होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै मुख्य मन्त्री शाहीले यस्तो बताउनुभएको हो । मुख्य मन्त्री शाहीले स्थानीय सरकारमा कुनै पनि संरचना नभइकनै जनप्रतिनिधि मात्र भएकाले जनताले अपेक्षा गरे अनुसारका काम हुन नसकेको बताउनुभयो ।

ढिलै भए पनि स्थानीय तहमा केही कर्मचारी र प्रशासनिक कार्यहरुको व्यवस्थापन हुन लागेको बताउदै मुख्य मन्त्री शाहीले संविधानको मुल स्प्रिड अनुसार तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले सांगठनिक नीति व्यवस्थापनका बारेमा प्रस्ततीकरण राख्नुभएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व छनौट गर्ने जनाइएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको सहभागितामा अधिवेशन हुन लागेको हो ।




