ट्रेण्डिङ

होमपेज / समाज

प्रजातन्त्र दिवस मनाउन समिति गठन

नेपालगाथा २०७५ माघ २८ गते सोमबार १६:११:४२ मा प्रकाशित

काठमाडौं । सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरेको हो ।

त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहेको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए ।

फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहे सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली मनाउने र विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top