होमपेज / समाज
मुगुका ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेको छ । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको छ । केही वर्ष अघिसम्म स्थानीयलाई पाँच किलो नुनका लागि हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता थियो । साल्ट ट्रेडिङकर्पोरेशन लिमिटेडले गाउँमा पनि डिपो र गोदामको व्यवस्था गरेपछि उपभोक्तालाई सजिलो भएको हो ।
जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो ९ रुपैयाँमै आयोडिनयुक्त नुन वितरण गर्न थालेपछि सोरु, खत्याड, छायाँनाथरारा नगरपालिकाकालगायत क्षेत्रका स्थानीयलाई माग अनुसारको नुन प्राप्त गर्न सजिलो भएको छ । साल्ट ट्रेडिङले खत्याड गाउँपालिकाको खमाले, श्रीकोट र गम्था माझचौरमा गोदाम राखेर स्थानीयलाई नुन उपलब्ध गराउन थालेको छ । पहिले खत्याड गाउँपालिकाका स्थानीय हिँडेर सदरमुकाम आएर नुन बाध्य थिए ।
नुनको लागि जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको खत्याड गाउँपालिकास्थित गम्था गाउँका गोविन्द सन्ज्यालले बताउनुभयाे । गम्था माझचौर, खमाले, श्रीकोट गोदाममा नुन लिन आसपासका बासिन्दाको भीड लाग्ने गरेको छ । दुई/तीन दिनअघि खत्याड गाउँपालिकाका उपभोक्तालाई एक हजार ९७ क्विन्टल आयोडिनयुक्त भानु नुन वितरण गरेरको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाप्रमुख खगेन्द्र कार्कीले बताउनुभयाे ।
आवश्यकताअनुसार उपभोक्तालाई नुन दिने गरिएको कार्कीको भनाइ छ । उहाका अनुसार सोरु गाउँपालिकाको सोरुकोटमा समेत नुन बिक्रीका लागि डिपो स्थापना गरिएको छ । भीई, फोतु, नार्थपु, जिमा, पुरुमुरुलगायत गाउँ बस्तीका स्थानीयले सोरुकोटबाटै नुन लिने गरेको उहाको भनाइ छ । छायाँनाथरारा नगरपालिकाका उपभोक्तालाई पनि नुन पाउन निकै सजिलो छ ।
कार्कीले जिल्लामा पर्याप्त मात्रमा ग्रामीण क्षेत्रबाट समेत नुन वितरण थालिएपछि सिफारिस, कुपन र भनसुन प्रवृत्तिको अन्त्य भएको बताउनुभयाे । कार्कीका अनुसार केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा समेत पर्याप्त नुन आपूर्ति नहुँदा सीमित नुनमात्र वितरण गर्ने गरिएको थियो । गमगढीमा ३ वटा गोदाममा नुन भरिभराउ भएको कार्यालयले जनाएको छ ।