होमपेज / समाज
चन्द्रा कंडेल, सुर्खेत । वीरेन्द्रनगर सुर्खेतलाई सफा र सुन्दर बनाउनका लागि शुरु भएको अभियान ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानले २९ हप्ता पूरा गरेको छ ।
बालरोग विषशेज्ञ डा. नवराज केसीको नेतृत्वमा शुरु भएको अभियानलाई अहिले उद्योग वाणिज्य संघले जिम्मा लिएको छ ।
करिब ७० प्रतिशत रोग फोहोरको कारणले लाग्नसक्ने भएकाले गाँउ, शहर र घर सफा राख्न सबैजना सचेत हुनुपर्ने बालरोग विषेशज्ञ डा. नवराज केसीले बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत केवल कर्णाली प्रदेशको राजधानी मात्र नभई फोहोरको राजधानी जस्तो देखिन थालेपछि नगरबासी, जनप्रतिनिधि, प्राध्यापक, विद्यार्थी सबै चिन्तित देखिन थालेका छन् । नेपालगाथासँग कुरा गर्दै डा. केसीले सबैको चासो र चिन्ताको विषयलाई मूर्त रुप दिनका लागि उक्त अभियानको शुरु गरिएको बताउनुभयो ।
वीरेन्द्रनगर बजार क्षेत्र अस्तव्यस्थ हुनुको कारण नगरपालिका र वडापालिकाको कमजोरी भएको अद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतको आरोप छ ।
गुरु योजना बनाएर काम गर्न नसक्दा यस्तो दुर्दशा बेहोर्नु परेको रावतको भनाई छ ।

फोहोर समयमा नउठ्नु, नालाको व्यवस्थापन गर्न नसक्नु, फोहोर व्यवस्थापनको लागि गाडी समयमा पठाउन नसक्नुले नगरबासी दुर्गन्धित सहरमा बस्न बाध्य भएको रावतको बुझाइ छ । फोहोर व्यवस्थापन र सहरलाई सफा राख्नका लागि उद्योग वाणिज्य संघले स्थानीय ब्यापारीलाई पनि सचेत गराएको अध्यक्ष रावतले नेपालगाथालाई बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालीकाको वडा नं. ६ को फोहोरलाई व्यवस्थापन गर्ने जिम्मा लिएको ‘द ग्रिन सिटी सेन्टर सेवा नेपाल’ का सशीकुमार केसीले प्रत्येक घरबाट नागरीकले आफ्नो फोहोर आफै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नालामा फोहोर नगरिदिने हो भने वीरेन्द्रनगरको फोहोर आधा घट्न जानेछ । यदि जनता आफै सचेत नहुने हो भने जसले जिम्मेवारी लिए पनि वीरेन्द्रनगरलाई क्लिन सिटी बनाउन नसकिने उहाँले बताउनुभयो ।
जीर्ण नालाका कारण फोहोर व्यवस्थापनमा चुनौती बढिरहेको केसीले बताउनुभयो ।