ट्रेण्डिङ

होमपेज / समाज

जिर्ण सडकको मर्मत गर्दै नगरपालिका

नेपालगाथा २०७५ माघ २५ गते शुक्रबार १४:५२:५१ मा प्रकाशित

वसन्त भण्डारी, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत बनेसँगै बजार क्षेत्रमा अत्याधिक चाप बढिरहेको छ । बजारमा बढेको चापसँगै सडकको अवस्था झनै खस्किएको छ । अहिले बजार क्षेत्रमा अव्यवस्थित पार्किङ र साँघुरा सडकका कारण विभिन्न समस्याहरु आइरहेका छन् ।

बजार क्षेत्रका कतिपय सडकहरु जिर्ण बने पनि मर्मतको काम हुन सकेको छैन । निर्माणको क्रममा रहेको चारलेनको सडक पनि लामो समयदेखि निर्माण हुन सकिरहेको छैन । बजारको फोहोर व्यवस्थापन हुन नसक्दा पनि बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको हो ।

नयाँ बसपार्क तत्काल सञ्चालनमा आउन नसक्दा पनि विभिन्न समस्याहरु बढ्दै गएका छन् । अहिले बजार क्षेत्रमा भएका सडकहरु राम्रोसँग पिँच हुन सकेका छैनन् भने पिँच भएका सडकमा पनि खाल्डाहरु परेर दुर्घटना हुने जोखिम बढिरहेको छ ।

बजार क्षेत्रमा भएका ट्राफिक संकेतहरु भाँच्चिएका छन् भने, सडकमा भएका नालाहरु फोहोरले भरिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँको बसोबासमा वृद्धि भएको र सडक र फोहोरलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले प्रत्येक वडाहरुमा गौरवका आयोजना बनाएर सडक पिँच गर्ने काम भइरहेको बताउनु भयो ।
 

यस्तो छ वीरेन्द्रनगरका सडकको अवस्था
कालुञ्चोक हुँदै जिल्ला प्रहरी कार्यालय, गणेशचोक हुँदै एयरपोर्ट सम्मका हटलाइनका बाटोको कालोपत्रे सहित नाला निमार्णको काम सुरु भइरहेका छन् । मंगलगढीदेखि काँक्रेविहारसम्मको सडक ढल निकास सहित डिपिआर तयार भइसकेको छ ।

ढल निकासको काम नगरपालिकाले प्रदेश सरकारको साझेदारीमा गर्ने र बिचका अन्य सडकहरु प्रदेश सरकारले नै तयार गर्ने गरी काम अघि बढिसकेको छ । घण्टा घरदेखि हटिया चोकहुँदै भ्याली भ्यु होटलसम्मको सडकको काम पनि अघि बढिरहेको छ ।

यो बर्ष नाला सहित सडकको क्षेत्र विस्तार गर्दै जाने र आगामी दिनमा त्यसको बीच भागको काम गर्ने गरी नगरपालिका अघि बढिरहेको छ । सडकका खाल्डा खुल्डी पुर्ने मात्र नभएर त्यसलाई व्यवस्थित हिसाबले कालोपत्रे गरेर अघि बढ्ने योजनामा वीरेन्द्रनगर नगरपालिका रहेको छ ।
बजार क्षेत्रमा रहेका मुख्य मुख्य सडक क्षेत्रहरुलाई महत्वका हिसाबले अघि बढाएर काम सुरु गर्दै र विस्तारै त्यसको परिणाम आउनेमा नगरपालिका आशावादी देखिन्छ । अहिले नगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानका सडकहरुको काम टेन्डर प्रक्रियाबाट अघि बढाएर काम सुरु गरिरहेको छ । यो आर्थिक वर्षका सबै विकास निमार्णका कामहरु जेठ मसान्तसम्म सक्ने गरी नगरपालिका अघि बढेको उपप्रमुख ढकालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top