिरामीको उपचार गरेर रोगबाट अन्यायमा परेका बिरामीहरुलाई न्याय दिएको छु । यसैमा आफूलाई सन्तुष्ट बनाएको छु ।’
ठूलो मात्र होइन असल मान्छे बनोस्
कुनै पनि व्यक्तिका आमा बुवाको चाहना भनेको आफ्ना सन्ततिले धेरै पढ्नुका साथै असल पनि बनोस् भन्ने चाहना राखेका हुन्छन् । त्यस्तै सपना र चाहना थियो भण्डारीका बुवा र आमाको पनि । त्यही सपना र चाहना पूरा गर्नका लागि प्राविधिक शिक्षा तर्फ अघि बढेका भण्डारी बुवाले सोचे जस्तो ठूलो र असल मान्छे त बन्नु भयो या बन्नु भएन तर नराम्रो पनि बन्नु भएन । 


 कोठा नं. ६
आफूलाई मध्यम खालको स्वास्थ्यकर्मी बताउने भण्डारी लगनशील, इमान्दार र कर्तव्य निष्ठ पनि हुनुहुन्छ । यसैको परिणाम हुनुपर्छ उहाँलाई धेरै बिरामीले पछ्याइहेका हुन्छन् । बिहान उज्यालो भएदेखि बेलुका अध्याँरो नहुने बेलासम्म उहाँ कोठा नं. ६ मा बिरामीको उपचारमा ब्यस्त हुनुहुन्छ । कतै घुम्न जानु, मिठो मसिनो खानु भनेको बिरामीको उपचार पछिको काम हो । बिरामीलाई खुशी बनाउनु नै आफ्नो खुशी सम्झने भण्डारीले धेरै बिरामीलाई निको बनाएको सम्झना गर्नुहुन्छ ।  
भविष्यको बाटो 
स्वास्थ्य क्षेत्रलाई नै सबल र सुदृढ बनाउँदै यसै क्षेत्रलाई सशक्त बनाएर बिरामीको सेवा गर्ने भण्डारीको आगामी योजना रहेको छ । उहाँको परिकल्पनालाई शब्दमा कोर्ने हो भने भन्न सकिन्छ कि, बिरामीको दिन रात सेवा गर्न पाउनु नै सच्चा भगवानसँग भेट घाट गर्नु हो । उहाँ भन्नुहुन्छ, ‘म चाहन्छु मैले कुनै पनि बिरामी हेर्न नपरोस् । कोही पनि बिरामी भएर होइन कि बिरामी नै नभएर म कहाँ भेट्न आउन् तर यो सम्भव पनि छैन । किन भने दिनप्रतिदिनको प्रदूषण र प्रतिकुल मौसमका कारण मानिसको स्वास्थ्य दिनप्रतिदिन कमजोर भइरहेको छ ।’
फर्केका दुई फूल
भण्डारीका श्रीमतिका साथै दुई छोरी छन् । नाबालक छोरीसँग रमाउनु भण्डारीको खुशीको क्षण हो । तर स्वास्थ्य कर्मीको पेशाका कारण छोरीहरुसँग कहिलेकाँही त भेट नै नभएको पनि तितो यथार्थ उहाँले सुनाउनुभयो । छोरीहरु बिहान नउठ्दै आफू उठेर हिंडीहाल्नु पर्ने र आफू साँझ घर पुग्दा छोरीहरु सुतिसकेको हँुदा भने भण्डारीलाई आफ्नो पेशा प्रति कहिले काँही दिक्क लाग्छ । तर पनि धेरै मानिसका माया र सद्भावका कारण आफूलाई यही पेशा प्यारो लागेको उहाँले बताउनुभयो । 
जिम्मवारीमा भण्डारी
भण्डारी अहिले नेपाल औषधि व्यवसायी संघ सुर्खेतकाे अध्यक्ष  हुनुहुन्छ । उहाँले धेरै मेडिकल सञ्चालकहरुको हक र हितका लागि समेत आवाज उठाउँदै आउनुभएको छ । उहाँ औषधि व्यवसायिहरुका लागि सरकारले उचित व्यवस्थापन गरोस् भन्ने पनि चाहनुहुन्छ । त्यसैका लागि साथिहरुले आफूलाई जिम्मेवारी दिएको बताउने भण्डारी जस्तो सुकै परिस्थितिमा पनि आफू आफ्नो पेशा र जिम्मेवारी बाट बिचलित नहुनेमा अडिग हुनुहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top