होमपेज / समाज
चन्द्रा कंडेल, सुर्खेत । सुर्खेत भेरी गंगाकी इन्द्रा जिसी उमेरले करिब ५५ वर्ष लागिन् । ढल्कदो उमेरमा पनि स्वास्थ्य तथा सरसफाई प्रति उनी निकै सचेत छिन् । उनको घरको अाँगनमा नै चर्पी छ । चर्पी गईसके पछि साबुन पानीले हात धुनुपर्छ भन्ने कुरामा उनी निकै सचेत छिन् । उनले आफुले मात्र नभइ आफ्ना नाति नतिनालाई समेत साबुन पानीले हात धुन सिकाउदै आएकी छिन् । साबुन पानीले हात धुनेमात्र नभई खानेकुरा पनि हात धोएर मात्र खानुपर्छ भन्ने बारेमा सिकाइरहेको उनले बताइन्
जिसीले घरायसी कामका साथै चर्पीबाट आएपछि साबुन पानीले हात धोएर मात्र खाने गरेको र केटाकेटीलाई पनि सोही कुरा सिकाइरहेको बताईन् ।
स्वास्थ्य मानिसको धन हो । मानिस स्वस्थ भयो भने उसले धेरै काम गर्न सक्छ । जब एउटा परिवारमा एक जना व्यक्ति बिरामी हुन्छ । अनि त्यो परिवार नै समस्यामा पर्छ । त्यसैले साबुन पानीले सफासँग हात धुनु पनि स्वस्थ रहने धेरै उपायहरु मध्ये एक हो ।
इन्द्रा जिसीले जस्तै लक्ष्मी गिरीले पनि जिवाणुहरु शरीरमा प्रवेश गर्न बाट रोक्नको लागि साबुन पानीले मिचिमिचि हात धुने गरेको बताईन् । उनले भनिन्– ‘मानिसका हातले दैनिक धेरै सामानहरु चलाउनु पर्छ । दैनिक प्रयोगका सामाग्रीहरु जस्तै मेबाईल, चाबी, कपडा, चुकुल, ढोका आदि छुँदा पनि हात फोहोर हुन्छ । त्यसैले खानेकुरा खानु अघि साबुन पानीले हात धुनु अनिबार्य भएको उनले बताइन् ।’
मानिसले थाहा नै नपाइकन जिवाणुहरु मानिसको पेट भित्र प्रवेश गरिरहेका हुन्छन् । त्यसैले पनि मानिसले हरेक काँचो खानेकुरा सफा पानीले पखालेर मात्र खानुपर्दछ । हेर्दा सफा देखिने हातमा पनि रोगका जिवाणुहरु हुन सक्छन् । हात नधोएर नै खाने कुरा खाएमा झाडापखाला जस्ता रोगहरु लाग्न सक्दछन् ।
वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख उदय थापाले कुनै पनि खाने कुरा खानु अघि अनिवार्य रुपमा साबुन पानीले मिचिमिचि हातधुनुपर्ने बताए ।
उनले भने ‘साबुन पानीले हल्का हात धोएर मात्रै पनि जिवाणुहरुको नष्ट हुँदैन । हातमा भएका जिवाणुहरुलाई नष्ट गर्नका लागि साबुन पानीले हात मिचिमिचि फिंज निकालेर धुनुपर्छ, अनि मात्र हातमा भएका जिवाणुको नष्ट हुन्छ ।’
यदि सामान्य कुरामा हामीले ध्यान दिन सक्यौ भने स्वास्थ्यका कारण हुन सक्ने ठूलो लगानीलाई सजिलै जोगाउन सकिन्छ । यसका लागि समयमा नै सबै व्यक्ति सचेत भएर साबुन पानीको प्रयोग गरेमा यसले रोग लाग्नबाट बचाउन सक्छ ।